मकवानपुरको उत्तरी भेगमा पढ्नका लागि लालीगुराँस बेच्दै स्कुले बालबालिका

२०७४, २३ फाल्गुन बुधबार ११:०२

मकवानपुर, २३ फागुन । मकवानपुरको कुलेखानीस्थित सुगौराकी सोनी तामाङ फाखेलको कालिका सेकेन्डरी स्कुलमा कक्षा २ मा पढ्छिन् । गाउँमा तीन कक्षा पढेर उनी फाखेलमा दुईमा भर्ना भएकी हुन् । काठमाडौं–हेटौंडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै सडक छेउमा उनको एक डोका लालीगुराँस छ । हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडँदै थिइन् सोनी । कति गाडीका यात्रुहरुले गुराँस किनेर लग्थे भने कतिले वास्तै गर्दैनथे । हरेक शनिबार उनको दैनिकी यसैगरी बित्दै आएको छ, अचेल ।

स्कुल समय बाहेक फुर्सदमा जंगल गएर लालीगुराँस टिप्ने अनि शनिवार सडकमा आएर बेच्ने सोनी र उनका दौंतरीहरुको दैनिकी बनेको छ । हरेक शनिवार सडकमा समूह समूहमा लालीगुराँस बेच्ने बालबालिकाको भीड नै लाग्छ । गतशनिबार पनि सडकमा गुड्ने गाडीलाई लालीगुराँसका लोभलाग्दा थुंगा देखाउँदै ‘लालीगुराँस लिनुस्, लालीगुराँस लिनुस्’ भन्दै गरेका एक हूल बालबालिका भेटिए । सोनीसँग रोजिना बल, जेनिसा घिसिङ, विमला घ्यावा, अशोक घिसिङ र कर्साङ बल थिए । पल्लो डाँडामा बालबालिकाको अर्को समूह देखिन्थ्यो । उनीहरु गुराँस बेच्न गाडी कुरेर बसेका थिए । उनीहरु ७ देखि १५ वर्षसम्मका हुन् । उनीहरुमध्ये केहीले गुराँस बेचेको पैसाबाट पढाइ खर्चको जोहो गर्ने र केहीले आमाबुबालाई पैसा दिने गरेको बताए । सोनीले भनिन्,‘दिनमा रु २००–३०० सम्म गुराँस बेच्छु ।’ त्यो पैसा के गर्ने हो भन्ने प्रश्नको जवाफमा तिनले भनिन्, ‘त्यो पैसाले कापी कलम किन्ने ।’ एक थुंगा लालीगुराँसको उनीहरु रु १० देखि २० रुपैयाँसम्ममा बिकाउँछन् ।

कसैले राम्रै पैसा दिएर लैजाने गरेको र कसैले वास्तै नगर्ने गरेको उनीहरु बताउँछन् । कसैले गुराँस नकिनी उल्टै १०–२० रुपैयाँ सहयोग दिएर जाने गरेको पनि उनीहरुको अनुभव छ । एक–दुई कक्षामा पढ्ने ती बालबालिका हरेक शनिवार यहाँ लालीगुराँस बेचिरहेका भेटिन्छन् । जंगलमा फुलेको गुराँस टिपेर उनीहरु आफ्नै लागि र घरका लागि केही रकम जोहो गरिरहेका छन्। जेनिसा बल भन्छिन्,‘कमाएको पैसा घरमा आमालाई लगेर दिने हो ।’

चितवन भरतपुरका गणेश गिरीले उनीहरुले लालीगुराँस बेच्दै गरेको देखेपछि गाडी रोके । केहीबेर उनीहरुसँग बिताए । ती बालबालिकामध्ये धेरैले गुराँस बेचेको पैसाले कापी कलम किन्ने बताए भने केहीले घरमा बुबा आमालाई दिने गरेको जवाफ दिए । त्यसपछि उहाँले सबै बालबालिकालाई रु १० का दरले पैसा दिए ।

‘ल, लालीगुराँस लानुस्,’ जेनिसाले भनिन्, ‘हैन, तिमीहरु नै राख, अर्को गाडीलाई बेच है ।’ त्यति भनेर गिरी आफ्नो गन्तव्यतर्फ लागे । मोटरसाइकल हुँइक्किएर आउँछ । उनीहरु कुदेर नजिक पुग्छन् । रोकिहाले भने गुराँस लिनुस् भन्छन् । नरोके फेरि अर्को गाडी भएतिर कुद्छन् । भरसक गुराँस बेच्ने ध्याउन्नमा रहन्छन् । पल्लो डाँडाबाट गाडी आएको देखेपछि उनीहरु गुराँस बेच्न तम्तयार हुन्छन् । अनि, गाडी नजिक पुग्छन् र गुराँसको थुंगा अगाडि बढाउँछन् ।

नयाँ मान्छेको अघिल्तिर उनीहरु लजाउँदै बोल्दै थिए । शनिबार एकदिन मात्र उनीहरु यसरी सडकमा आएर गुराँस बेच्छन् अरु दिन विद्यालय जान्छन् । कक्षा २ मा पढ्ने विमला घ्यावाले पढाई खर्चकै लागि गुराँस बेच्न आएको बताइन् । मकवानपुरको कुलेखानी, देउराली, चिसापानीगढी, फाखेललगायतका ठाउँमा हरेक शनिवार लालीगुराँस बेच्ने उत्साही बालबालिकालाई यात्रुहरुले देख्न र भेट्न सक्छन् ।
–साझाकुरा राष्ट्रिय दैनिकबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*