लेकाली बसिफाँटको रजत जयन्तीमा कवि सम्मेलन

२०७४, २९ फाल्गुन मंगलवार १९:२५

मकवानपुर, २९ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा मंगलबार कवि सम्मेलनको आयोजना गरेको छ । मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत भएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले कक्षा ८ देखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा समेटिएका साहित्यिक रचनाहरुमा बाहुन क्षेत्री समुदाय एवम् पहाडी समुदायलाई मात्र समेटेको विश्लेषण गरे । आजको समाजको मनोविज्ञान अनुसारका सबै क्षेत्र, समुदाय, विषय, धर्म, जाती, लिङ्ग, विचार आदि समेट्न सक्ने साहित्यिक रचनाको छनौटमा विवेक पु¥याउनुपर्ने उनले औंल्याए । विद्यार्थी, कक्षाकोठा, विषय शिक्षक र पाठ्यक्रमको उद्देश्य अनुकुल हुने गरी समेत पाठ्यपुस्तकमा साहित्यिक रचना छनौट गरिनुपनेृ घिमिरेको सुझाव थियो । विद्यार्थिमा नकारात्मक सन्देश प्रवाह हुने किसिमको निराशावादी र पलायनवादी विचार समेटिएको साहित्यिक रचनालाई समेटिनुपर्नेमा उनको जोड थियो ।

रजत जयन्ती समारोहको दोस्रो दिन भएको कवि सम्मेलनमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, झर्ना साहित्य परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अन्जान, साहित्यकार सुवास खनाल, एसके निधन, तुल्सी घिमिरे, अमृता नेपाल, शान्तिप्रिय बन्दना, भावना सापकोटा, प्रमोद अधिकारी, धर्मराज स्याङ्तान, केशब समर्पण, विशाल अधिकारी, विपिन सुबेदीलगायतले कविता तथा गजल बाचन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाका अध्यक्ष अरुण रायमाझी, जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानलगायतले शुभकामना मन्तव्य वयक्त गरेका थिए ।
 विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा मंगलबार कृषक अभिभावकहरुको लागि जेटिए प्रशिक्षणात्मक कार्यक्रमको समेत आयोजना गरेको थियो । त्यस्तै विद्यालयका विद्यार्थीहरुबीच स्थलगत कविता प्रतियोगिताको समेत आयोजना गरिएको थियो । अभिभावकबीच घैंटो फुटाउने कार्यक्रम तथा शिक्षकहरुको म्युजिकल चियर प्रतियोगितासमेत भएको विद्यालयका शिक्षक यश लामाले जानकारी दिए । समारोहको हिजो भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले उद्घाटन गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*