सुनिल गिरी : पढेर होइन, परेर सफल तरुण

– गिरिजा अधिकारी
२०७४, १७ फाल्गुन बिहीबार २१:४२

सुनिल गिरी, अहिले तरुण दल नगर कार्यसमितिका अध्यक्ष हुन् । हेटौंडा, ५ घर भएका गिरीको जन्म काठमाडौँमा भएको हो । सामान्य अध्ययन गरेका गिरीले पढेर भन्दा पनि परेर जीवनलाई सफल बनाएका छन् । भन्छन्, अरुको हकमा नपढी केही होला वा नहोला तर मेरो हकमा म परेर सफल भएको छु ।
मकवानपुरका चर्चित नेता भीमसेन महत मालेमा हुँदा उनको संगतले गिरी सक्रिय राजनीतिमा लागेका हुन् । झट्ट हेर्दा एग्रेसिभ देखिने उनी साच्चै विगतमा कस्ता थिए, तु खबरले उनको विगत फर्केर हेर्ने जमर्को गरेको छ ।

श्रमिकमा हुँदा लास्टै
कक्षा ८ मा श्रमिक माद्यमिक विद्यालय कर्रामा पढ्दा उनी लास्टै बदमास थिए । उनकै शब्दमा भन्ने हो भने उनी परिक्षामा चिट चोर्दाचोर्दै गार्डले समातेपछि रिसको झोकमा कापी च्यातचुत परेछन । परिक्षामा गार्ड बस्ने कुमार सरले कापी थुतेपछि झोक्किएर कापी नै च्यातिदिएका उनी हेड सरको अगाडि उभिनु पर्यो । त्यसपछि हेड सरले कार्यकक्षमा बोलाए । गिरी गए । तर, उनले माफी माग्नु पर्नेमा हेडसरसँग उल्टो वार्गेनिङ गरे । भन्छन्, हेडसरसँग वार्गेनिङ गरेर कक्षा ८ पासको सर्टिफिकेट पाउने ग्यारेन्टी गरे । कि त चिट चोरेर लेख्न दिनुपर्ने नत्र भने कक्षा ८ पासको सर्टिफिकेट दिुनपर्ने सर्त उनले हेडसरसमक्ष रखेछन् । हेडसरले  कक्षा ८ पासको प्रमाणपत्र दिने समझदारी गरेर घर पठाएको उनले सम्झिए । उनी विद्यालयले पनि आउँदै नआउने आएपनि पूरा समय नबस्ने । साथीहरुको तालमा लागेर उनले आफ्नो अध्ययनलाई त्यतिमाथि लान नसकेको बताए ।
उनले श्रमिक छोडे र त्यसपछि हेटौंडाकै भुटनदेवि जोइन गरे । भुटनदेवि आएसँगै उनको संगत पनि उस्तै उस्तै भयो । विगत सम्झदै गिरीले भने, साँच्चै भन्ने हो भने मैले त्यतिबेला निकै खराब काम गरे । गाँजा र फेन्सीडायल खानेहरुको संगतमा गिरी फसे । करीव ३,४ महिनाजसो उनले आफ्नो जीवनलाई फेन्सीडायलको लतमा   डुबाए  ।  साथीभाइले पनि उनलाई उकासे । त्यहि लहैलहैले उनी कुलतमा परे ।

लागूऔषधको कुलतबाट उम्किएको दिन
करीव ३ महिनाजसो फेन्सीडायलमा जीवनलाई घोलेपछि उनी एक दिन हेटौंडाकै एउटा पसलमा फेन्सीडायलको बोतल किन्न गए । पैसा नभएकोले उनले पसलेलाई १ बोतल फेन्सीडायल मागे । उनले बताए अनुसार, पसलले किन हो कुन्नी फेन्सीडायल बरु २ बोतल दिने तर त्यति खाएपछि आइन्दा खान छोड्नु पर्ने सर्त राखे । पसलेको यस्तो सर्तपछि गिरी झस्किए । भन्छन्, खै किन हो त्यो दिन त्यहि पसलबाट रित्तो हात फर्किएपछि मैले लागुऔषध समातेको छैन । मुखमा पर्ने कुरा त परै जाओस् ।
लागूऔषध प्रयोग छोडेपछि उनी प्रोफेसनल जीममा जीउडाल बनाउन गए । यसअघि उनी जिमन्यास्टिकको नेशनल खेलाडी भएका थिए । नारायणी अंचलको प्रतिनिधित्व गर्दै उनको टिम तेस्रो हुन सफल भएको थियो । त्यसकै प्रेरणाले उनी जीम जान थाले । हेटौंडामा भैसी बान्ने गोठमा जीम सिकाइन्थ्यो, म त्यहि गएर एक्सरसाइज गर्न थाले । शरीरलाई आकर्षक र स्वस्थ्य बनाउन तिर लागे, उनले भने । उनका अनुसार, त्यतिबेला उनी शायद २०÷२२ बर्षका थिए ।
गिरीसँगै अध्ययन गरेका साथीहरु अहिले गिरीलाई देखेर निकै खुसी हुने गरेको उनले बताए । त्यतिबेलाको अवस्थामा गिरीलाई देखेर निरास बन्नेहरु अहिले खुसी साट्न सँगै उभिदिन्छन्, जसका कारण गिरीलाई पनि आत्म सन्तुष्टी मिल्छ । भन्छन्, त्यतिबेलाका मेरा साथीभाई अहिले भेट्दा मेरो प्रगति र अवस्था देखेर खुसी हुन्छन् । उनीसँगै लागु औषध सेवन गर्नेहरु कति जनाको त हरिविजोग भएको अवस्था पनि उनले नदेखेका होइन । थुप्रैले जीवन सुधारेर प्रगति पनि गरेका छन् ।

संघर्षमय जीवन
यस्तै तरिकाले जीवन चल्दै थियो । उनले बुबासँग ६० हजार रुपैयाँ अंशबापतको पैसा मागे । त्यो पैसाले बसपार्कमा कोल्डस्टोर चलाए । तर, सोचेजस्तो कोल्डस्टोर चलेन । त्यहाँ ६० हजार डुबाएपछि गिरी तिरिमिरी भएछन् । एक जमानामा चर्को विग्रिएको त्यही केटो अब जीवनलाई असल बाटोमा डोर्याउने प्रयासमा थियो । त्यसपछि गिरीले विवाह गरे । प्रेम विवाह गरेका उनीले आफ्नो जीवन साथीलाई घर भित्र्याउन पाएनन् । अन्तर जातीय विवाहका कारण उनी समस्यामा परे । त्यसपछि उनी परिवार बोकेर काठमाडौँ हेलिए । एउटा पश्मिना शो रुममा २ हजार तबलमा उनी जागीरे भए । व्यापार गरिरहेका उनले जागीरे भएर जीवनलाई अघि बढाउनु पर्ने भयो । त्यहि बीचमा छोरा जन्मिएपछि उनले झनै कष्टका दिन भोग्नु पर्यो । सौभाग्य त्यति बेलासम्म उनी ४ हजार कमाउने भइसकेका थिए ।
एक दिन काठमाडौँको ठमेलमा चर्चित डनसँग संगत भएका एक जना साथीले सोही समूह जोइन गर्न प्रस्ताव गर्यो । गिरीले बताए अनुसार, त्यतिबेला खाएर बसेर, बाइक समेत दिएर मासिक १५ हजार तबल दिने प्रस्ताव सो समूहको थियो । तर, उनले त्यो समूहमा जोइन गरेनन् । बरु जीवनलाई संघर्षमै हेल्न उनी राजी भए । त्यतिबेला म त्यो ग्याङमा जोडिएको भए शायद अहिले मरिसकेको हुने थिए वा भयकंर डन भइसकेको हुने थिएँ, गिरीले भने । तर, मैले त्यो बाटो रोजिनँ ।
त्यसपछि गिरी हेटौंडा फर्किए । जीवन छटपटीमा वित्न थालेपछि उनी मलेसिया हिँडे । २ बर्षको वर्किङ भिसामा मलेसिया गरेका उनले दैनिक १६ घण्टासम्म काम गरे । तर, जसको कारणले उनलाई जन्डिसले समात्यो । छोरा र श्रीमतिको यादले पनि धेरै सताएको उनले स्मरण गरे । विरामी शरीर र परिवारको यादले गर्दा त्यसपछि १६ महिनामै नेपाल फर्किए । उनले मलेसियामा पाएको थुप्रै दुख कष्ट सुनाएर नसकिने बताए । भन्छन्, ख्याल दुख पाइएन नि ?
नेपाल आएपछि बुबासँग २ लाख सापटी लिएँ । त्यो पैसाले मोटरसाइकलको शोरुप ( रिकन्डिशन ) चलाएँ । पार्टनरशीपमा काम गर्दै गएँ । थोरैबाट सुरु गरेको यो पेशाबाट राम्ररी जीवन चल्न थाल्यो, उनले सुनाए । २०३२ सालमा जन्मिएका गिरीको राजनीतिक जीवनमा नेता भीमसेन महतले ठूलो भूमिका निभाएको उनी स्मरण गर्छन् । त्यहि रिकन्डिशनमा भीमसेनलाई र मेरो भेट भयो । उहाँले नेतृत्व गर्नुभएको राजनीतिक दलमा म आवद्ध भएँ ।
माले निकट युवा संघमा उनी सिधै उपाध्यक्ष भएर आए । जतिबेला रबिन्द्र देउलाले अध्यक्ष भएर सो संगठन चलाइरहेका थिए ।
हक्की स्वभावका गिरी जुनसुकै ठाउँमा अगाडि बढ्ने स्वभावका छन् । जसका कारण उनले धेरै समस्या भोग्नु परेको छ । राजनीतिसँगै उनले जीवन चलाउन व्यवसायलाई पनि अघि बढाएका कारण उनलाई विगतका तुलनामा अहिले त्यति धेरै तनाब व्यहोर्नु परेको छैन । अहिले पनि आर्थिक रुपमा धुनधान पैसा कमाउने उद्धेश्य भन्दा पनि जीवन र परिवारलाई सरल तरिकाले अघि बढाउने उद्धेश्य राखेको उनले बताए ।
राजनीतिक रुपमा विभिन्न आन्दोलनमा सहभागी भएका उनी पछिल्लो समय लागु औषधको प्रयोगमा रहेका युवाहरुलाई सही मार्ग देखाउने अभियानमा छन् । विभिन्न कारणले मानिस यस्तोमा फँस्दो रहेछ, त्यसबाट निस्कन परिवार र साथीभाईको निकै योगदान हुन सक्छ, उनले उपाए सुझाए ।

सामाजिक जीवनमा पनि उत्तिकै सक्रिय
तरुण दल नगर समितिको जिम्मेवारीमा रहेका गिरी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । धेरै वर्षअघि उनलाई गुन्डाका रुपमा बुझ्ने, आफ्ना छोराछोरीलाई गिरीको संगतमा आउने नदिने परिवारले पनि अहिले सुनिल गिरीसँग असल सम्बन्ध बनाएका छन् । किनकी उनले जीवनलाई एउटा महत्वपूर्ण संकटबाट मोडेर यहाँसम्म सफलतापूर्वक ल्याइपुर्याएका छन् ।
मामा घर, वृद्धा आश्रम, गाउँटोलकै मठ मंदिरजस्ता सामाजिक संघसस्थामा कुनै न कुनै तरिकाले सहयोग पुर्याइरहेका गिरी अझै सामाजिक काममा योगदान गर्न चाहन्छन् । सानैदेखि लगाउने कुरामा फिट रहनु पर्ने गरी सामाजिक र राजनीतिक रुपमा पनि फिट रहनु पर्ने धारणा राख्छन् । आमाको प्रेरणाले काँग्रेसमा लागेको स्मरण गर्दै उनले देशमा अझै क्रान्तिको आवश्यक रहेको बताए । सबैले सकारात्मक परिवर्तनको लागि काम गर्नुपर्छ, उनले भने ।
२०४६/ ०४७ को राजनीतिक आन्दोलनमा सानै उमेर भएपनि ढुङ्गा हान्न पुगेको उनले सम्झिए । कृष्ण दाहालको प्रचारमा  हिड्दा राप्रपाका मान्छेको तारो बनेको पनि उनले विर्सिएका छैनन् । त्यतिबेला उनले दाहाललाई त्यति राम्ररी चिनेका रहेनछन । तर पछि चिनेछन् । राजनीतिक दल बाहेक अहिले नेशनल सोतो करातेको जिल्ला अध्यक्ष पनि छन उनी ।

पढेर होइन, परेर सफल जीवन
जीन्दगीमा निकै हन्डर ठक्कर खाएर गिरी आफू सफल भएको बताउछन्  । हेटौंडा, काठमाडौँ फेरि हेटौँडा अनि यहाँबाट मलेसिया र फर्किएर हेटौँडा यति बेलासम्म राप्तीमा धेरै पानी र मेरो जीवनमा धेरै पसिना बगिसकेको थियो, उनले भने ।
जीवन गलत बाटोमा जाँदा त्यहाँबाट मोडेर फेरि जीवनलाई असल लिकमा चलाउनु चानचुने कुरा थिएन, तर हिम्मत नहार्ने स्वभावका कारण उनी निरन्तर संघर्षमा रहीरहे । जीवनमा धेरै भोगियो,उनले भने– औपचारिक रुपमा धेरै अध्ययन नगरेको भएपनि जीवनमा परेर धेरै कुरा गर्न सकियो यसमै सन्तुष्टी छ, उनले भने ।
गिरीको एक छोरा र एक छोरी छन् । छोरा पढाईमा जेहेन्दार र असल स्वभावका छन्, जसका कारण निकै सन्तुष्टी प्राप्त गर्न पाएको उनी बताउँछन् । भन्छन्, म अध्ययनमा रुची राख्दैन थिए तर छोरा निकै मेहनती र आफूभन्दा ठूलालाई आदर गर्ने स्वभावको छ, त्यसैले खुसी लाग्छ । कहिले काहिँ तनावका बेला घरमै छोराछोरीसित रमाइलो गर्ने गिरीको बानी छ । घरपरिवार र साथीभाईको सहयोग र सद्भावको कारण आनन्द महसुस गर्छु, उनले भने । स्वस्थ रहौँ, दूव्र्यसन त्यागौँ जीवनको मूल मन्त्र बनाएका गिरी राजनीतिमार्फत् समाजको सेवा गर्न सकिन्छ कि भनेर त्यसमा आवद्ध भएको बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...