३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?

२०७४ चैत्र १३,मंगलवार १९:१०
तस्बिर–गुगल

मकवानपुर, १३ चैत । केही वर्ष पहिले काठमाडौँमा विभिन्न बाधाका बावजुद पनि २५ मिटर सडक चौडा बनाउन डोजर चलाएर काठमाडौँ हल्लाएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले ३ महिनामा (१०० दिनमा) हेटौँडामा २५ मिटर सडक विस्तार गर्छु भन्ने अभिव्यक्ति दिएपछि हेटौँडामा भूकम्प गएको जस्तै भएको थियो ।

२५ मिटर सडक विस्तारको क्रम रोकिए पछि सामान बोरामा हालेर लाखापाखा लागेका व्यापारीहरु समेत पूनः पुरानै सडक छेउछाउका सटरमा फर्किएको अवस्थामा एकाएक मन्त्री स्थापितको गर्जन सुनेपछि उनीहरु त्नावमा आएका थिए । तर स्थापित एकाएक गायब भएपछि अहिले यो विषयमा खासै कुरा उठेको छैन ।

माघ २९ गते सोमबार प्रदेश नम्बर ३ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले हेटौँडा बजार क्षेत्रमा विभिन्न समयमा विभिन्न कारणले रोकिएको २५ मिटर सडक विस्तार योजनालाई सुचारु गर्ने बताएका थिए ।

स्थापितले ३ नम्बर प्रदेशभित्रका १३ वटै जिल्लामा सडक विस्तार गर्ने बताउँदै राजमार्ग साँघुरो भएको र सडक विस्तार नहुँदा सहरी विकासलाई आँच पुग्ने कारण देखाउँदै सडक विस्तार कुनै पनि हालतमा नरोकिने दाबी गरेका थिए । हेटौँडाको २५ मिटर सडक विस्तार काण्डका बारेमा पहिलेदेखि नै जानकार रहेको बताउँदै मन्त्री स्थापितले सय दिन भित्रमा २५ मिटर सडक विस्तार हुने दाबी गरेका थिए । क्षतिपुर्ति दिनुपर्ने अवस्थामा तत्काल उपलब्ध गराउने बचन दिँदै मुद्धा दायर भएको अवस्थामा पनि जसरी भए नि हेटौँडामा २५ मिटर सडक विस्तार हुने उनले अडान राखेका थिए ।

हेटौँडामा तत्कालिन समयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र हेटौँडा बस्ती संरक्षण समितिको आन्दोलनका कारण सडक विस्तार पटक–पटक रोकिएको थियो । स्थानीय तहको चुनाव अघि सम्मै तु खबरले गरेको साक्षात्कारमा तात्कालिन उम्मेदवार तथा हालका मुख्यमन्त्री डोरमणि पौडेलले २५ मिटर सडक बाईपास भएर जाने तर बजार क्षेत्रबाट नजाने बताएका थिए । तर उनकै प्रदेश सरकारमा रहेका मन्त्री स्थापितले २५ मिटर बनेरै छाड्ने दाबी गरेपछि तहल्का मच्चिएको थियो ।

मन्त्री स्थापितले मकवानपुर उद्योग बाणिज्य संघले मकवानपुरको विकासबारे गरेको छलफलका क्रममा पनि २५ मिटर सडक विस्तारका क्रममा कोही पनि विस्थापित नहुने गरी काम अघि बढाउने अभिव्यक्ति दिएका थिए । तर उनको यो योजना कहाँ पुग्यो त्यसको बारेमा स्वयम मन्त्री स्थापित बाहेक अरुलाई थाहा छैन ।

‘साँच्चै कहाँ छन् त मन्त्री स्थापित ?’
मन्त्री स्थापित अहिले आन्तरिक गृहकार्यमा लागेको बुझिएको छ । तु खबरसँगको कुराकानीका क्रममा उनले आफु विभिन्न योजना सहित आन्तरिक गृहकार्यमा भएको बताएका छन् ।

तथापी उनले के बारेमा गृहकार्य गरेको भन्ने पत्ता लागेको छैन । उनको आन्तरिक गृहकार्य कतै २५ मिटरकै बारेमा त होईन ? यो भने खुल्न बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*