सुरक्षा परिषद् बैठकमा कुन– कुन विषयमा भयो छलफल ?

काठमाडौं । सुरक्षा परिषद्को नियमित बैठक भर्खरै सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।
विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्द फुकुवा गर्ने सन्दर्भमा पनि छलफल भएको बुझिएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए ।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।
सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।