प्रदेश राजधानीको बाधक बन्न सक्छ हेटौँडाको सडक

२०७४ माघ १९,शुक्रबार १७:३१

–बलराम पुडासैनी
मकवानपुर, १९ पुस । मुलुकमा ३ तहको निर्वाचन सम्पन्न भएपछि हाल प्रादेशिक संरचनाको अभ्यास पनि सुरु भएको छ । मन्त्रीपरिषदको निर्णयले ७ वटै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख समेत तोकिसकेको छ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडालाई तोकिएको छ । मन्त्री परिषदको निर्णयले अस्थायी राजधानी हेटौंडालाई तोकेपछि प्रदेशको प्रथम बैठक समेत भईसकेको छ । तर हालसम्म पनि हेटौंडा नै प्रदेशको स्थायी राजधानी होला भनेर एकिनका साथ भन्न सकिने अवस्था भने छैन् ।

प्रदेशको स्थायी राजधानी कुन ठाउँमा हुन्छ त्यो प्रदेशसभाले निक्र्यौल गर्छ । प्रदेशसभा सदस्यहरुले हेटौंडामा पर्याप्त पार्किङ र सडक व्यवस्थापन नभएको भन्ने गुनासो गरिरहेका छन् । मकवानपुरका सर्वसाधारणहरुलाई सडक विस्तार नभएकै कारण प्रदेशको राजधानी गुम्ने होकी भन्ने डर छ । हेटौँडामा हाल सडक जाम हुन्छ । सवारी पार्किङ पनि अस्तव्यस्त छ । यस विषयमा तु खबरले पटक पटक समाचार प्रकाशन गर्दै आएको पनि छ । तर सरोकारवालाहरु थाहा पाएर पनि नपाएझैं गरेर बस्ने प्रवृत्तिका कारण मकवानपुरलाई ठूलो धक्का लाग्ला कि भन्ने शंका उपशंका उब्जिन थालेका छन् ।

हेटौँडामा सडक बिस्तारको काम सुरु भएपनि बिचमा विभिन्न अवरोध सिर्जना भएपछि हाल सडक बिस्तारको काम अलपत्र परेको छ । २५ मिटर सडक विस्तारको अभियान अन्तर्गत सरकारी भवन वरपर सडक विस्तार गरिएपनि बजार वरिपरिको अन्य संरचनाहरु भत्काउन नदिन थुप्रैले रातदिन नभनि लागि परे । जसको कारण सडक विस्तार अनिश्चित बन्यो ।

मकवानपुरलाई प्रदेशको राजधानी बनाउने विषयमा अन्य जिल्लाका सांसदहरु पनि सकारात्मक नै देखिन्छन् तर वास्तवमा सडक बिस्तार बिना हेटौंडालाई प्रदेशको राजधानी बनाउँदा सर्वसाधारणले जति सेवा तथा सुविधा प्राप्त गर्न सक्छन् भन्ने सोचेका छन् त्यो भन्दा बढि सवारी जाम र अस्तव्यस्त पार्किङका कारण दैनिक जीवननै कष्टकर नहोला भन्न सकिन्न ।

यति मिटर र उति मिटर सडक बिस्तार भनेर राजनीति गर्नेहरु शक्ति र सत्ताको वरिपरि छन् तर सडक विस्तारले भने गति लिन किन सकेन ? सबैको चासोको विषय बनेको छ । केहि भत्काईएका घरका मानिसहरुलाई पनि सडक बिस्तार हुन्न रहेछ बेकारमा मेरो भत्कियो भन्ने भावनाले निकै नै छट्पट्टी भएको छ ।

सरकारले हेटौंडाका व्यवसायी र सर्वसाधारणलाई आवश्यक व्यवस्थापन गरी हेटौंडामा सडक विस्तार गर्नु आवश्यक छ । पार्किङ व्यवस्थापन पनि मिलाउनु आवश्यक छ । अन्यथा भोलिका दिनहरुमा स्थायी राजधानीको लागि साघुँरो सडक र अव्यवस्थित पार्किङ नै ठूलो अवरोधको रुपमा खडा हुन सक्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*