हेटौँडामा प्रदेश नम्बर ३ को संसद नियमावली यस्तो बन्दैछ, आज मस्यौदा समिति बैठक बस्ने

२०७४, १० फाल्गुन बिहीबार ११:४२

मकवानपुर, १० फागुन । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा यतिखेर संसद नियमावली तयार पारिँदैछ । ५ वर्ष सम्म प्रदेश नम्बर ३ को संसद संचालनका लागि कार्यविधि मस्यौदा तयार पारिएको हो । संसद कार्यविधि नियमावली बनाउनका लागि मस्यौदा तयार पारिएको छ ।

प्रदेश संसदले पहिलो अधिवेशन सुरु गरेपनि हालसम्म नियमावली बनेको थिएन । अब मस्यौदामाथि छलफलपछि नियमावली तयार हुनेछ । हालसम्म अन्तरिम कार्यविधि अनुसार संसद संचालन भइरहेको छ । माघ २८ गते बसेको संसद बैठकमा गठन गरिएको ११ सदस्यीय समितिले मस्यौदा तयार पारेको हो । त्यसपछि हालसम्म बैठक भएको छैन

समितिले नेपालको संविधान २०७४ को धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो कार्य क्षेत्र संचालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम कारवाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्न र सभाका काम कारवाहीलाई अझ बढि प्रभावकारी र समयसापेक्ष बनाउन मद्दत गर्ने र नियमावली निर्माणमा आइपर्ने अन्य कार्यहरु गर्नेछ ।

संसदमा पेश गर्नका लागि गठित समितिले तयार पारेको मस्यौदामा बुँदागत कार्य विधि बनाएको छ । समिति सदस्य राजेन्द्र पाण्डेका अनुसार संसद संचालन गर्ने विधि, नियमापति जनाउने प्रक्रिया, सभामुखले बैठक संचालन गर्ने प्रक्रिया, प्रश्न सोध्ने तरिका, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विधि र कस्ता विधेयक,नियमावली पेश गर्ने, सांसदले मन्तव्य राख्ने तरिका र संसल संचालनका विधि पक्ष समेटेर मस्यौदा तयार पारिएको छ ।

संसदमा कार्यविधि नियमावली मस्यौदा तयार पार्नका लागि गठित समितिले तोकिएको मिति अगावै मस्यौदा तयार पारेको छ । समिति सदस्य पाण्डेले माघ २८ गतेको संसद बैठकले समिति गठन गरेको १५ दिनभित्र मस्यौदा तयार पार्न निर्देशन दिएपनि तोकिएको मिति अगावै तयार भएको बताए । ‘हामीले तोकिएको मिति अगावै मस्यौदा तयार पारेका छौँ ।’ उनले भने ‘फागुन १४ गते मिति पुग्थ्यो ४ दिन अघि नै मस्यौदा तयार भइसकेको छ ।’

कार्य विधि मस्यौदा तयार पार्नका लागि गठित गरिएको समितिको बैठक आज बिहीबार बस्दै छ । ११ सदस्यीय बैठक आज बस्ने र मस्यौदा बारे छलफल हुने जनाइएको छ । समिति बैठकले मस्यौदा बारे छलफलसँगै समितिको संयोजक चयन गर्नेछ । चयन हुने संयोजकले संसद बैठकमा मस्यौदा पेश गर्नेछ । हालसम्म को संयोजक बन्ने भन्ने बारे छलफल नभएको पाण्डेले जानकारी दिए । मस्यौदा संसदमा पेश गरेपछि सांसदले आफ्नो धारणा राख्ने र परिमार्जन गर्नुपर्ने भए परिमार्जनपछि सहमतिमा नियमावली पारित हुने पाण्डेले बताए ।

प्रदेशसभा नियमावली २०७४ को मस्यौदा बनाउन ११ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा राजेन्द्रप्रसाद पाण्डे, दिपक निरौला, सरस्वती बस्नेत, बुद्धिमान माझी, कञ्चन खनाल, छिरीङ दोर्जे लामा, राधा घले, रमेश पौडेल, सुरेन्द्रराज गोसाई, रिना गुरुङ र रिता माझी रहेका छन् ।
–हेटौँडा सन्देश दैनिकबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...