युगान्तकारी परिवर्तनको एक अभियान्ता गुमाएको दिन

कमान सिं पाख्रिन पृथक

जन्म र मृत्यु हर मानिसको जीवन हो । जसले आफ्नो निजी स्वार्थ त्याग्दछ, समाजको भलाईमा काम गर्दछ, राष्ट्र र समाजको हितमा सोच्दछ, एक मानवले अर्को मानवमा गरेको शोषण विरुद्ध डटेर मुक्ति अभियानमा लाग्दछ त्यस्ता मानिसको मृत्यु नै सगरमाथाभन्दा उच्च,महान, अटल र अमर हुने गर्दछ ।
त्यस्तो असल,अटल र अमरत्वको शान र पहिचान भएको व्यक्तित्वहरु मध्ये मकवानपुरको भुमिबाट उदाएको ‘तारा कमरेड रुद्र बहादुर पाख्रिन (रमेश) पनि एक हुनुभएको छ, हुन्हुन्छ । जसको भौतिक शरीर यस धर्तीमा नरहे पनि विचार र आस्था,आम सर्वहारा वर्ग र न्यायप्रेमी मकवानपुरे समाज र समुदायहरुको हृदयमा बाँचीरहेको छ ।जसलाई श्रद्धा सुमन अर्पण गरिरहेको छ,रहन्छन् ।

त्यस्तो अमरत्वको पहिचान भएको, वर्ग संघर्षको एक कुशल अभियान्ता असल छवि एवं अजेय महत्व बोकेको ती महान व्यक्तित्व आदरणीय रुद्र बहादुर पाख्रिन (क.रमेश)को जन्म मकवानपुर जिल्लाको विकट गाँउ, साविक गोगने गाविसको वडा नम्बर ६,कालीखोला बाङ्गे भन्ने ठाउँमा २०१९,सालमा भएको थियो ।
२०२० सालमा उहाँको सपरिवार गोगनेबाट बसाइँसराई सरी मकवानपुर गढी–८,कालीखोलामा आउनु भएको थियो । साह्रै निम्न गरिब किसान परिवारमा जन्मनु भएका पाख्रिन सानै उमेर देखी खेतीपातीका काम गर्नुपर्ने अवस्थाले गर्दा पढाइमा निरन्तरता दिन पाउनु भएन । १५,वर्षको कलिलो उमेरमा नै राममाया रुम्बासंग वैवाहिक जीवनमा बाँधिनु भएका पाख्रिनको राजनीतिक जीवनको आरम्भ उद्योगहरुमा काम गर्ने शिलशिलामै मजदुर संगठनहरुमा संगठित भई सुरु भएको हो । उहाँको मजदुर राजनीतिक यात्रा पछिको पहिलो आन्दोलन नै छाला उद्योगको मजदुर आन्दोलन थियो ।

कमान सिं पाख्रिन ‘पृथक’

२०४०–०४२ सालमा तात्कालिन नेकपा (मसाल)मा संगठित भएर सक्रिय राजनीतिक यात्रामा लागि परेका पाख्रिनले २०४६ सालको जनआन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ एकपटक जिल्ला पार्टी भित्र दीर्घकालीन जनयुद्धको लाईन र वैधानिक आन्दोलनको लाइन बीच तिब्र अन्तरबिरोध चलिरहेकै बेलामा संयुक्त जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष समेत बन्नु भएको थियो । त्यसपछि ०४७ सालमा भएको पार्टीको कार्यनीतिक निर्णय अनुसार बहुदलीय व्यवस्था धोका हो, यसबाट समाज परिवर्तन असम्भव छ,भन्दै पाख्रिन भूमिगत पार्टी नेकपा (एकता केन्द्र) मा सक्रिय रुपमा लाग्नु भएको थियो ।
२०५१ सालमा फेरी पार्टी भित्र ‘माओवाद कि माओ विचारधारा’ वैधानिक संघर्ष कि अवैधानिक शसस्त्र संघर्ष ’ भन्ने बहसको विषय चुलीदै जाँदाको परिस्थितिमा पाख्रिन शसस्त्र संघर्षको पक्षमा दह्रो उभिनुका साथै नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्धको सुरुवात भएसंगै पार्टीको पूर्णकालीन सदस्य हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

०५४ असारमा मकवानपुर जिल्लाको १ नम्बर एरिया सेक्रेटरी, ०५५ सालमा तमाङ्ग राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य, ०५६ सालमा उपक्षेत्रीय व्युरो सदस्य र ०५७ सालमा क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०५८ मा उदयपुर र सप्तरी जिल्लाको इन्चार्ज, ०५९ साल देखि बारा,पर्सा र मकवानपुर जिल्लाका पार्टी कमिटी इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो ।

कमरेड रुद्र पाख्रिन एक कर्मठ ,कुशल संगठक, गुण भएको नेताका रुपमा परिचित थियो । जनतासंग छिटै घुलमिल हुनसक्ने कला भएको एउटा असल कम्युनिस्ट अनुशासनका पालक,जनकार्यशैली एवं आदर्शका पक्षपाती,सादा जीवन उच्च विचारका धनी पाख्रिनलाई बाह्य कुराले कहिले प्रभाव पारेन । सदावहार पार्टीको योजना र निर्णय नै प्रमुख ठान्नु हुने पाख्रिन जस्तोसुकै विपत्तिमा पनि नआत्तिने,आफ्ना मातहतका कार्यकर्ताहरुलाई उत्साह दिइरहन सक्ने क्षमता भएको र वर्गवैरीलाई ठाडो चुनौती दिन सक्ने, आँटिलो नेता हुनुन्थ्यो ।

असल गुण र सिद्धान्तमा निष्ठावान आचरणमा बढी जोड दिनु हुने पाख्रिनलाई आफ्ना शुभ चिन्तकहरुले धेरै खुल्ला जस्तो भो सुरक्षामा ख्याल पुर्याउनु भन्ने सुझावका जवाफमा उहाँ भन्नु हुन्थ्यो–‘ज्यादै भूमिगत बनेर त शत्रुले पनि नचिन्ने, मित्रहरूले पनि नचिन्ने हुँदोरहेछ,अली खुलेरै लडाइँ लड्नु पर्दोरहेछ ।’ कतिपय स्थानका भिडन्तमा जनताले कसलाई साथ दिनुपर्ने हो भन्नेमा पनि चिन्न,छुट्याउन कठिन हुँदोरहेछ । त्यसैले चुनौतीको सामना गर्दै जानुपर्दछ । वर्गसंघर्षमा यस्तै हुने गर्दछ ।मरे एक,जिते संसार ।’

जनयुद्धका इमान्दार, एक कुशल नेतृत्व अभियान्ता पाख्रिन अन्तत वर्ग दुश्मनको नजरबाट जोगाउन, जोगिन सकेनन् । पार्टीको योजना अनुसार जनसरकार घोषणा कार्यक्रमलाई सम्बोधन गर्न पुर्वतर्फ जाँदै गर्दा प्यारो नेता कमरेड रुद्र बहादुर पाख्रिन (रमेश) को २०५९,पौष –२८ गतेका दिन छतिवन गाबिसको गरगरे भन्ने ठाउँमा त्यतिबेलाका शाही सेनाले कब्जामा लिएर अमानवीय यातनापछि गोली हानी हत्या गरे । अत : जनताको प्यारो नेता कमरेड पाख्रिनको शाहदत हुन गयो,भयो ।क्रान्तिका दौरानमा कमरेड रुद्रले नेपाली कम्युनिस्ट आन्दोलन तथा वर्गसंघर्ष वा जनयुद्धका क्रममा जे जति भूमिका निर्वाह गर्नुभएको छ,त्यो सर्वहारा वर्गका लागि निकै उत्प्रेरक रह्यो । उहाँले उठाएको जनचेतना र जनाधिकार एवं मुक्तिका प्रश्नहरु, वर्गसंघर्षमा देखाएको वीरता ,खेल्नु भएको भूमिका ,फैलाएको विचार ,कार्यशैली ,जीवन पद्धति कहिल्यै बिर्सन नसकिने अचुक ग्रन्थ झैं भएको छ ।

उहाँ हाम्रो लागी मात्रै नभई आउने नयाँ पिंढीका पनि एक चम्किलो तारा झैं विशेष महत्व, स्मरणीय हुनुभएको छ । जसको महत्व अझ उँचो हुँदै फैलिदै जानेछ । अनुसरण गर्नेछ, अभिवादन छ, कमरेड रुद पाख्रिन प्रति ।
कमरेड रुद्ध पाख्रिन (रमेश) को १५ औँ स्मृतिको अवसरमा)
कमान सिं पाख्रिन( पृथक)
(लेखक नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख हुन् ।)

प्रतिक्रियाको लागि