मुख्यमन्त्री डोरमणि पौडेलको तलब सुविधासहित मासिक ७५ हजार, अन्यको तलब यस्तो छ

२०७४, २५ चैत्र आईतवार १६:०४

मकवानपुर, २५ चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुविधासहित मासिक ७५ हजार पाउने भएका छन् । मासिक ६१ हजार रुपैयाँ तलब र सञ्चार लगायतका सुविधा जोड्दा मासिक ७५ हजार पुग्ने भएको हो ।

प्रदेश सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक आज पेश गरेको छ । विधेयक पेश भएता पनि यो समाचार तयार पार्दासम्म यो पारित भइसकेको छैन । आजको प्रदेशसभामा आज छलफलका लागि विधेयक पेश गरिएता पनि सोमबारको बैठकपछि मात्र तलब सुविधा पास गर्ने कार्यसूची छ ।

विधेयकमा गरिएको प्रस्ताव अनुसार मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ पारिश्रमिक पाउनेछन् भने सञ्चार खर्च ५ हजार र अतिथि सत्कारका लागि १० हजारका रुपैयाँ पनि दिइनेछ । मुख्यमन्त्रीलाई एउटा आवास पनि दिइनेछ । सुरक्षा प्रयोजनका लागि आवश्यक परे थप एक सवारी साधनसमेत उपलब्ध गराउन सकिने विधेयकमा व्यवस्था छ ।

मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायकमन्त्रीले ४७ हजार पारिश्रमिक पाउनेछन् । मन्त्रीहरुले सञ्चार खर्च ३ हजार र अतिथि सत्कारका लागि ५ हजार पाउने व्यवस्था गरिउको छ । यो सबै सुविधा जोड्दा प्रदेश ३ का मन्त्रीले मासिक ६० हजार रुपैयाँ बुझ्नेछन् । राज्यमन्त्री र सहायकमन्त्रीले समान २ हजार सञ्चार र ३ हजार अतिथि सत्कार खर्च पाउनेछन् । अर्थात राज्यमन्त्रीले मासिक जम्मा ५४ हजार र सहायकमन्त्रीले ५२ हजार रुपैयाँ पाउनेछन् ।

प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई आवास सुविधा दिने बताएको छ । निजी घरमा बस्ने मन्त्रीहरुलाई वाषिर्क १ लाख ३० हजार, राज्यमन्त्रीलाई १ लाख १० हजार र सहायमन्त्रीलाई १ लाख घर मर्मत खर्च दिइनेछ । सबैले एकमुष्ट एक लाख फर्निचर खर्च पाउनेछन् । भाडाको घरमा बसे मन्त्रीलाई २७ हजार, राज्यमन्त्रीलाई २५ हजार र सहायकमन्त्रीलाई २० हजार घरभाडा दिइनेछ । आफ्नै घरमा बस्नेहरुले घरभाडा लिन पाउने छैनन् ।
सरकारी विधेयक अनुसार मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार पाउनेछन् भने विदेश जाँदा २५० डलर पाउनेछन् । मन्त्रीले स्वदेशमा २५ सय र विदेशमा २०० डलर तथा राज्यमन्त्री र सहायकमन्त्रीले स्वदेशमा २ हजार र विदेशमा १७५ डलर दैनिक भ्रमण भत्ता पाउनेछन् ।

प्रदेश सभाको ११ औं बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी विद्येयक, प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको सेवा सुविधा सम्बन्धी विद्येयक र स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धी विद्येयक र गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधिसम्बन्धी विद्येयकमाथि छलफल भइरहेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी विद्येयक, स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धी विद्येयक र गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधिसम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा प्रस्ताव प्रस्तुत गरिसकेका छन् । त्यस्तै, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको सेवा सुविधा सम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस अघि नै प्रदेश सरकारले प्रस्तुत गरेको प्रदेशस्तरका केही सार्वजनिक लिखित प्रमाणिकरण सम्बन्धी विधेयक र प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयकलाई प्रदेशसभाको चैत्र १६ गते शुक्रबार बसेको बैठकले सर्वसहमत पारित गरिसकेको छ ।

प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रे र नुवाकोटमा तोक्न केही प्रदेश सभासदहरुले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएपनि यो विषयले प्रदेशसभामा आज स्थान पाएन । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा नराखेको स्थायी राजधानी बिषयलाई राजनीतिक सहमतीका आधारमा टुङ्ग्याउनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका छन् ।

प्रदेश सभा सचिवालयमा दर्ता गरिएको मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी विद्येयक, प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको सेवा सुविधा सम्बन्धी विद्येयक र स्थानीय तहका पदाधिकारी र सदस्यको सेवा सुविधा सम्बन्धी विद्येयकको मस्यौदालाई चैत्र २० गते मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको थियो । त्यस्तै, स्थानीय तहको पदाधिकारी र सदस्यको सेवा, सुविधा सम्बन्धी विद्येयक चैत्र १ गते प्रदेश मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेपनि विवाद भएपछि ढिलागरी प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...