नेपालमा दुई साताभित्र कोरोनाविरुद्धको खोप भित्रिने, कसले पाउँछ प्राथमिकता ?

मकवानपुर । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोप नेपालमा दुई साताभित्र भित्रिने निश्चित भएको छ ।
खोप ल्याउनका लागि भारतलगायतका विभिन्न मुलुकसँगै विश्व स्वास्थ्य संगठनमार्फतसमेत पहल भइरहेका बेला भारत सरकाले छिमेकी राष्ट्रहरुलाई अनुदानमा खोप दिने निर्णय गरेको हो ।
नेपालले भारतबाट कति खोप पाउने र कहिले ल्याउने भन्नेबारे आज टुंगो लाग्ने छ । पहिलो चरणमा ल्याइएको खोप कसलाई दिने भन्ने यसअघि नै टुंगो लागिसकेको छ ।
स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मी, प्रशासनिक तथा सरसफाइमा खटिएका कर्मचारी र स्वास्थ्य सेवाका लागि फिल्डमा खटिने कर्मचारीलाई प्राथमिकता दिइने भएको छ ।
ज्येष्ठ नागरिक तथा दीर्घरोगी खोपको दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगी एवम् नागरिक पर्ने भएका छन् ।
त्यसैगरी ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी नागरिकलाई तेस्रो प्राथमिकतामा राखिएको छ भने बाहिरबाट आएर नेपालमा काम गरिरहेका श्रमिकलाई चौथो प्राथमिकता दिइने छ ।
४० देखि ५४ वर्षका नागरिक खोपको प्राथमिकतामा पाचौँ नम्वरमा परेका छन् भने १५ देखि ३९ वर्षका नागरिक अर्थात युवा वर्ग अन्तिम नम्वरमा छन् ।