‘पदमपोखरी’ ले विश्वासमा लिएर गरेको ठगी

सञ्जय मित्र
२०७८ बैशाख २,बिहीबार ०८:४४

मदन पुरस्कार पुस्तकालयमा आफ्ना केही पुस्तक र पत्रिका बुझाएर त्यसको प्रमाण प्राप्त गरेपछि मनमा फोक्सोमा अलिकति गर्बको हावा हुल्दै बाहिर निस्कँदै गर्दा छोरीले “बधाई छ बाबा” भनी । मदन पुरस्कार पुस्तकालयले पुस्तक प्राप्तिको रसिद दिने रहेछ ।

मदन पुरस्कार पुस्तकालयबाट बाहिर निस्केपछि ठिक अगाडि रहेको हिमालखबर पत्रिकाको कार्यालयमा एकैछिन पसेर निस्कँदा अहिलेको लागि निर्धारित काठमाडौँको सबै काम सम्पन्न भएका छन् । हिजो त्रिपुरेश्वरमा हुँदादेखि नै छोरोले हवाइजहाज चढेर फर्किनुपर्छ भनिरहेका छन् ।

पाटनढोका निस्केर एजेन्टलाई सम्पर्क गर्छु । मोबार्इलमै कुरोकानी हुन्छ । ३ बजेको फ्लाइटको लागि हामी ढुक्क हुन्छौँ र दुई चार मिनेटपछि फेरि फोन आउँछ – सबैको परिचय खुल्ने छुट्टाछुट्टै कागजात चाहिन्छ । लौ पर्यो फसाद । मैले त पासपोर्ट बोकेको छु । छोरीले पासपोर्ट बोकेकी छ तर छोरोको परिचय खुल्ने कुनै कागजपत्र छैन । १३ वर्षको बालकको पनि पूरा भाडा लाग्ने र विद्यालयको परिचयपत्र वा जन्मदर्ता जे भए पनि हुने बताइरहँदा त्यस्तो कुनै कागजपत्र नभएपछि हाम्रा अगाडि दुई विकल्प हुन्छन्– टाटा सुमोकम फर्किने वा नाइट बसमा फर्किने ।

टाटासुमोमा फर्किन पाए राति घरमा पुगेर सुत्न पाइन्छ तथा नाइट बसले रातभरिमा घर पुर्याउने हुन्छ । रातभरी गाडीमा हिँडेपछि निद्रा अधकल्चो हुने र भोलिपल्ट दिनभरी निद्राले सताउने हुन्छ । हामी तिनैजनाको सल्लाह हुन्छ– सम्भव भए दिउँसै जाऔँ टाटासुमोले ताकि नयाँ बाटो र नयाँ ठाउँ हेर्न पाइयोस् ।

बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा झर्ने बाटाहरू मरम्मत भइरहेकाले बन्द छन् । विकल्प बाइरोडको बाटो नै हो टाटासुमोको लागि । केटाकेटीले बाइरोडको बाटोको नाम धेरै सुनेका छन् । आज दिउँसो यही बाटो भएर जान पाउने आशामा उत्साहित छन् ।

पाटनढोकाबाट अटोले त्रिपुरेश्वर हुँदै बल्खु पुर्याउदा २० मिनेट जति मुस्किलले लागेको छ । ओर्लिनासाथ काउन्टर÷काउन्टर चार्न थाल्छौँ सुमोको लागि । सबै काउन्टरमा वीरगंज र हेटौँडाको लागि मात्र भन्दछ । एउटा वीरगंज पुग्ने सुमोको काउन्टरमा पथलैयामा गाडी नचढाएसम्म पैसा नतिनुहोला, यत्तिकै जानुस् भन्दा पनि मानेनौँ । गाडीबालाले गर्ने यस्तै हुन्छ । झोला बोकेको मानिस देख्यो कि कहाँ जाने ? पूर्व हो ? वीरगंज हो कि कलैया ? हेटौँडा हो ? उत्तरजनक प्रश्नहरु तेरसाईरहन्छन् । बोलेर जवाफ दिने हो भने मुखै दुख्ने गरी तर मुखले वा इसाराले नाइँ भन्दै जाँदा सजिलो ।

एउटाले डोर्याएर लग्यो रोडभन्दा उत्तरको तलतिर रहेको काउन्टरमा । एउटा गाडी रोकिएको छ । चार जना भए गाडी हिँड्ने भयो । हामी छौँ तीन । एकै छिनमा अर्को पनि एक जना आइपुग्छन् । उनी छन् निजगढ जानुपर्ने । निजगढ ओर्लेर अझ कता हो मास्तिर पुग्नुपर्ने । गाडीले पुर्याइदिन्छ भनिरहेका छन् काउन्टरका सबैले । चन्द्रनिगाहपुरसम्म जाने प्यासेन्जर भएपछि निजगढ जानेले विश्वास गरेर सजिलै टिकट लिन्छन् र गाडीमा बस्छन् ।

टाटासुमोको नम्वर छ – ६६२४ । पदमपोखरी सुमो सेवा हो यो । टिकटमा पनि यही लेखिएको छ – पदमपोखरी सुमो सेवा प्रा.लि. । गाडी सर्लाहीसम्म जान्छ भनेर टिकटमा चिनो लगाउँछन् । सर्लाहीको लालबन्दीसम्म जाने हो भनेर विश्वास दिलाउँछन् । आफूलाई चन्द्रनिगाहपुरसम्म पुग्न पाए त्यहाँबाट गरुडा जान सजिलो भर्इहाल्छ । अहिले दिउँसोको १ बज्न खोज्दैछ । ढिलो गरी गए पनि ७ बजेसम्म चन्द्रनिगाहपुर पुगियो भने ट्याम्पोमा गरुडा जान कुनै अप्ठ्यारो हुँदैन भन्ने पूर्वानुमान हो । टिकटमा चन्द्रनिगाहपुरको च लेखेजस्तो गरेर तन्काउँदै दाई छिटो गर्नुपर्यो भन्छन् । टिकटमा एक जनाको आठ सयको दरले तीन जनाको २ हजार ४ सय रुपैयाँ लेख्छन् । मेरो खल्तीमा अहिले दुई हजार मात्र देखिन्छ । छोरीले ५ सय रुपैयाँ दिएपछि टिकट लिन्छौँ । यति धेरै विश्वास दिलाउन खोजेका छन् कि विश्वासमाथि पनि शङ्का उब्जिन थालेको छ । तर जे त होला भन्दै गाडीमा चढ्छौँ ।

पछाडिको लहरमा बस्न जान्छौँ हामी तीनैजना । छोरीलाई कहिलेकाहीँ गाडीमा निकै अप्ठ्यारो हुन्छ, त्यसैले देब्रेपट्टि झ्यालमा छोरी, त्यसपछि छोरो अनि दाहिनेतिर म गरी लहरै बस्छौँ तीनै जना । मेरो दाहिनेतिर राखिएका छन् कुखुराका चल्लाहरु । तलमाथि गरी तीन कार्टुनले झन्डै कुम छुन खोजेको छ । बस्दा एक÷दुई चल्लाहरुले संवाद गरिरहेको सुनिन्छ तर जब दिउँसो १ बजेर २० मिनेटमा सडकमा चढ्न गाडी उकालो लाग्न खोज्छ तब सयौँ चल्लाको संगीत महोत्सव सुरु हुन्छ । कुखुराको गन्ध निरन्तर आइरहेको छ नाकमा मास्क लगाएको भए पनि ।

१ चैत्र २०७७ हो आज ।
सडकमा मोडिएर झन् दाहिने हुँदै सुमो कलंकीतिर बढ्र्दछ । कलंकीबाट थानकोट हुँदै निरन्तर बढिरहन्छ सुमो । चालकको नाम थाहा छैन तर पदमपोखरीकै हुन् । गाडीभित्र बसेकाहरुमध्ये चार जना हेटौँडा र पदमपोखरी पुग्ने छन् भने एक जना निजगढ र हामी तीन चन्द्रपुर । आज गाडीले ठग्यो, यस गाडीले हामीलाई चन्द्रपुर पुर्याउँदैन, हामी बाटोमै अलपत्र पर्ने भयौँ जस्ता कुराकानी एकापसमा गर्दछौँ तीनै जना ।

मुग्लिनबाट उकालो लाग्छ गाडी । विस्तारै कतै कतै लालीगुराँसका बोट देखिन्छन् । कतैकतै रुखैलाई अबिरमय रातो बनाएको फूलले अनुपम शोभा दिएको पनि देखिन्छ । छोराछोरीले पहिलोचोटी हो– लालीगुराँस फुलेको बोटैमा देख्न पाएका । अनि पहिलोचोटी बाइरोडको यात्रा गर्दैछन् । उकालो, ओरालो र मोड– मुख्य विशेषता हुन् यस सडकका । हरेक उकालोबाट अर्को उकालो देखिन्छ र हरेक ओरालोमुनि अर्को ओरालो छ जस्तो लाग्दछ । आकाश त प्रदूषित भइसकेको छ । पानी नपरेको धेरै भयो, त्यसैले निकै टाढाका प्राकृतिक दृश्यहरु हेर्न सकिरहेको छैन तर केही किलोमिटरका प्राकृतिक दृश्यहरुले भने अवश्य नै लोभ्याएका छन् ।

खाजा खान मन लागिरहेको छ । कतै खाजा खाने हो कि ? भनेर सोध्दा अब केही बेरमा खाजा खाने ठाउँमा पुग्छौँ भन्ने जवाफ पाइन्छ गुरुजीबाट । यात्रामा मलाई भोको पेट निकै अप्ठ्यारो हुन्छ । यसकारण केही खाइरहनुपर्छ । अलिकति खानेकुरा झोलामा बोकेका पनि छौँ । बिस्कुट, स्याउ, एउटा चाउचाउ, पानी छन् तर यात्रामा जहाँ हुन्छौँ सम्भव भएसम्मको लोकल खाजा वा खाना खान पाए पो राम्रो त ।

कुहिरोले दश मिटर पनि नदेखिने ठाउँमा आएर खाजा खान गाडी रोकिन्छ । साँच्चिकै यत्ति धेरै जाडो एक महिनासम्म शीतलहर चलेको समयमा पनि भएन । केहीबेर पहिले चार बजाएको थियो । गाडीबाट ओर्लिंदा कहिल्यै नभोगेको जाडोले एकै छिन कमायो । हात धुन धाराको पानी प्रयोग गर्दा हिउँ नै छोएको जस्तो । सेलरोटी र तरकारी खान्छौँ । साँच्चैको मिठो ।

होटलबाट निस्कँदा एउटा सुमो आएर रोकिन्छ । यात्रुलाई सोध्छु चपुरसम्म जाने भन्छन्, गुरुजीलाई सोध्छु तीन जना अटाउने ठाउँ छ भन्छन् । मन अलिक ढुक्क हुन्छ । म नम्बर माग्छु, गुरुजीले नम्बर दिएपछि हाम्रो गाडी खुल्छ । म यति कुरा गर्न भ्याउँछु – हेटौँडा पुगेर फोन गर्छु है, हामीलाई चपुर पुग्नु छ ।

बाटोमा पदमपोखरी घर भएकालाई पत्रकार गिरिजा अधिकारीको बारेमा सोध्छु । एक जना ठूलो पत्रकार कोही भएको तर आफूले नचिनेको बताउँछन् । सनराइज बोर्डिङका रामकुमार सरको बारेमा सुनेको तर आफूले ठूलो मानिसलाई नभेटेको बताउँछन् ।

गाडी निरन्तर ओरालोतिर छ । त्यसभन्दा तीव्र गतिमा समय ओरालो लागिरहेको छ । धेरै अबेर भयो भने छोराछोरीलाई लिएर कहाँ अलपत्र पर्ने ? बरु एकचोटि पत्रकार गिरिजा अधिकारीलाई फोन गर्छु र सम्भव भए उनैकहाँ बास बस्छु भन्ने ठान्छु । छोराछोरीले पनि सहमति जनाउँछन् । मनमा अर्को कुरो पनि छ – पदमपोखरी सुमोले चन्द्रपुरसम्म पुर्याएन भने भार्इ गिरिजालाई नै भन्छु ठगीको समाचार लेख्न । मनमा अनेक कुरा खेलिरहेका छन् । धर्तिको उज्यालो हराउन नपाउँदै हेटौँडाको बसपार्कमा पदमपोखरीले ल्याइपुर्याउँछ ।

पदमपोखरीको गुरुजी टिकट काउन्टरमा जान्छन् र मलाई बोलाउँछन् । “पश्चिमबाट आउने बस साढे ७ बजे आइपुग्छ । चपुरसम्म जानलाई उभिएरै जानुपर्दछ । लौ टिकट लिइहाल्नू । काउन्टरको कडा बोलीमा अब किन विश्वास गर्ने ? चपुरसम्म पुर्याउँछु भन्नेले नै हेटौंडामा कुरा मिलाइरहेका छन् । अहिले पौने ७ बजेको छ साँझको । टिकट काटेपछि पदमपोखरी त पदमपोखरीको लागि बेपत्ता भइहाल्छ । गाडी साढे ७ बजे आओस् कि ९ बजे वा नआओस्, उनलाई के मतलब ? काउन्टरबालाले उनले सिकाएकोले भनेको हो, गाडी आएपछि चढ्नुहोला भनिदिए भने के गर्ने ?

छोराछोरी अझै गाडीमै बसिरहेका छन् । म गिरिजा भाइलाई सम्पर्क गर्न एकचोटि फोन गर्छु । चुनाव लागेको छ । फोन उठ्दैन । अनि फोन गर्छु खाजा खाने ठाउँमा लिएको गुरुजीको नम्बरमा । फोन उठ्छ – सुपारीटार ब्यारेकनेर पुग्छु अब सुनेपछि अलिक ढुक्क हुन्छ मन ।

विश्वासमा लिएर ठगेको पदमपोखरीलाई भन्छु – आज जाने वा नजाने ठेगान भएन । चपुर जाने त्यही सुमो पायो भने जाने हैनभने आज हेटौंडामै बस्ने । गुरुजीले पाँच सय रुपैया फिर्ता दिन्छन् । हामी बसपार्कबाट निस्कन्छौँ र सुमार्गी कम्प्लेक्स मोडमा आएर ओर्लन्छौँ र प्रतीक्षा गर्न थाल्छौँ त्यही सुमोको । विस्तारै अँध्यारो हुन थालेको छ । हामी प्रतीक्षा गरिरहेका छौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*