४० कटेसी रमाउला

–प्रमोद अधिकारी
सुन साइला
सुन साइला
४० कटेसी रमाउला ।

साइलो तिमी परदेशिएसँगै
परदेशियो गाउँ
परदेशियो घर
अनि परदेशियो रहर !
भनी विरह गाउने
समय फेरियो अब ।

रमाउनु भनेको पैसा रहेछ साइलो
तिमी गएसँगै
रमाइलै रमाइलो छ अचेल ।

घरभरि रमाइलो भरिएको छ
सहरभरि रमाइलो भरिएको छ ।

हिजो तिमी हुँदा
जे जे थिएन यहाँ
आज तिमी नहुँदा
सबै भरिपूर्ण छन् ।

तिमी नएर के भो !
तिम्रै खुन पसिनाको अनुहार
जो पैसा छ आज
बैँस नभएर के भो !

हिजो पैसाले पाइने
जो थिएन हाम्रो
हिजो पैसाले नपाइने
जो थिए हमीसँग
परिस्थिति बदलियो साइलो
आज ती सबै सबै छन् ।

साइलो म्यासेन्जर ह्याङ भएर के भो !
भाइबर तिम्रैलागि त हो नि !
फेसबुकमा दिनहुँ हाम्रो फोटो हेरेर
डाह गर्नेको जमात बढेको छ
साइलो
यी आइफोन र ट्याब्लेट
४० कटेसी के काम ।

४० नकटी नआउनू साइलो
दुनियाँले खिसी गर्छन्
जोइटिङ्ग्रे भन्लान् आफ्नाले पनि ।

सुन साइलो
बुझ साइलो
४० कटेसी रमाउला
४० कटेसी रमाउला ।

प्रतिक्रियाको लागि