जनप्रतिनिधिहरु अतिथि बन्नै व्यस्त, जनताको काम अलपत्र

२०७४, २३ माघ मंगलवार १७:१५

–बलराम पुडासैनी
मकवानपुर, २३ माघ । मुलकमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको ८ महिना बित्यो । लामो समय कर्मचारीहरुकै नेतृत्वमा चलेका कार्यालयहरुले स्थानीय तहको निर्वाचन पश्चात स्थानीय जनप्रतिनिधि समेत पाए । स्थानीय जनप्रतिनिधिहरुले स्थानीय तहको कार्यालयलाई पर्याप्त समय दिन नसक्दा सर्वसाधारणहरुलाई सहजता हुनुको सट्टामा थप झन्झट र दौडधुप बढेको छ ।

जनप्रतिनिधिहरु सर्वसाधारणको कामभन्दा बढी कार्यालयमा विकल्प केहि पनि नराखी कार्यक्रम उद्घाटन साथै सभा समारोहलाई सम्बोद्धन गर्नलाई बढी प्राथामिकता दिईरहेका छन् । जसका कारण मकवानपुरमा हाल सर्वसाधारणहरुले निकैनै सास्ती भोगिरहनु परेको छ ।

मकवानपुरमा एउटा उपमहानगरपालिका , एउटा नगरपालिका र ८ वटा गाँउपालिका रहेका छन् । जसमा निर्वाचित भएका जनप्रतिनिधिहरु कार्यालयमा बसेर जनताको सेवाको लागि खटिनु भन्दा विभिन्न कार्यक्रमहरुमा गई अतिथि बनेर बस्न धेरै रुचाउँने गरेको जनाताहरुको गुनासो छ । गाउँपालिका लक्षित स्थानीय जनप्रतिनिधिहरु ,साधारण सभा , बैठक उद्घाटन, सभा सम्बोद्धन भन्दै कार्यालयलाई समय नदिने गरेको जनताहरुको गुनासो बढ्दो छ ।

सर्वसाधारणहरुलाई स्थानीय तहबाट सामान्य नागरिकताको सिफारिश लिनको लागि पनि वडा अध्यक्षको हस्ताक्षरको लागि ७ दिन सम्म धाउनुपर्ने बाध्यता रहेको छ ।

जसका कारण सर्वसाधारणहरु सजिलो कामको लागि धेरै समय खर्चिनु पर्ने, जनप्रतिनिधिहरुलाई भेट्न घरमै जानुपर्ने ,लगाएतका समस्याहरु बढेको छ । सभा सम्मेलन र कार्यक्रममा जानु जनताको समस्याको पहिचान गर्नु स्थानीय स्तरमा नयाँ विकासका योजनाहरुको तर्जुमा गर्नु राम्रो पक्ष हो जनतालाई समस्या हुने गरी , कार्यालयनै अव्यवस्थित हुने गरी सभा र सम्मेलनको नाममा निकै दिन सम्म कार्यालय नआउने समस्या पनि स्थानीय तहमा देखिएको छ ।
जनप्रतिनिधिहरुले बाहिर हिँड्दा कार्यलयमा रहने व्यक्तिलाई जानकारी नदिने कारण सर्वसाधारणले खोजेको खण्डमा  कार्यलयका  अन्य कर्मचारीहरुले जनप्रतिनिधि कार्यलयमा कहिले आउँछन् त्यसको टुङ्गो दिन नसक्दा जनता थप समस्यामा छन् । बैकल्पिक व्यवस्था कार्यलयमा नगर्नुले पनि जनतामा निकैनै निराशा थपेको भने पक्कै छ ।

केहि जनप्रतिनिधिहरुले सामाजिक समारोहमा जाने भन्दै आफ्नै व्यवसाय तथा पारिवारीक काममै हप्तौंदिन सम्म व्यस्त हुनुले जनताको सामान्य काम कहिले बन्ला त्यसको कुनै निक्र्यौल दिन सक्दैन कार्यालयले ।

त्यसो त जनप्रतिनिधि कार्यालयमा नबस्नुमा उनीहरुको मात्र दोष भने देखिँदैन । स्थानीय जनप्रतिनिधिहरुलाई कार्यक्रममा बोलाएकै भरमा उनीहरु संग चिनजान गर्ने चाकरी गर्ने ,अनि काम गर्न सहज हुन्छ भन्ने मानसिकताका बोकेका मानिसहरुको कारण पनि जनतालाई थप कष्ट थपिएको छ । अतिथिको रुपमा बोलाउने, घण्टौं कुराउने अनि दिवा भोज गर्ने जस्ता क्रियाकलापले जरो गाडेका कारण जनप्रतिनिधिहरु कार्यालयमा पुग्न आईतवार कुर्नुपर्छ ।

स्थानीय संघ संस्था कार्यालयका उत्सव समारोह उद्घाटन मात्र गर्ने काम जनप्रतिनिधिको हैन भन्ने मानसिकताको विकास हुन आवश्यक छ । उनीहरुको जनता र राज्य प्रति अरुपनि उत्तर दायित्व हुन्छ । संघ सस्थाको समस्याका विषयमा कार्यालयमै गएर सुल्झाउनको लागि आग्रह गर्ने अनि अनुगमन गर्ने जस्ता प्रणाली अपनाउनु पर्दछ । यस्ता कुरामा स्थानीय जनप्रतिनिधि र आम नागरिक समाज , पत्रकार, सरोकारवाला ,सबैले गम्भीर भएर सोच्नु आवश्यक छ । नत्र ५ बर्षपछि पुन जनप्रतिनिधिहरु परिवर्तन हुन्छन् तर जनताको समस्या र सेवा दिने प्रक्रिया जस्ताको तस्तै रहन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...