कांग्रेसको अलमलले सत्ता समिकरणमा देखिएको अन्यौलता कायमै

तु खबर संवाददाता
२०७७ माघ ६,मंगलवार १६:४६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा प्रचण्ड– माधव पक्षका प्रदेश सभा सदस्यहरुले अविस्वासको प्रस्ताव दर्ता गराएपछि नयाँ सरकार गठन होला वा पुरानैले निरन्तरता पाउला भन्ने विषयमा चासोचर्चा सर्वत्र देखिएको छ ।

प्रदेशमा पुरानै सरकार टिकाउन वा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसको समर्थन अनिवार्य देखिएको भएपनि कांग्रेसले अलमल गरेको कारण सत्ता समिकरणमा देखिएको अन्यौलता कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएपछि नेकपा फुटको डिलमा पुगेको थियो । गएको पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै दलको प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

११० जना सदस्य रहेको बागमती प्रदेश सभामामा बहुमतको लागि कुनै एक पक्षमा ५६ मत आवश्यक देखिन्छ । जसमध्ये मुख्यमन्त्रीको पक्षमा ३४ जना सांसद देखिएका छन्ण् । प्रचण्ड– माधव समूहका ४५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । पौडेललाई नै सरकारमा टिकाउन वा नयाँ सरकार गठन गर्नको लागि कांग्रेसको मत निर्णायक बन्ने देखिन्छ । प्रदेशमा कांग्रेससंग २२ मत
छ ।

विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् । साना दल सबै दाहाल–नेपाल समूहसँग मिले पनि प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमत पुग्दैन ।

नेकपा औपचारिक रुपमा नफुटिसकेको कारण कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा अन्यौलता कायमै रहेको कांग्रेस निकट स्रोतले बताएको छ ।

दल विभाजनको औपचारिक पत्र प्रदेशसभामा प्राप्त नहुन्जेल कुनै पक्षलाई पनि समर्थन नगर्ने कांग्रेसले बताउँदै आएको छ । दल विभाजन भई अर्को पक्षले प्रदेश सरकार गठन गरे पनि ६ महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । कांग्रेसको साथविना यो पनि सम्भव नहुने जानकारहरु बताउँछन् ।

अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड– माधव पक्षले प्रदेश इन्चार्ज नारायण दाहाल, सह–इन्चार्ज अष्टलक्ष्मी शाक्य र प्रदेशसभा सदस्य सालिकराम जम्मकट्टेललाई अन्य दलसँग परामर्शको जिम्मेवारी तोकेको छ ।

ओली समूहबाट मुख्यमन्त्री पौडेल र मुख्य सचेतक केशवराज पाण्डेले भने कांग्रेस र साना दलहरूसँग परामर्श गरिरहेका छन् । कांग्रेसले भोलि बस्ने प्रदेश सभाको सातौँ अधिवेशन बैठक अगाबै निर्णय गर्ने प्रयत्न गरिरहेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*