सम्झनामा माघ १९ : कालो भेन्टा किनेर माओवादीको सिडी ल्याइएको त्यो साँझ

२०७४, १९ माघ शुक्रबार १८:१५

–रामकुमार एलन
नेपाल पत्रकार महासंघ रौतहटको जिल्ला अधिवेशन थियो । महासचिव महेन्द्र विष्ट प्रमुख अतिथि थिए । छिमेकी जिल्ला भएकाले आतिथ्यताको निम्तो आयो, संयोगले सचिव भए पनि म जाने भएँ गौर ।

त्यो माघ १९ । तराईमा शितलहरको कहर । अँधेरोमै पुगियो रौतहट । साथीहरु जेरीपुरी खाँदै थिए । केहीबेरमा अधिवेशन उद्घाटन तयारी थियो । दुई जना अध्यक्षका आकांक्षी थिए । एमाले सचिवको चाहना एउटा थियो । अधिवेशन उद्घाटन भयो । अधिवेशन चल्दाचल्दै मोबाइल सेवा बन्द भयो । हल्ला चल्यो, राजाले शासन हातमा लिए, केहीबेरमा यहाँ पनि सेना आउँदैछ । लोकतन्त्र हलाल हुँदै थियो ।

फोन बन्द भयो, घरमा दुई महिना नपुगेको छोरा र पत्नी मात्र छ । उकुसमुकुस भयो । कति आत्तिई होली । हुस्सु र कुहिरोको ठण्डीमा ज्ञानेन्द्रले उत्पादन गरेको सकसले देशैभर समस्या । बाबु हुर्कँदै थियो, खेलौनाको रहर । गौर सीमा बैरगनियाँबाट छोरोलाई गजबको खेलौना बन्दूक किनेको थिएँ, चन्द्रनिगाहपुर नआइपुग्दै बाटोमै सेना प्रहरीले गरेको जाँचमा बरामद भयो । शासन नै राजाको, उनीहरु राजकुमार झैँ प्रस्तुत भइरहेका थिए ।
००००
पत्रकारितामा भविष्य केलाउँदै गर्दा ज्ञानेन्द्रले पत्रिका नै जलाइदिए । कहाँ केलाउने भविष्य ? भर्खर विवाह गरेको । काखमा छोरो, समाचार लेखेर ज्यालादारीमा बाँच्न खोज्दा ज्ञानेन्द्रले रगत छाद्ने गरी व्यवस्थामै लात हानेपछि सडकमा उत्रनु, आन्दोलन गर्नु दैनिकी बन्यो तर घरमा चिन्ता । कहिले खुल्ला पत्रिका ? भोकभोकै मरिने पो हो कि ?

हानिनु पर्छ कि विदेश भन्दै बनाइयो राहदानी । लेखियो राहदानीमा पेसाः कृषि । अहिले छोरो एसइइ दिँदैछ । पत्नी भन्छे, ‘राहदानी बनाउन दिइएको पाँच हजार रुपैयाँ फिर्ता नदिने ?’
००००
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले खबर गर्नु भयो, ‘तिमी छतिवन जानु प¥यो ।’ ओहो, छतिवन जानु पुसमा सगरमाथा जानु भन्दा डरलाग्दो थियो । डेरामा टेलिफोन पनि जोड्न सकेको थिइनँ । मोबाइल त के भो र ? बोक्ने, पैसा तिर्ने न म, सबै नियन्त्रण राज्यकै थियो । सिडिओ थिए मोदराज डोटेल, ज्यान र दिमाग दुवै भएका । हेटौँडाको कर्रापुल, राप्तीपुल, सामरीपुल र माछापोखरीको रिङ बाहिर गयो कि, थाहा पाइहाल्ने, बेलुका सुत्नेबेला सोध्थे, ‘के भइरहेको छ, कतै बाहिर त गइएको छैन है, कसैले बोलाएको त छैन नि ? बोलाए पनि जानकारी गराएर गयो भने मेरो मदत रहन सक्छ है राम ।’ उनले ढाडस दिएका हुन् कि हैरानी ?

मधेस आन्दोलनताका लिची किन्न जाने ठाउँ वीरगञ्ज र रक्सौल बिरानो भए झैँ युद्धकालीन समयमा छतिवन अर्कै राज्य भएको थियो हेटौँडाकै लागि पनि । फागुनको जाडो बाँकी नै थियो । माओवादीका एउटा पत्रकार भेटेर केही जिनिस काठमाडौँ ल्याउनु पर्ने काम लगाउनु भयो सम्पादकले । नजाउँ भातपानी मात्र होइन, यहाँसम्मको परिचय बनाएको त्यही जनआस्थाले । जाउँ पुलिसले समातेर नजरबन्दमा हाल्न पनि सक्छ, माओवादीले समातेर उतै युद्धको भरिया बनाउन पनि सक्छ । दूधेबालक काखमा लिएर बूढा किन विदेश गएन भनेर चिन्ता गरिरहेकीलाई के सुनाउनु यस्ता कुरा ?

छतिवन जाने बस चढेँ । चौघडामा उस्तै चेकिङ । बस हुत्तियो छतिवनतिर । हर्नामाडीबाट जंगल हुँदै पुगिन्छ । जंगलमा बस रोकियो, चढे बन्दुकको नालबाट राज्यसत्ता बदल्न हिँडेका सिपाहीहरु । स्पोर्टर्स टिसर्ट र कट्टुमा देखिएका फुर्तिला किशोरी, युवाको जमात देखेर लाग्यो, यिनलाई त ज्यानको माया छैन, म त आज एकदिन न ‘कासन’मा छु । बसमा चढेका सबैलाई नियाल्थे उनीहरु । मै थिएँ नयाँ । हेरे, सायद मेरो हुलिया सेना, पुलिस, सुराकीसँग मिल्थेन, मिलोस् पनि कसरी ख्याउटे पत्रकार, ४९ किलोको ।

गन्तव्यमा पुग्न केही ढिलो भइरहेको थियो । आउनु पर्ने मान्छे आइसकेका थिए । कतै चिया पसलमा गफियौँ । दुःखसुःखका कुरा ग¥यौँ । उसका कुरा सुनेर मेरा पो आँखा रसाउन थाले । परिवारको चिहिलबिहील, आमाबाबुमा एकजना बितेका, अर्का बिरामी, घर जान पाइनँ, बन्दुकको टुप्पामा झुण्डिएको जिन्दगी । फेरि पनि समाज बदल्न हिँडेको यो युद्धयात्रामा स्पातिला ढंगले कलम चलाउनु भएकामा धन्यवाद भन्दै खुवाए चिया, सुनाए कयौँ सूचना र दिए पोलिथिन झोलामा एउटा सिडीको पोका । उनी आफैँ बिरामी थिए । टाउकोमा समस्या थियो । झण्डै २८ वटा सिडी र पाँचसयका ६ वटा जति नोट दिएर भने, ‘किशोर दाइको हातमा पुगोस् ।’

धेरैबेर रोकिनु थिएन, घरमा भनेको थिइनँ, २२ किलोमिटर पर आएको थिएँ जंगल कटेर । पत्नी प्रार्थना गर्दै होली, प्रशासन सुराक खोज्दै होला, अझ डरको विषय त दुई बजे फर्किने बस पाइएन भने भोलि मात्रै हुन्छ फिर्ता । भित्र डरले जोर ढ्यांग्रो फलाके पनि स्पातिला कुराले दह्रो हुँदै चढेँ बस ।
समस्या त शुरु भयो । चौघडामा हुन्छ ठूलो चेकिङ । त्यसमाथि गाउँबाट शहर आउने, साँझमा । के गर्ने, कसो गर्ने ? पसिनाले ज्यान निथ्रुक्क भयो । सम्झिएँ, आँखामा कालो पट्टि । वीरगञ्ज जेलमा ९० दिन नजरबन्द । न म माओवादी फेरि । चन्द्रमान श्रेष्ठजस्तै घरपरिवार छाडेर टाउको फुट्दा पनि युद्धमा हिँडेको स्वाद पनि छैन । पत्रकार महासंघको सचिव नजरबन्दमा भनेर आउला समाचार । बुढी झुन्डेर मर्ली, दूधे बालक कसरी बाँच्ला ? उफ् किशोर दाइले के जाँच लिनु भयो यो ?

बस बिस्तारै आउँदै थियो । सोचेँ, लडेपछि धूलो टक्टक्याउँदै उठेर अघि बढ्ने जात हो मान्छे । चौघडा आइपुग्दा साँझ पर्न खोज्दै थियो । ओर्लिएँ माथिल्लो चोकमै । साँझ पत्रकार देख्दा त्यहाँ झन समस्या पर्ला । एउटा चिया पसल पसेँ, मन नलागिनलागी केही समोसा खपत गरेँ । फोन लाग्यो, घरबेटीलाई फोन गरेर म आउँदैछु भनिदिनुस् है भनेँ । साँझ प¥यो । तरकारी बजारतिर निस्किएँ ।

जुक्ति आयो, किनेँ पाँचकिलो कालो भेन्टा । जुन म कहिल्यै रुचाउँदिन । भेन्टाले एलर्जी हुन्छ, मेरो घर, डेरा, ससुरालीमा पाक्दैन त्यो बैगुनी । तर यहाँ जीवनको सवाल छ । किनेँ र चियापसल छिरेर पोलिथिन झोलामै तल भेन्टा राखेँ, बीचमा सिडी राखेँ, माथि फेरि भेन्टा हालेँ । साँझ कालै थियो, भेन्टा कालै, झोला पनि कालै । हेटौँडा जाने अन्तिम टेम्पो थियो सायद चढेँ । जाँच गर्न आयो, पुलिस पनि कालै । तर उसले तर्क ग¥यो सेतो, ‘सबै हेटौँडाबाट भेन्टा किनेर ल्याउँछन्, तपाईं चैँ किन भेन्टा किनेर हेटौँडा जाँदै ?’ होइन जाँदा रात पर्ला, घरमा आज पाहुनापासा छन्, सस्तोमा पाएँ भनेर टारेँ । यसलाई टार्न सके त यसपटक नजरबन्द पनि टथ्र्यो ।

आएर बुढीलाई सबै कुरा भनेँ । रुँदै हास्न खोज्छे । त्यहाँ परेको भए मेरो हाल हुन्थ्यो, तिनै चन्द्रमान श्रेष्ठको दुःख सुनाएर उसलाई हसाउन खोजेँ ।
००००
नजरबन्द त ट¥यो । अब सिडी काठमाडौँ कसरी पु¥याउने ? गाडीमा चेक हुन्छ, मेथी लैजाँदा त सेनाले कुटपिट गर्छ । भन्न जान्दैनन् गाउँले पनि फेरि, सेनाले के छ भन्दा भनिदिन्छन्, ‘पड्काउने कुरा ।’

पत्रिकामा सबै सिडी फोल्ड गरेँ, एल्बमजस्तो बनाएँ र ठूलो खाममा किशोर श्रेष्ठ, जनआस्था साप्ताहिक भनेर कुरियरमा हालेँ, डेरामा सेना र माओवादी साथी आइरहन्थे, जसरी हुन्छ, त्यो पठाउनु नै थियो ।

कुरियर गरेर आएको त, किशोर दाइको म्यासेज आउँछ, पैसा चैँ तिमी नै राख । तर त्यो सामान पनि अहिले नपठाऊ, यहाँ सेनाको रजगज छ । मैले कुरियर गरिसँके, फलानो कुरियर, फलानो ठाउँमा कार्यालय, फोन, उतै लिनुस् भनेँ ।

त्यस्तै भयो । सामान पुगेपछि किशोर दाइ निकै खुशी हुनु भयो । जिन्दगीकै जुवा थियो यो । चारपाँच वटा पाँचसयका नोटले कयौँ महिना दालभात खान पुग्यो । ज्ञानेन्द्रविरुद्ध कराउने बल आयो । लेख्न थालेँ । किशोर दाइले मन पराइदिनु भयो, लेख्न उत्प्रेरित गरिरहनु भयो ।

जिन्दगीमा दुःख त कहिले घट्छ र ? तर अहिले हाम्लाई भन्दा बढी दुःख ज्ञानेन्द्रलाई नै छ, हिजो चन्द्रमानको दुःख देखेर चित्त बुझाएँ, तर काठमाडौँमा भेट्दा तिनले चिनेनन्, थोरै दुःख किशोर दाई र मनऋषि धिताललाई सुनाएँ । अहिले ज्ञानेन्द्रको छटपटि देखाउँदै बूढीलाई भन्छु, संसारमा हामी मात्रै दुःखी हौँ र, हेर त ज्ञानेन्द्रको छटपटि । सुखम्दुःखम चल्दैछ माघ १९ ले सिकाएको एउटा जिन्दगी । पछि किशोर दाइले चाइना जाऊ भनेपछि प्रशासनमा गएर राजश्व तिर्दै राहदानी केरमेट गराएँ, जहाँ पेशामा कृषि केरेर लेखिएको थियोः ‘जर्नालिज्म ।’
–१९ माघ २०७४, अनामनगर


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...