उद्यमीहरुले गुणस्तरीय सामग्री उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्छ–प्रदेश प्रमुख प्रसाई

तु खबर संवाददाता
२०७७ माघ ४,आईतवार १७:५०
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईँले उद्यमीहरुले राष्ट्रलाई आत्मनिर्भर बनाउन र गुणस्तरीय सामग्रीको उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने बताएका छन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघको साझेदारीमा युरोपियन युनियनको दक्षता परियोजनाको अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रलाई आर्थिक स्रोत मजबुद तुल्याउने बहुराष्ट्रिय कम्पनीहरुलाई संघीय सरकार र प्रदेश सरकारले संचालनमा ल्याउन भौतिक सुविधाको साथै समयानुकुल ऐन कानूनको तर्जूमा गर्दै लैजानुपर्ने बताए ।

उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडा औद्योगिक क्षेत्रमा विभिन्न उद्योगहरु स्थापनाको लागि आवश्यक जग्गा र भौतिक सुविधा उपलब्ध गराउनुको साथै उपमहानगरपालिकाले पनि विभिन्न चरणमा स्रोत साधन परिचालन गरी उद्यमीहरुलाई उद्योग स्थापना गर्न रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा परियोजनाको कार्यक्रम संयोजक चन्द्रकान्त अधिकारीले ‘एलक्स परियोजना’ अन्तरगत श्रम बजारको मागअनुसार रोजगारदाता संघहरुले समन्वयात्मक रुपमा श्रम बजार सूचना सम्बन्धि कार्यक्रमहरु संचालन गर्न एउटा बलियो संरचनाको स्थापना गर्ने उदेश्य रहेको बताए ।

उनले परियोजनाले राष्ट्रिय पेशागत वर्गिकरण मापदण्डको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रमहरु तर्जूमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकताअनुसार शिपयुक्त दक्ष जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिनेलगायतका प्रमुख कार्यहरु गर्ने उल्लेख गरे ।

उक्त परियोजनाले कृषि, भौतिक निर्माण, पर्यटनलगायतका क्षेत्रसंग आवद्ध रहेर काम गर्ने अपेक्षा गरिएको र सो परियोजनाको लागत रु १८ करोड रहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानले प्रदेशको राजधानी हेटौंडामा मझौला उद्योग संचालनको लागि र उद्यमीहरुलाई सरकारले सुविधायुक्त नियम कानूनको तर्जूमा गरी कार्यान्वयन गर्न सके गरिबीको निवारण हुने बताए ।

उक्त कार्यक्रमका सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले सो परियोजनाले विपन्न नागरिकहरुलाई आर्थिक आत्मनिर्भर तुल्याउन विभिन्न उद्यमशिलता कार्यक्रम संचालन गर्न मद्धत पुर्याउने विश्वास व्यक्त गर्दै सो परियोजनाको अवधि १४ महिना रहेको स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*