हेटौँडाको बसपार्कमा ब्रम्हलुट, पत्रकारलाई नै ठगेपछि सिडिओ सापको टोली बसपार्क अनुगमनमा

२०७४, २५ माघ बिहीबार १३:११
यस पसलमा ठगिए पत्रकारको टोली

चन्द्र घलान/बलराम पुडासैनी
हेटौँडा, २५ माघ । देशभरि नै व्यापारीहरुले सर्वसाधारणलाई ठगिरहेको समाचार बेला–बेलामा पत्रपत्रिका र अनलाईनमा आईरहन्छन् । त्यसका लागि विभिन्न छानविन समिति र बजार अनुगमन हुन्छन् तर समस्या सधैँ उस्तै रहेको तितो यथार्थ हाम्रो माझमा छ । यसै क्रममा हेटौँडामा समेत दिनदहाडै पत्रकारको टोली र सर्वसाधारणलाई ठग्न थालिएपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको निर्देशनमा हेटौँडाको बसपार्क क्षेत्रमा अनुगमनको लागि एउटा टोली खटिएको छ ।

मकवानपुरका पत्रकार सुनिल सिवाकोटीले बिहीबार बिहानै बसपार्क स्थित एक नाम समेत नलेखिएको पसलबाट सामान्य खाम किने जसलाई प्राय पसलहरुले ५० पैसादेखि १ रुपैयाँसम्ममा बेच्दै आएको पाईएको छ । तर उनलाई उक्त पसलका साहुले रु.५ रुपैयाँ मागे । उनले ठट्टा गरेको सम्झि ५ रुपैयाँ नै हो र ? भनेर सोधे तर पसलेले उनलाई ५ रुपैयाँ नै हो भन्दै पैसा लिएपछि उनी अचम्ममा परे ।

सिवाकोटीलाई ठगेको कुरा थाहा पाएपछि तु खबरको टोली समेत त्यस पसलमा ग्राहक बनेर अनुगमनमा पुग्यो । तु खबरको टोलीलाई मात्रै होईन त्यस समयमा आएका अन्य ग्राहकलाई पनि पसले ५ रुपैयाँमै खाम बेचे । पसलेको ज्यादती देखेपछि तु खबरले सिडिओ, खाद्य तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा जानकारी गरायो ।

यो खामलाई ५ रुपैयाँ

तु खबरसहित पत्रकार सिवाकोटीसमेतको गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी बुढाले नासु सहदेव आचार्यको नेतृत्वमा अनुगमन टोली नै खटाएको छ । अनुगमन टोली उक्त पसलसहित अन्य पसलमा समेत छानविन गरिरहेको छ । तु खबरसँग यस विषयमा प्रतिक्रिया दिँदै त्यस क्षेत्रमा ग्राहक ठगिएको भेटिएमा तुरुन्तै कारवाही गरिने बताएका छन् । ठग्नेलाई कुनै हालतमा छाडिन्न’उनले भने ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले पनि आफ्नो टोली त्यसतर्फ बजार अनुगमनको लागि गइसकेको बताए । ‘केही समयपछि अनुगमनको पूर्ण जानकारी आउँछ’ उनले भने ।

‘४० को लेजलाई ५० रुपैयाँ, घटेन भुकम्पको बेला बढेको मूल्य’

त्यसो त हेटौँडामा ग्राहक ठगिएको यो पहिलो घटना भने होईन । विभिन्न समयमा हेटौैँडामा लुटतन्त्रको ताण्डव मच्चिएको बारेमा संचारमाध्यममा समाचार आएका छन् । ग्राहक ठगिएका विषयमा तु खबरलाई समेत विभिन्न गुनासाहरु आएका छन् ।

हेटौँडा–४ शितल महल चोकमा अवस्थित एक किराना पसलमा समेत बजार मूल्यको भन्दा बढी मूल्यमा सामान बेच्दै आएको भन्ने गुनासो प्राप्त भएपछि तु खबरका संवाददाता सन्देश थिङ ग्राहक बनेर त्यस पसलमा लेज किन्न गए । ती पसलका साहुजीले बजारमा ४० रुपैयाँ पर्ने लेजलाई ५० रुपैयाँ लिए ।
५० रुपैयाँ नै लिएपछि उनले सो लेजको मूल्य अन्य पसलमा ४० रुपैयाँ पर्ने बताए । तर उनले सिधै भने ‘ अहिले त ५० रुपैयाँ नै हो सर, एक वर्ष भइसक्यो बढेको ।’ उनको यो कुरा सुनेपछि पत्रकार थिङ तिनछक परे ।

यी त केही उदाहरणहरु मात्र हुन् । हेटौँडामा सर्वसाधारणहरु विभिन्न सामान किन्ने समयमा ठगिएका छन् । हेटौँडा बसपार्कमा यात्रुहरु ठगिने गरेको बारेमा विभिन्न गुनासोहरु बढ्दै गएको छ । दिनदहाडै सुरु हुने ठगी रात परेपछि अझ बढ्ने गरेको यात्रुहरुको गुनासो छ । राति सर्भिस चार्जका नाममा सामानको दोब्बर मूल्य नै असुल्ने गरेको यात्रुहरु बताउँछन् ।

यस पसलमा ठगिए पत्रकारको टोली

महाभूकम्पका बेला भारतले नाकाबन्दी गरेपछि बढेका सामानका मूल्य आज सम्म पनि नघटेको पाइएको छ । भूकम्पपछि १५ रुपैयाँबाट बढेर १८–२० रुपैयाँ पुगेको वाईवाई चाउचाउको मूल्य अहिले पनि २० रुपैयाँ नै पर्छ । यस्तै अन्य सामानहरुमा समेत भएको मल्यवृद्धि अहिलेसम्मै घटेको छैन ।

प्रमुख जिल्ला अधिकारी बुढाले ग्राहकलाई कसैले ठगिएको भेटिएमा तुरुन्त आफुलाई जानकारी दिन आग्रह गरेका छन् । आफुले त्यस्तो जानकारी पाएमा तुरुन्तै ग्राहक ठगिएको ठाउँमा पुगेर कारवाही गर्ने चेतावनी समेत उनले दिएका छन् । धेरैजसो ग्राहकहरुले सानो रकम त हो नि भन्दै आफु ठगिए पनि वास्तै नगरि हिँड्ने गरेका छन् तर यसबाट ग्राहक ठग्न पल्केका कालाबजारीहरु अझ उत्साहित भएर ठगी गर्न हौसिएको देखिन्छ । कसैले आवाज उठाउँदा आफै ठूला कुरा गर्ने प्रवृत्ति समेत हावी हुँदै गएको देखिएको छ । ग्राहक लुट्ने यस्ता कालाबजारीहरुलाई कारवाही नगरेसम्म अझ धेरै सर्वसाधारणहरु ठगिँदै जाने बुद्धिजिवीहरु बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...