सन्तोष चौलागाई युवामाझ एउटा छुट्टै पर्सनालिटी

२०७४, १३ फाल्गुन आईतवार १५:०७

सन्तोष चौलागाई, एमालेनिकट युवा संघका मकवानपुर अध्यक्ष हुन् । उनी सरकारले उद्यमशील युवा विकासका लागि गठन गरेको जिल्ला युवा समिति मकवानपुरका पनि अध्यक्ष हुन् । हेटौंडा– ११ मकवानपुर स्थायी घर भएका उनी जतिबेला विद्यार्थी थिए, त्यतिबेलैदेखि अनेरास्ववियूको राजनीतिमा थिए । अनेरास्ववियूको राजनीतिमा लागेदेखि अहिलेसम्म थुप्रै आरोह अवरोह खेपेका छन् । जटिल परिस्थिति पनि आए, सजिला सजिला दिनहरु पनि उनले भोगे । खासमा राजनीतिमा टिकीराख्न गाह्रो यो समाजमा पढेलेखेका युवाहरु पनि सक्रियतापूर्वक अग्रभागमा उभिनु पर्छ भन्ने उनको मान्यता छ ।

सन्तोष नाम मात्र

सन्तोष, सबैले उनलाई सन्तोष कै नामले चिन्छन् । धेरै कुरामा उनी सन्तोकीनै छन् । जीवनलाई संघर्ष बुझ्ने उनको बानी छ । जे छ त्यसैमा हँसिलो गरी उनले जीवनलाई ढालेका छन् । ढाटाबाट हेर्दा उनलाई अरुले अर्कै तौरतरिकाले बुझ्लान् । एउटा प्रभावशाली दलको युवाको जिल्ला अध्यक्षलाई अरुले बुझ्दा त्यस्तै बुझ्नु पनि स्वभाविकै होला । तर, नजिक भएर उनीसँग व्यवहार गर्नेहरुले उनलाई मिजासिलो, व्यवहारिक र समझदारपूर्ण व्यक्तित्वको रुपमा बुझ्ने गरेका छन् ।
राजनीतिमार्फत् समाजको विकासमा के कसरी योगदान पुर्याउन सकिन्छ ? भएका स्रोत साधनले युवा पुस्तालाई कसरी उद्योमतिर आकर्षित गर्न सकिन्छ, उनले अन्य व्यक्ति भेट्दा यसैलाई छलफलको विषय बनाउँछन् । केही आइडिया भए शेयर गरौँ न, उनको प्रस्ताव हुन्छ । खासमा समाजमा युवा परिचालन गर्ने नेतृत्वलाई त्यति राम्रोसँग हेरिँदैन । अझ स्पष्ट भन्ने हो भने उसको परिचय राजनीतिक भन्दा पनि अरुनै थोक हुन्छ । अर्थात्, राजनीतिको आवरणमा अन्य पेशा वा व्यवसाय । तर, सन्तोष चौलागाई युवाहरुलाई सिर्जना र उद्योममा पारंगत बनाउन चाहन्छन् । लामो भलाकुसारीका क्रममा उनले आफ्नो निकै सटिक र मर्मस्पर्शी योजना सुनाए । युवाहरु थोरै आर्थिक लगानी जुटाएर श्रममा जोडिनुपर्छ । श्रमसँगै राजनीति पनि गर्नु पर्छ । अब बन्द हड्ताल वा चक्काजाम युवाको काम होइन, सिर्जनशील समाज परिवर्तनको भीजन पनि युवामा हुनुपर्छ । त्यहि होस् भनेर म युवा संघ र जिल्ला युवा समिति मार्फत् काम गरिरहेको छु, उनले भने । उनीभित्र यो समाजमा केही प्रेरणादायी काम गर्ने हुँटहुँटी देखियो । निकै सोचेर उनले भने, यदि १÷२ वटा असल काम गर्न सकियो भने जीवननै सफल हुन्छ ।
राजनीतिमार्फत् युवा विकासमा दीर्घकालिन भिजन बाकेर अघि बढेका सन्तोषलाई युवाहरुको पक्षमा सोचेजस्तो काम गर्न नसकेकोमा असन्तोष कायमै छ । उनले सुनाए– मज्जाले युवाहरुलाई आर्थिक तथा राजनीतिक रुपमा वलियो बनाउने मेरो चाहना छ, त्यो पूरा गर्ने अभियानमा लागिरहेको छु ।

सबै निर्वाचनमा समान दौडधूप

यिनै सन्तोष चौलागाईँ संविधानसभा, स्थानीय तह र अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेता जिताउने माहौल बनाउन समान तरिकाले दौडिए । पार्टीले खटाएको निश्चित काम बोकेर दिनभरि रातभरिजसो यिनी दौडिरहे । कथमकथाचित पार्टीले कामै दिएन भनेपनि यिनी कार्यक्षेत्रमा सधैजसो हाजिर भइरहे । आफूले सकेको आफ्नो तर्फबाट हुने काम यिनले कहिल्यै नाइनास्ती गरेनन् । त्यसको मूल ध्येय भोलि पार्टीले जित्यो भने झ्याप्प तर मारौला भन्ने पनि होइन । युवाको क्षेत्रमा केही काम गर्न सकियोस् भन्ने उनको चाहना रहेछ । त्यसका लागि नीति निर्माण तहमै युवा सहभागी हुन् भन्ने उनले चाहेका छन् । अध्ययनशील युवाहरु पनि यो संगठन वा राजनीतिमा आइदिए हुने भन्नेमा उनी चाहान्छन् । युवालाई राजनीतिमा आकर्षित गर्न उनको क्षमता अनुसारको अवसर दिनुपर्ने उनको धारणा छ । उनी भन्छन्, समान अवसर दिइएन भने युवापंक्ति गलत काममा फस्छ, त्यसको अपजस संगठनले लिनुपर्छ ।

युवा समिति साझा समिति

केपी ओली प्रधानमन्त्री हुँदा २०७३ साउन १० गते उनी यो समितिको मकवानपुर अध्यक्ष भए । युवा तथा खेलकुल मन्त्रालयले युवा विकासको लागि गठन गरेको राष्ट्रिय युवा परिषद मातहत जिल्ला युवा समिति रहेको छ । युवाको विकासका लागि काम गर्ने साझा उद्धेश्यले स्थापित यो समितिमा उनले सबैलाई समेटेर अघि बढ्न पटकपटक प्रयास गरे । केन्द्रीय राजनीतिको चर्को छाँयामा जिल्ला धमिलो हुनु नौलो कुरा भएन । आफ्नै पार्टीको मान्छे केन्द्रमा मन्त्री हुँदा पनि जिल्लामा युवा समिति फूलफिल गर्न सकसको सामाना गर्नु पर्यो उनले । युवाको व्यक्तित्व विकास, आर्थिक समृद्धि, क्षमता विकास आदि काममा जिल्ला युवा समितिले धेरै काम गर्न सक्छ । अहिलेसम्म ३५÷४० लाख लगानी भइसकेको छ । करीव ७० जनाले यसबाट लाभ लिइसकेका छन् । जुनसुकै पार्टी भएपनि युवाहरुको भवनालाई समेट्न म सधैँ प्रयासरत छु, उनले भने ।
युवाको विकास हाम्रो साझा सरोकार हुनुपर्छ, चौलागाईको धारणा छ । त्यसका लागि सबै राजनीतिक दलले आफ्नो आफ्नो भिजन समितिमा राखेर छलफल गराउने उनको योजना थियो । तर, त्यो योजना अधुरो रहेकोमा उनी खिन्न पनि छन् । तर, पटकपटक असफल भएपनि उनी यस्ता चिजबाट पछि हट्ने मनस्थितिमा छैनन । भन्छन्, फेरि पनि प्रयास गर्छु ।

तस्बिर : सन्तोष चौलागाईँको फेसबुक वालबाट

युवा समिति र स्थानीय तहसँगको समन्वयमा समस्या

सरकारको राष्ट्रिय युवा परिषद् मातहत रहेको जिल्ला युवा समितिले स्थानीय तहसँग समन्वय गरी काम गर्नुपर्नेछ । गाउँपालिका तथा नगरपालिकाहरुले युवाको क्षेत्रमा लगानी गर्ने बजेट, नीति तथा कार्यक्रम एकद्वार बनाई युवा समितिमार्फत् काम गर्ने वातावरण बनाउन उनी कस्सिएका छन् । तर, त्यस्तो वातावरण विविध कारणले बन्न सकेको छैन । गाउँपालिका तथा नगरपालिकासँग प्रसस्त स्रोत छ, तर ती स्रोतहरुको सही कार्यक्रम निर्माण र तर्जुमा हुन नसक्दा प्रतिफल सोचेजस्तो हात लाग्ने अवस्था छ्रैन । अबका दिनमा गाउँपालिका तथा नगरपालिकालाई युवा समितिसँग समन्वयन गर्नका निम्ति आग्रह गर्ने र उनीहरुसँग सहकार्य गरी अघि बढ्ने योजना रहेको चौलागाईले सुनाए ।

विपरित संगठनसँग हार्दिकता

अन्य राजनीतिक दलको संगठनसँग चौलागाईको सुमधुर सम्बन्ध छ । एक अर्काबीच राजनीतिक सस्कार कायम राख्दामात्र युवापंक्ति अगाडि बढ्न सक्छ भन्ने उनको सोच छ । एक अर्का संगठनबीच सुमधुर सम्बन्धले मात्र युवाहरुको विकासमा काम गर्न सकिन्छ, उनले भने । बैचारिक रुपमा फरक भएपनि हामीसँग राजनीतिक सस्कार हुनुपर्छ, उनको भनाइछ । हुन त अन्तर राजनीतिक दलमा प्रतिस्पर्धा हुनु स्वभाविकै छ । तर, त्यो प्रतिस्पर्धा स्वच्छ र सकारात्मक चिन्तनका लागि हुनुपर्ने उनले औल्याए । कम्तीमा म चाहिँ अन्य राजनीतिक दलका संगठनलका नेतृत्वसँग पनि हातेमालो गर्न चाहान्छु, उनले सुनाए ।
अन्य राजनीतिक दलआवद्ध युवा संघसंगठनमात्र होइन, उनले सबैसँगको सम्बन्धलाई हार्दिकताका साथ कायम राखेका छन् । कुनै स्वार्थ नराखेपछि अरुसँगको सम्बन्ध पनि नराम्रो हुन्न रहेछ, उनले अनुभव सुनाए ।

युवा संघ र समिति :  राजनीतिक र प्राशसनिक

युवा संघ, दलको नीति कार्यान्वयन गर्ने सस्था । जिल्ला युवा समिति, सरकारले युवाको सबै किसिमको विकासका लागि गठन गरेको प्रशासनिक निकाय । दुबैको काम गर्नेशैली र तरिका फरक फरक छ । एउटा सस्था पूराका पूरा राजनीतिक रुपमा कमाण्ड गर्नुपर्ने किसिमको छ । अर्को, पूराका पूरा सरकारी तौरतरिकाले । यि दुबै सस्थाको नेतृत्व भएको हिसाबले उनलाई काम गर्न त्यति सजिलो छैन । युवा संगठन चलाउनु पनि चानचुने कुरा होइन । जिल्ला युवा समितिका पनि आफ्नै बाध्यता हुन्छन्, उनले सुनाए । युवाहरुका असिमित चाहना युवा संघमा छ । यता सरकारी निकाय भएपनि युवा समितिमा पनि युवाहरुले विभिन्न योजना ल्याउँछन् । थोरै स्रोत तर असिमित योजना र आकांक्षा । भन्छन्, यि सबैको सन्तुलन मिलाउन गाह्रै छ । थोरै कार्यक्रम आउँछ, जिल्ला युवा समितिमा । मापदंड पनि खुकुलो छैन, उनले भने । यस्तो बेला युवाहरुको भावना समेट्न कम्ता सकस छैन । तर, समस्याबाट भागेर कसरी होला त, उनले आत्मविश्वासका साथ भने– साँच्चै तनावपूर्ण छ काम गराई ।

स्थापित  पर्सनालिटी

एमालेनिकटको युवा संघको जिल्ला अध्यक्ष भएरमात्र होइन, सबै क्षेत्रका व्यत्तित्वसँग असल र कुटनीतिक सम्बन्ध बनाउन खप्पिस चौलागाईँ सबैको नजरमा स्थापित पर्सनालिटी हुन् । कसलाई कसरी ट्रिट गर्ने भन्ने कुरामा जानकार उनी युवाहरुलाई पनि स्थापित गराउन लागि परेको योजना सुनाउँछन् ।
तीनवटै निर्वाचनमा दौडदा पनि उनले आफ्नो सम्पर्क र सम्बन्धलाई सबैको समुन्ने स्थापित बनाउने अवसर पाए । जहाँ जसलाई समस्या पर्छ, उनी दौडिएर पुगिहाल्छन् । अन्य पार्टी तथा व्यक्तिसँगको सम्बन्ध असल भएपनि गोपनियतामा उनी निकै अघि देखिन्छन् । भन्छन्, व्यक्तिगत सम्बन्ध छदैछ, गोप्य कुरा चाहिँ गोप्यनै रहनु पर्यो नि, हैन र बोश ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*