निरीहका अगाडि सक्षमहरु किन यति कठोर ?

– सञ्जय मित्र
२०७४, १ माघ सोमबार २०:१३

अहिले जाडोको महिना छ । धेरैले जाडोले गर्दा नै जीवन गुमाएका छन् । जीवन गुमाउनेमा एक वर्षकी बालिकादेखि ज्येष्ठ नागरिक रहेका छन् । धेरैजना आफ्नो घरमा सुतेकै अवस्थामा आफूलाई जाडो विरुद्धको संघर्षमा सहिद बनाएका छन् । सहिद बनाउने र बन्ने इतिहास पुरानै छ । हरेक वर्ष दर्जनौँ मानिस जाडोकै कारण मर्ने गर्दछन् ।
जाडो आउँछ र जान्छ पनि । अहिले आएको छ । जाडो करिब मध्यमा पुगेको छ । बज्जिका लोकजीवनमा एउटा भनाइ छ कि कात्तिकका जाडो जन्मिन्छ, मंसिरमा बालकै हुन्छ, पुसमा जवान हुन्छ र माघमा लडाइ ठान्छ । जवान भइसकेको जाडोले आफ्नो जवानी देखाएकै हो । जाडोको कुखुरै बैँस समाप्त भएको र अहिले उत्कर्षमा पुगेको छ । सम्भवतः तिलको लड्डु खाएर जाडो ओरालो लाग्ला कि भन्ने आम विश्वास रहेको छ ।
तिलासक्रातको खुसी यसपालि धेरैको घरमा नआउने देखिएको छ । सरकारी तथ्यांक एकातिर छ तर तथ्यांकभन्दा धेरै बढी मानिस मरेका छन् । मर्नेहरुको घरपरिवार र आफन्तले यो पर्व मान्न त पाउँदैनन् ।
हिमाल मुस्कुराएकै छ रे । डाँडाभरि घाम लागेकै छ । पहाडले आफ्नो ढाड सेक्न पाएकै छ तर वनजंगलले सम्पन्न भनिएको मधेसको जनजीवनलाई माथिबाट धुम्म परेको बादलले जस्तो र तलबाट कुहिरोले घेराबन्दी गरिराखेर हिमालको कुनै एकान्त सानो पोखरीकोजस्तो ठप्प पारिदिएको छ । कोही घरबाट निस्किन पनि डराउनु पर्ने र घरभित्रै अझ ओछ्यानमै सुतेकै अवस्थामा पनि आक्रमणको सिकार हुनुपर्ने जीवन । न उसको बोली कसैले सुन्छ र न त कोही न्यानो सहारा भएर आएको देखिन्छ उसको लागि ।

ऊ अर्थात सधैँ समस्या भइरहने । हेर अशिक्षित उही, गरिब उही । बाढीमा उही पर्नुपर्ने, गर्मीले उही मर्नुपर्ने र जाडोले उसैको शरीरको रगत बग्ने नसाहरु हिमालको खोल्सो जमेजस्तो जमेर पर्नुपर्ने । यसरी मरिदिएर देशको औसत आयुमा नकारात्मक प्रभाव पारेर देशविदेशमा देशको मानप्रतिष्ठा कमजोर बनाउने उही नै हो । सबैलाई थाहा छ – पुस माघमा जाडो हुन्छ । जाडोले कठांग्रिएर मानिस मर्न सक्छ । मर्नेमा ऊ पनि पर्न सक्छ । उसो त हरेक वर्ष ऊ मरेकै छ । हरेक मौसममा मर्ने पालो त उसकै हुन्छ । प्रकृतिलाई कसैले रोक्न सक्दैन । घाम, पानी, बाढी र कुहिरो अर्थात शीतलहरविरुद्ध आन्दोलन गरेर पनि हुँदैन । कति हाइसन्चो मृत्युवरण गर्छ ऊ । कसैलाई कुनै चिन्ता हुनै नपर्ने । कसैले सोधखोज गर्नै नपर्ने । मृत्यु होओस् त यस्तो । आखिरमा ऊ आफ्नो बन्दोवस्ती गर्न नसकेर आफैँ मर्छ भने अरुको के जान्छ । जाडोविरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता अरु कसैले कम्प्युटरमा कुनै डिभाइस वा मोबाइलमा कुनै एप राखेजस्तो राखेर हुने हो र ? अरु कसैले किन चासो लिनु पर्यो । फेरि चासो लिएर पनि मरेकालाई ब्युँताउन सम्भव छ र ? आफ्नो प्राण त कसैले लाउन सक्दैनन् नि ?

तिनीहरु मरेर फेरि पाँच वर्षमा हुने चुनाव रोकिँदैन । अहिले रहेको सरकारलाई बचाउन पनि सक्दैन । भोलि बन्ने सरकारलाई रोक्न पनि सक्दैन । अहिले चुनिएर गएका तीन तहका जनप्रतिनिधिहरु त अब जनताभन्दा माथि नै भइहाले । चुनिन नसकेकाहरुलाई आफूलाई भोट नदिएकामा रिस छँदैछ । अर्थात अरु जितेकाले जति नराम्रो हुन्छ, उसलाई मुदा बनाउन सजिलो हुन्छ । उसलाई नजिताएकै कारण मृत्यु हुदा  एउटा तथ्यांक बढ्नुबाहेक अन्य कुनै सरोकार छैन ।
जाडो त नियति हो । कसैको भाग्यमा कठांग्रिएरै मर्न लेखिएको छ भने कसैले रोक्न सक्दैन । हाम्रो धर्मले यही भनेको छ । के हामी धर्मको विरोध गर्न सक्छौ ? पहिला पो केन्द्रले मात्रै हेथ्र्यो र प्राकृतिक प्रकोपको पूर्वतयारी गर्न सम्भव थिएन । अहिले त राज्यदेखि नवनिर्वाचित जनप्रतिनिधिहरुसम्मले ध्यान दिने ठाउँछ । चुनावको समयमा लाखौँ रुपैयाको रक्सी, माछा, मासु र अन्य कुरा बाँड्ने हैसियत भएका उम्मेदवारहरुले अहिले जाडोबाट जोगिने तरिका र सामग्री बाँड्न सक्दैनन् ? पैसा बाँडेर मत किन्न सक्नेले प्राकृतिक विपदाको समयमा जीवन जोगाउन सहयोग गरेर मन जित्न किन खोज्दैनन् ? निरीहहरुका अगाडि सक्षमहरु किन यति कठोर बनेका ?
जाडो सबैलाई हुन्छ । जाडो सबैका लागि बराबर छ तर जाडोकै कारण मृत्यु हुने वर्गलाई किन बढी जाडो भएको ? कसरी बचाउन सकिन्छ तिनीहरुको जीवन ? यतातिर सोच्ने फुर्सद कुन वर्गले कहिले निकाल्ने ? समयमै तयारी नहुँदा हरेक वर्ष निमुखाहरु राम राम पनि भन्न नपाई ओछ्यानमै मरिरहेका छन् । के यसैगरी मर्नुपर्ने संस्कारलाई जोगाइराख्ने त ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...