उम्मेदवारहरुमा खर्चको होडबाजी, निर्वाचन आयोगले तोकेको दायराभन्दा दोब्बर

काठमाडौँ, २३ कात्तिक । यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवारहरु देश दौडाहा र घरदैलोमा जुटेका छन् ।
चुनावी प्रचार प्रसार सुरु भएसँगै कतै पैसाको खोलो नै बगाउन पनि पछि नपरेको भन्न समाचारहरु आइरहेका छन् । यसै सन्दर्भमा आज प्रकाशित ‘कान्तिपुर दैनिक’ ले विभिन्न उम्मेदवारहरु तथा सरोकारवालाहरुसँग गरिएको कुराकानीको आधारमा उम्मेदवारले चुनावमा खर्च गर्ने न्यूनतम खर्चको लेखाजोखा गरेको छ ।
दैनिकका आधारमा एक जना उम्मेदवारको औसत खर्च न्यूनतम ५६ लाख ६० हजार रुपैयाँ देखिएको छ । सवारीमा अधिकतम ५ लाखसम्म प्रयोग गर्न सक्ने निर्वाचन आयोगले दायरा दिएको भए पनि एक उम्मेदवारले न्यूनतम ९ लाख ८० हजार खर्च गर्ने देखिएको छ । ईन्धन र प्रचार सामाग्रीमा आयोगले अधिकतम १ लाख भनिएकोमा क्रमशः ३ लाख ६० हजार र ३ लाख खर्च हुने देखिएको छ ।

त्यस्तै गोष्ठी अन्तरक्रियामा ८ लाख भनिएकोमा करिब दोब्बर अर्थात १५ लाख ५० हजार खर्च हुने देखिएको छ । त्यस्तै ढुवानी, मिडिया प्रचार, कार्यालय संचालन र प्रतिनिधि परिचालनमा समेत दोब्बर र कुनैमा दोब्बरभन्दा पनि बढी खर्च हुने देखिएको छ ।

You might also like