मकवानपुरमा एकैदिन चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार ०९:२२

मकवानपुर । मकवानपुरमा बुधबार एकैदिन विभिन्न घटनाका कारण चार जनाको मृत्यु भएको छ । बुधबार जिल्लामा एक जनाको पानीको मुहानमा डुबेर, एक जनाको सडक दुर्घटनामा र दुई जनाको आत्महत्याबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्ररही निरीक्षक अमर गजमेरले जानकारी दिए ।

उनका अनुसार, मकवानपुरको बकैया गाउँपालिका–९ मा खानेपानीको मुहानमा डुबेर स्थानीय ३४ वर्षीय बद्रीलाल वाइबा मृत्यु भएको छ । उनलाई घरबाट करिब २ किलोमिटर पर हर्कपुरस्थित खानेपानी महानमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । उनी पहिलादेखि नै छाडेरोगको बिरामी थिए ।

त्यस्तै, बकैयामै ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार हेटौंडा–१७ का १३ वर्षीय दिलसन माझी रहेका छन् । बुधबार हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको ना. ६ त ४५३५ नम्वरको ट्रयाक्टर बकैया–५ को तीनतलेमा आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किए दुर्घटनामा हुँदा दिलसन माझीको मृत्यु भएको हो । सोही दुर्घटनामा परी ट्रयाक्टर चालक हेटौंडा–१७ का सुनिल माझी र बकैया–७ को भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएका छन् ।

यसैगरी, बुधबार जिल्लामा दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा हेटौंडा–१६ हटियाका अन्दाजी ५० वर्षीय रामकृष्ण बलामी र बागमती गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया अनिषा पहरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, रामकृष्ण बलामीले घर नजिकैको बकाइनोको रुखमा पासो लगाएर आत्महत्या गरेका थिए भने बागमतीका अनिषा पहरीले आफ्नै घरको कोठाको बल्डमा सलको पासो लगाई आत्महत्या गरेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*