बकैयामा सवारी दुर्घटना, हेटौंडाका माझीको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतल्लेमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको ना ६ त ४५३५ नम्बरको ट्याक्टर उक्त स्थानमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने १३ वर्षीय दिलसन माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए ।
प्रहरी निरीक्षक गजमेरका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका माझीको हेटौंडामा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, सोही दुर्घटनामा परी अर्का दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्याक्टर चालक हेटौंडा–१७ का १७ वर्षीय सुनिल माझी र बकैया गाउँपालिका–७ बस्ने ५८ वर्षीय योगेन्द्रबहादुर राई रहेका छन् । घाइतेमध्ये ट्याक्टरमा सवार योगेन्द्रबहादुर राईको अवस्था गम्भीर रहेको र उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गजमेरले बताए ।
उनका अनुसार, ट्याक्टर चालक सुनिल माझीलाई सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृतक दिलसन माझीको शव हाल हेटौंडा अस्पतालमा पोष्टमार्टमको लागि राखिएको जनाएको छ ।