यौन दुर्व्यवहार र प्रहरी चौकीमा तोडफोडको आरोपमा ७ जनालाई मुद्धा दायर

हेटौँडा, २७ कात्तिक । मादक पदार्थ सेवन गरी अर्को गाउँका महिलालाई जबरजस्ती दुर्व्यवहार गर्न खोजेको तथा सोही निहुँमा ईलाका प्रहरी कार्यालयमा तोडफोड गर्न खोजेको आरोपमा मकवानपुर प्रहरीले ७ जनालाई पक्राउ गरि मुद्धा दायर गरेको छ ।

शनिबार बनभोज खाएर फर्कने क्रममा मनहरी गाउँपालिका–३ लामिटारमा हेटौँडा १९ नेवारपानीका बिदुरराज जिम्बा लगायत ६ जनाको टोलीले स्थानीय ३ युवतीलाई दुव्र्यवहार गरेको आज प्रकाशित ‘प्रदेश दैनिक’ ले समाचार छापेको छ । मादक पदार्थ सेवन गरी म्याजिक भ्यानमा आएका उनीहरुले स्थानीय युवतीलाई घरसम्म लखेटेको र घरमा पुगेर मनलाग्दी बोलेर लात्ताले हानेको समेत प्रहरीले बताएको छ ।

स्थानीयले जिम्बासहितको टोलीलाई नियन्त्रणमा लिएपछि नेवारपानीबाट राजकुमार जिम्बाको नेतृत्वमा एक हुल युवाहरु झगडा गर्न लामिटारतर्फ गएको र सोही क्रममा ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक हरिबहादुर मोक्तानको टोलीले पुलमा रोकेपछि आक्रोशित बनेको टोलीले नेवारपानीमा चौकीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । झगडा गर्न नपाएको निहुँमा आक्रोशित भिडले प्रहरी चौकीमा तोडफोड र आगजनीको प्रयास गरेको थियो । सोही क्रममा प्रहरी जवान मुखलाल राउतको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । तनावकै बिचमा प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो ।

दुर्व्यवहारमा परेकी युवतीले दिएको उजुरी र नेवारपानी प्रहरीले दिएको उजुरीका आधारमा प्रहरीले नेवारपानीका राजकुमार जिम्बा,जितबहादुर बल,सन्तकुमार गोले र राजेन्द्र गोलेलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी कारवाही एवं अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

You might also like