दुई दिनमै भरियो हेटौँडा अस्पतालको कोभिड वार्ड

पत्रपत्रिका
२०७८ बैशाख २१,मंगलवार ०८:५६
file-photo

मकवानपुर । हेटौँडामा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड दुई दिनमै भरिएको छ ।  संक्रमित बिरामीको संख्या अप्रत्याशित बढेसँगै हेटौँडा अस्पतालमा सञ्चालनमा ल्याइएको भेन्टिलेटरसहित ६ शय्याको आईसीयू र २४ शय्याको एचडीयू रहेको वार्ड भरिएको हो ।

अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेका अनुसार जिल्लाबाहिरका समेत बिरामीहरू हेटौँडा आइरहेका छन् । ‘तराईमा संक्रमित बढिरहेका छन् । चितवनका अस्पतालहरूबाट रेफर गरिएका बिरामी उपचारका लागि यहाँ आइरहेका छन्,’ संक्रमितको चाप हेर्दा ‘थेग्नै नसक्ने’ अवस्थामा पुगेको भन्दै उनले थपे, ‘त्यसैले जटिल संक्रमित मात्र भर्ना गरेका छौं । सामान्य लक्षण भएकालाई परामर्श दिइरहेका छौं ।’

अस्पतालका मेसु प्रवीण श्रेष्ठले पनि सक्रिय संक्रमितको संख्या अत्यधिक रहेको बताउँदै थपको उपचार गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए । ‘थप संक्रमित भर्ना लिन सक्ने अवस्थामा छैनौं,’ उनले भने । उनका अनुसार वार्डमा थप ४० शय्या थप्ने तयारी भइरहेको छ ।

हाल अस्पतालका ५० जना चिकित्सक र ६६ जना नर्ससहित २ सय ५६ स्वास्थ्यकर्मी संक्रमितको उपचारमा खटिरहेका छन् ।

सक्रिय संक्रमितमध्ये ६ सय ७६ जना होम आइसोलेसन र ३२ जना हेटौँडामा अस्पतालमा छन् । मेसु श्रेष्ठले परीक्षणका लागि भीटीएमको पनि अभाव देखिन थालेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*