बागमती प्रदेश सरकारद्वारा पाँच वटा जिल्ला अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका ५ वटा जिल्ला अस्पतालहरुलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
आइतबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेशका १३ जिल्लामध्ये ५ वटा जिल्ला अस्पतालको प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले मकवानपुरको हेटौंडा, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेसी र सिन्धुली जिल्लाको सिन्धुली माडी अस्पतालको प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई क्रमशः प्रदेशको सामाजिक विकास मन्त्रालयको तर्फबाट खरिद गरिएको ‘ख’ वर्गको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
५ वटा ‘ख’ वर्गको एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत रु एक करोड ८६ लाख ७५ हजारको लागतमा खरिद गरी हस्तान्तरण गरिएको बागमती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।
प्रत्येक एम्बुलेन्सको रु २९ लाख २० हजारको लागतमा खरिद गरिएको एम्बुलेन्समा वातावरणसहित अत्याधुनिक उपचारसेवा उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पौडेल, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मा, प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र काफ्ले र हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल मनतव्य व्यक्त गरेका थिए ।