प्रधानमन्त्री अाेलीकाे सपना साकार हुँदै, १५ महिनामै पाइपलाइनबाट इन्धन भित्रने

२०७४, १८ चैत्र आईतवार १६:२२

काठमाडाैं / भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ ।

बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतबाट पाइपलाइनका माध्यमबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निर्माणाधीन मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य पूरा भएसँगै पेट्रोलियम पदार्थ आपूर्ति हुने बताइएको छ ।

७० किलोमिटर लम्बाइको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य २०७६ साउनभित्र पूरा हुने लक्ष्य लिएर काम अगाडि बढाइएको पाइपलाइन निर्माण कार्यमा संलग्न इन्जिनियर शरदप्रसाद पौडेलले बताए ।

‘पाइपलाइनको निर्माण कार्यको ठेक्का लिएका भारतीय निर्माण कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिको प्राविधिक टोली रातदिन काम गरिरहेको छ,’ इन्जिनियर पौडेलले भने, ‘अहिले भइरहेको काम हेर्दा १५ महिनाभित्र निर्माण कार्य पूरा हुने छ ।’

उक्त पाइपलाइनको ३६.२ किमि नेपालमा र बाँकी ३३.८ किमि भारतीय भूमिमा पर्ने जानकारी पौडेलले दिए ।

पाइपलाइन निर्माण गर्दा प्रतिकिमि पाँच करोड भारतीय (आठ करोड नेपाली) रुपैयाँ लाग्ने अनुमान गरिएको नेपाल आयाल निगमका अधिकारीको भनाइ छ ।

मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण भइरहेको पाइपलाइनमा लाग्ने खर्च भारत सरकारले बेहोर्ने पौडेलले बताए ।

पाइपलाइन बनेपछि अहिले रक्सौलबाट अमलेखगन्जसम्म ढुवानी गर्ने पेट्रोलियम पदार्थको लागत सस्तो हुने, ट्यांकरबाट ढुवानी गर्दा बाटोमा हुने चोरी, चुहावट र मिसावट नहुने र वीरगन्ज–पथलैया सडकखण्डको ट्राफिक जाममा तेल ट्यांकर पर्ने समस्या हल हुने विश्वास गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...