माओवादी केन्द्र मकवानपुरले स्थानीय तह बैठक गर्ने

तु खबर संवाददाता
२०७७ चैत्र १५,आईतवार ०९:०८

मकवानपुर । नेकपा माओवाली केन्द्र मकवानपुरको शनिबार बसेको बैठकले पार्टीको मकवानपुरको १० वटै स्थानीय तह कमिटीको बैठक चैत्र १९ गतेदेखी २८ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विघटन गरेपछि नेकपा (माओवादी केन्द्र) मकवापुरको पहिलो पटक शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार हेटौँडा उपमहानगरपालिकाको चैत्र १९ गते, राक्सिराङ गाउँपालिकाको चैत्र २० गते, बकैया गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकाको चैत्र २१ गते, मकवानपुरगढी गाउँपालिकाको चैत्र २३ गते, बागमती गाउँपालिकाको चैत्र २४ गते, भीमफेदी गाउँपालिकाको चैत्र २५ गते, कैलाश गाउँपालिकाको चैत्र २६ गते र थाहा नगरपालिकाको चैत्र २८ गते बस्ने भएको छ ।

त्यस्तै, सो बैठकले जिल्लाको सबै वडाको बैठक बसी माओवादी पार्टीको बोर्डसहित कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको जिल्ला नेता तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताए । उनका अनुसार पार्टीबाट निर्वाचित स्थानीय र प्रदेश जनप्रतिनिधिको भेला चैत्र २८ गते तोकिएको छ ।

साथै, पार्टीको जनवर्गीय मोर्चाहरूको चैत्र मसान्तसम्म बैठक बसी बैशाख मसान्तसम्ममा भेला, सम्मेलनहरू गर्ने निर्णय पनि भएको बताईएको छ । पार्टीलाई सुदृढ, क्रान्तिकारी, बलियो बनाउँदै समाजवादी लक्ष्य हाँसिल गर्न पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्ला कमिटिले निर्णय गरेको हो ।

बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालको प्रमुख अतिथ्य तथा केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानको बिशेष आतिथ्य रहेको थियो ।

पार्टीका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षमा भएको बैठकमा प्रदेश कमिटी सदस्यहरु बिष्णु बिष्ट, ओम घलान, सर्केश घलान, बिरबहादुर घलान, ललित घलान लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*