ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, १९ घाइते

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार ०८:३९

चितवन । चितवनको राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

आइतबार साँझ थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेर दुर्घटना हुादा ५ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । मृतक अन्दाजी २५ वर्षीय एक पुरुषको भने सनाखत हुन सकेको छैन ।

सोही दुर्घटनामा परी १९ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर र ११ जनाको अवस्थामा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*