चैती छठ : किन र कसरी ?

२०७४ चैत्र ९,शुक्रबार १५:४७

अब चैती छठ धुमधामका साथ मनाइन थालिएको छ । चैतमा मनाइने दशैँको पनि विस्तार हुन थालेको छ भने दशैँभन्दा निकै तीव्र गतिमा छठको विस्तार भइरहेको छ ।
चैत शुक्ल पक्षको चौथी तिथिका दिन नहाखाएके गरिन्छ । यस दिन व्रत गर्नेजतिले अनिवार्य रुपमा नुहाएर चोखो खाना खान्छन् । उसो त चैती छठ हुने घरपरिवारमा होलीको दिन माछामासु खाएपछि पूरै रोक्ने चलन चलेको छ । होलीपछि छठको पारन नहुँदासम्म माछामासु र मद्यपान वर्जित हुन थालेको छ । नहाएखाएकेको भोलिपल्ट पञ्चमी तिथिका दिन विधिपूर्वक खरना गरिन्छ । खरनाको भोलिपल्ट षष्ठी थितिमा सँझियाघाटे हुन्छ र अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । यसै गरी सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको समापन हुन्छ । कात्तिकमा हुने छठकै सम्पूर्ण विधि र प्रक्रिया चैती छठमा पनि हुन्छ । नियम, निष्ठा तथा श्रद्धामा कुनै किसिमको बदलाव छैन । बदलाव हुन्छ त केवल प्राकृतिक मौसमको ।

एउटा मान्यता यस्तो पनि छ – विक्रम सम्वत्को औपचारिक सुरुआत हुनुभन्दा पहिले चैत शुक्ल पक्षको परेवा तिथिको दिनदेखि नयाँ वर्ष सुरु हुन्थ्यो । त्यत्तिवेला चन्द्रमाको गतिअनुसार वर्ष महिना र वर्ष गणना हुन्थ्यो । एक महिनामा सामान्यतया तीस दिन र एक वर्षमा तीन सय साठी दिन हुन्थ्यो । हरेक तेसंो वर्षमा अधिकमास हुन्थ्यो । अधिकमास भएको वर्षमा कुनै एक महिना साठी दिनको हुन्थ्यो । निकै समयपछि समाजमा विस्तारै जागरण बढ्दै जाँदा सूर्यको गणनाअनुसार वर्षमा तीन सय पैसठी दिनको सुरुआत भयो । यसलाई अझ व्यवस्थित गर्न वैशाखदेखि नयाँ वर्ष मान्ने चलन चल्यो र विक्रम सम्वतले औपचारिक मान्यता प्राप्त ग¥यो ।

भनिन्छ, वास्तविक विक्रम सम्वत्को पहिलो ठूलो पर्व चैती छठ हो ।
कात्तिकको मूल छठ र चैतको छठको दुई सामयिक विशेषता छन् । कात्तिकको मूल छठ गर्मी बितेपछि जाडो आरम्भ हुने मौसममा हुन्छ भने चैती छठ जाडो बितेपछि गर्मी सुरु हुने मौसममा मनाइन्छ । कात्तिकको छठको लागि आवश्यक पर्ने धेरै सामानहरुको जोहो अलि पहिलेदेखि नै गर्नुपर्छ भने चैती छठको लागि आवश्यक धेरै सामानहरु बजारमा वा गाउँघरमै सजिलै पाइन्छन् । छठको लागि आवश्यक सामानहरु एउटै वा उस्तै भए पनि मौसमको कारणले व्रतालुलाई चैती छठको व्रत बस्न निकै कठिन हुन्छ भने तुलनात्मकरुपमा कात्तिकको छठको व्रत बस्न केही सजिलो हुन्छ । निराहार व्रत बस्नुपर्ने भएकोले चैतको गर्मीले व्रतालुलाई तिर्खाले सताउने डर हुन्छ ।

चैती छठ गर्ने व्रतालुहरुको संख्या हरेक साल बढ्दो छ । मुख्यतः छठ नै बज्जिकांचलको पर्व भएकोले चैती छठको विस्तार पनि यहीबाट भइरहेको छ । चैती छठको विस्तार बज्जिकांचलबाट नै भइरहेकोले मूल पर्वको जस्तो यसले पनि विस्तार पाउने स्पष्ट छ । कात्तिकमा हुने मूल छठ पनि बज्जिकांचलकै हो । केही वर्ष पहिलेसम्म फाट्टफुट्ट हुने चैती छठले अहिले निकै विस्तार पाइसकेको छ । बज्जिकांचलका अधिकांश गाउँमा छठ उही प्रकृतिमा हुन थालेका छ चैतमा पनि ।
चैती छठ मान्नेहरु तीन किसिमका देखिएका छन् । पहिलो ती हुन् जो कुनै कारणवश कात्तिकमा गर्न पाउँदैनन् र छठ नगर्दा तिनको मानसिकताले छठ गर्नेपर्ने दबाब दिन्छ । कात्तिकमा कुनै कारणले छठ गर्न छुटेकाहरु चैतमा छठव्रत गरेर मानसिक शान्ति प्राप्त गर्दछन् । चैती छठ मान्नेहरुमा दोस्रो ती व्रतालुहरु देखिएका छन् जो कात्तिकको पनि गर्दछन् र चैतको पनि । दुवै छठलाई मान्ने भाकल गर्नेहरुको संख्या बढ्दो छ । तेस्रोथरि ती हुन् जो केवल चैतको छठमात्र गर्दछन्, कात्तिकको गर्दैनन् । तेस्रोथरिका व्रतालुहरुको संख्या तुलनात्मक रुपमा कम छ ।
बज्जिकांचलको यस पर्वप्रति आमसञ्चार माध्यमको ध्यान कात्तिके छठको जस्तै तानिने छ । अहिले ओझेलमा परेको भए पनि यसले आयाम हरेक वर्ष विस्तार गर्दै लगेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*