‘मह शत्रु गते यात्रा’ हेटौँडाबाट सुरु, प्रेम र परिवारको कथा

२०७४, २४ फाल्गुन बिहीबार १३:०८
तस्बिरहरु–दिलबहादुर लामा तामाङ

-चन्द्र घलान
मकवानपुर, २४ फागुन ।
गीत र ट्रेलरबाटै चर्चा कमाएको नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोलीले फागुन २३ गते हेटौँडामा कन्सर्ट गर्दै ‘मह शत्रु गते यात्रा’ को आरम्भ गरेका छन् । फागुन ३० गतेसम्म देश दौडाहा गरेर चलचित्रको प्रमोशनमा लाग्ने योजना सहित अगाडि बढेको चलचित्र टोलीले कन्सर्ट अगाडि मकवानपुरका पत्रकारहरुसँग साक्षात्कार गर्दै चलचित्रको बारेमा जानकारी समेत दिए । राजधानीको पनि राजधानी बनिरहेको मकवानपुरबाट नै चलचित्र ‘शत्रु गते’ को प्रमोशन अभियान थालिएको कलाकारहरुले बताए ।

कार्यक्रममा बोल्दै चर्चित कलाकार तथा समाजसेवी हरिवंश आचार्यले नेपाली चलचित्रको सर्वाधिक कमाई हुने स्थानहरुमध्ये हेटौँडा पनि एक भएको बताउँदै चलचित्र प्रमोशनको लागि हेटौँडा पहिलो स्थान छानिएको बताए । चलचित्रमा प्रेमका विषय पनि समेटिएकोले युवाको ढुकढुकी बन्न सफल नायक पल शाह र नायिका आँचल शर्माको अभिनय चलचित्रमा रहेको आचार्यले बताए । साथै १३ वर्षसम्म मह सञ्चारमा संगै हातेमालो गरेका निर्देशक प्रदिप भट्टराईले चलिचत्रको निर्देशन गरेको बताए ।

तस्बिरहरु–दिलबहादुर लामा तामाङ

चलचित्रको निर्माणका लागि निर्माता समेत भएका कलाकारहरुको पारिश्रमिक बाहेक डेढ करोड खर्च भएको उनले जानकारी दिए । उनले चलचित्रको नाम शत्रु गते राख्नुको कारण पनि खुलाए । ‘जीवनका केही नराम्रा पलहरु हुन्छन् त्यसलाई जनाउन चलिचत्रको नाम शत्रु गते राखिएको हो,’उनले भने, ‘हामीले शत्रुलाई आभार व्यक्त गर्नुपर्छ किन कि शत्रु नभए हामी अगाडि बढ्न सक्दैनौँ ।’ उनले मह सञ्चारको ‘१५ गते’ चर्चित बनेको प्रसङ्ग समेत कोट्याए ।

‘म पल शाहकै पुस्ताको हुँ’–हरिवंश आचार्य
कार्यक्रममा उपस्थित कलाकार किरण केसी, शिवहरी पौड्याल लगायतले चलचित्रलाई ३ पुस्ता कथा समेटिएको भनिरहँदा १७ वर्ष पछि चलचित्र लिएर आएका हरिवंश आचार्यले आफु पल शाहको पुस्ताको भएको बताए । ‘म त्यो पुस्ताको मात्र होईन, म यही पुस्ताको हुँ’, उनले भने, ‘म आफुलाई पल शाह जस्तै सोच्छु, म आफुलाई पलकै पुस्ताको सोच्छु ।’ अहिलेसम्म काम गर्न सकिरहेको बताउँदै आचार्यले काम गर्न नसकेपछि मात्र आफु जेठो पुस्ताको हुने बताए ।

पत्रकारसँग कुराकानी गर्दै नायक पल शाहले बिहेको कार्ड बाँडेजस्तै गरि आफुहरु चलचित्र हेर्ने निम्तो बाँड्दै हिँडेको बताए । साथै मह सञ्चार र अग्रजसँग काम गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा बोल्दै कलाकार शिवहरी पौड्यालले चलचित्रको निमन्त्रण गर्दैे हेटौँडा आईपुगेको बताए । चैत्र ९ गते विश्वभर एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्रलाई नेपाली दर्शकले हेरिदिए स्वदेशी लगानी स्वदेशमै रहने बताए । नेपाली दर्शकहरु नेपाली चलचित्रमै निर्भर रहने अवस्था बनाउन आफुहरु लागिपरिरहेको समेत उनले बताए । नेपाली दर्शकलाई हलसम्म ल्याउने वातावरण गरिदिनका लागि उनले संचारकर्मीहरुसँग आग्रह गरे ।
के छ चलचित्रमा ?

चलचित्रका कलाकारहरुका अनुसार चलचित्र चलचित्रमा हाँसो, रोदन र मनन गर्ने कुराहरु छन् । ‘चलचित्र मनन गर्ने पनि हुनुपर्छ, शत्रु गतेमा एउटा फिल पनि तपाईले पाउनेहुनेछ,’ आचार्यले भने ।

चलचित्रकी नायिका आँचल शर्माले चलचित्र सिचुयसनल कमेडी भएको बताए । वर्तमान समयमा धेरै चलचित्रहरु मनोरञ्जन दिने खालको बन्दै गरेको भए पनि शत्रु गतेले भने मनोरञ्जन र हाँसो सँगै सन्देश पनि दिने बताईन् । उनले चलचित्रबाट सिक्ने कुरा धेरै भएको भन्दै सामाजिक सन्देश दिने खालको चलचित्र बनेको बताईन् ।

निर्माता तथा कलाकार दिपाश्री निरौलाले ठूलो टिमको सहभागितामा बनेको चलचित्र मन छुने बनेको बताए । हाँसो र रोदन मिश्रीत कथामा केही मनोरञ्जन पनि थप्ने कोशिस गरिएको उनले बताईन् । साथै उनले चलिचत्रको बजारका रुपमा हेटौँडालाई परिभाषित पनि गरिन् ।

चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार किरण केसीले ‘तँ त सारै बिग्रीस् नि बद्र’ र ‘जे भो राम्रै भो’ जस्ता हिट चलिचत्र दिएको टिमको यो चलचित्र १७ वर्षपछिको अर्को प्रयास र मेहनत भएको बताए । साथै चलचित्रको गीत र ट्रेलर चर्चित भएकोमा खुशी व्यक्त गरे । चलचित्रलाई पारिवारिक कथा बताउँदै उनले मेहनतका साथ चलचित्रमा ३ पुस्तालाई समेटेको बताए । करिब २ घण्टा ३ मिनेटको चलचित्रले सबैको मन जित्ने समेत उनले आसा व्यक्त गरे ।
‘मह शत्रु गते यात्राको रौनक’

चलचित्रका टिमले हेटौँडाको बुद्धचोकमा प्रस्तुति दिएर जनताको मन छोए । पल र आँचलले पिरतीको बर्कोमा कम्मर मर्काए । दिपा श्री र हरिवंशले प्रहसन समेत दिए भने गायिका जुनु रिजाल काफ्लेले सांगितिक प्रस्तुति दिईन् । कलाकार शिवहरी पौड्यालले दर्शकलाई हँसाए । अन्तमा रुपै मोहनीमा नाच्दै कलाकार टोली बिदा भए ।

‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा चर्चित अनस्क्रीन जोडी नायक पल शाह र नायिका आँचल शर्मासहित कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल र जुनु रिजाल काफ्ले रहनेछन ।

टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । चलचित्र टोली २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा पुग्नेछ । चलचित्र लाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।
 पटकथालाई निर्देशक प्रदिप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...