मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी

थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानमै मुलुक समाजवाद उन्मुख भनेर किटान गरिएकोले बाम गठबन्धनलले दुई तिहाइ बहुमत ल्याएर समाजवादको कार्यान्वयन गर्ने उनले बताए । चुनाव जित्नका लागि मात्र एमाले माओवादीको गठबन्धन भएको नभई पार्टी एकता गरेर मुलुकलाई समृद्ध बनाउने प्रक्रिया शुरु गरिएको खतिवडाले दाबी गरे । उनले भेलामा उपस्थित कार्यकर्ता तथा सर्वसाधारणहरुलाई मत पत्र र मत हाल्ने तरिकाको बारेमा समेत अभिमुखीकरण गरे ।
जिसस मकवानपुरका सदस्य एवम् एमाले नेता चित्रबहादुर बलामीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य पीबी गोलेले मुलुकको समृद्धिको लागि बाम गठबन्धनको विकल्प नभएको बताए ।
भेलाले दामोदर सुवेदी संयोजक र सशिधर सुवेदी सहसंयोजक रहेको ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलाले स्थानीय तहमा एमाले र माओबादीका उमेदवारहरु रहेको सचिावलयसमेत गठन गरेको छ ।

You might also like