बाम गठबन्धनको पक्षमा मतदान गर्न सिग्देलको आग्रह

हेटौँडा, २८ कात्तिक । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । मंगलबार हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका लागि बाम सरकार आवश्यक रहेको दाबी गरिन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण प्रसाद दाहालले बामगठबन्धनलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता एकतावद्ध भएर प्रचारप्रसार अभियानमा लाग्न आग्रह गरे । बाम गठबन्धनको जित जनताको हितमा हुने भएकोले बेलैमा जनतामाझ पुग्न अनुरोध समेत गरे । प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार डोरमणी पौडेलले राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि बामगठबन्धनको विजयी हुन आवश्यक रहेको चर्चा गरे ।
बाम गठबन्धनको हेटौंडा १० निपर्वाचन परिचालन कमिटिका संयोजक फुर्वा दोर्जे लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like