‘न्याय मरेको छैन, अदालतले संसद पुर्नस्थापना गर्छ अनि मात्र संविधानको रक्षा हुनेछ’

दिनेश नेपाल
२०७७ पुष २६,आईतवार १८:१०

नमस्कार प्रधानमन्त्रीज्यू !

म तपाईलाई ‘सञ्चै हुनुहुन्छ ?’ भनेर सोध्दीन । तपाईको २/४ दिनदेखिकोे भाषण अझ भनौँ प्रवचन सुन्दा तपाई निकै आराम अवस्थामा हुनुहुन्छ भन्ने लाग्छ ।

२०७४ साल मंसिरमा निर्वाचन हुने भयो र नेपालको दुई ठुला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिल्ने भयो भन्दा हामी निकै खुशी भएका थियौँ । म जस्तो एउटा साधारण व्यक्तिलाई समेत देशमा अब दुई कम्युनिष्यट पार्टी मिल्ने भए, स्थीर सरकार बनाउने भए भन्ने अपेक्षा थियो ।

विभिन्न राजनीतिक अन्तरविरोध र शक्ति संघर्षको विवादबाट उत्पन्न अस्थिर नेतृत्वको निमुखा हामी जनता दुई कम्युनिष्ट पार्टी मिलेपछि अब स्थिर सरकार बन्ला अनि ५ बर्ष मात्र नभई सयौँ बर्षसम्म सरकारले स्थिरता पाउँछ भन्नेमा ढुक्क थियौँ ।

बाम गठबन्धनको घोषणा पत्र पनि हेर्यौँ । कागजका पानामा यहाँहरुले लेख्नुभएको कार्ययोजना पढ्दा हामीलाई ५ बर्षभित्र मुलुक समृद्ध बन्ला । स्वदेशमै रोजगारीको अवसर सृजना होला । विकास निर्माणका कामले काँचुली नै फेर्ला । अब पक्कै केही होला भन्ने लाग्नु स्वभाविक
थियो । निर्वाचन सम्पन्न भयो, यहाँहरुलाई नै जनताले बहुमत दिए । तपाई प्रधानमन्त्री पनि बन्नुभयो तर कालान्तरमा …. ।

यहाँले नितान्त आश्वासन बाँड्नुभयो । आम नेपाली जनतालाई रेल, पानी जहाज, चाहिएको थिएन । यहाँको प्राथमिकता एक छाक खान नसक्ने गरिब दुखीको परिवारमा कहिल्यै पर्न सकेन । अझ घरघरमा ग्यासको पाइपलाइन विस्तार गर्छु, स्मार्ट सिटी बनाउँछु भन्दै यहाँले गरेको भाषण नेपाली जनताको मन बहलाउने बहाना मात्रै बन्यो ।

तपाईको भाषण सुन्दा यस्तो लाग्छ , आर्थीक बृद्धिदर निकै माथि पुगिसक्यो । सबैले रोजगारी पाइसके, देश समृद्ध भइसक्यो । नेपाल र नेपालीका प्राथमिकता तपाईको नजरमा परेन तपाई त उखान, टुक्का, झटारो र व्यङ्ग्यमा व्यस्त देखिन थाल्नुभयो । गम्भीर भएर जनताको मर्का बुझ्ने प्रयास कहिले गर्नुहुन्छ ? किन उखानले मात्र अरूलाई बारम्बार झटारो हान्नुहुन्छ ?
नागरिकको प्राथमिकताको बोध गर्न नसक्ने व्यक्ति कसरी राष्ट्रवादी नेता वा राजनेता हुनसक्ला ? हैन र प्रधानमन्त्रीज्यू !

जनताले दुई तिहाइ मत दिएर सुम्पिएको अभिभारा बोक्न र निर्वाह गर्न नसक्दा तपाई त बरु क्षणिक मनोरञ्जनमा रम्नुभयो होला तर मुलुकका लागि यो ठुलो क्षति भयो । तपाईले आफ्नो पार्टीभित्रको घर झघडा मिलाउन सक्नुभएन भन्दैमा संविधानलाई नै मिचेर प्रतिनिधिसभा विघटन गर्न मिल्छ र प्रधानमन्त्रीज्यू ? कहाँ छ तपाईले भनेको धारा प्रधानमन्त्रीज्यू !

आफ्नो पार्टीभित्रको अन्तर कलहको कारण नेपाली जनताको विश्वासमाथि घात गर्ने तपाईलाई कुनै अधिकारी छैन । तपाई नै होइन, हामीले विश्वकोे उत्कृष्ठ संविधान बनाएका छौँ भन्ने ? अनि आज त्यहि संविधानमाथि बलात्कार गर्ने ? तपाईको ‘म नै सर्वसक्ता हुँ’, ‘म नै अहम हुँ ’, ‘म नै पृथ्बीनारायण हुँ ’ , ‘म नै जङगबहादुर हुँ’ भन्ने घमण्ड अब हटाइदिनुस् । देश अध्यारोतर्फ जाँदै छ ।

तपाईको उडन्ते भाषणले नै तपाईलाई प्रधानमन्त्री हो भन्न लज्जा बोध गर्दछ । उडन्ते भाषण र हावादारी तर्फ सुनेर कार्यकर्ताले ताली ठोक्लान् तर आम जनताले पुर्पुरो ठोक्नुपर्ने अवस्था आएको छ प्रधानमन्त्रीज्यू ।

जनताको रगत पसिना र बलिदानबाट प्राप्त संविधान मिचेर जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने कार्यलाई वाहवाही गर्ने र उचाल्नेहरु बालुवाटारमा टन्नै होलान् । तर, आँखामा बाँधेका पट्टी खोल्न तपाईले जति अबेर गर्नुहुन्छ, त्यति नै यहाँले त्यसपछि दृश्य देख्नका लागि बढी संघर्ष गर्नुपर्ने हुन्छ ।

तपाईको सनकको भरमा विघटन भएको प्रतिनिधि सभालाई यदी देशमा न्याय मरेको छैन भने सारा जनताको पक्षमा अदालतले पक्कै पनि पुर्नस्थापना गराउने छ अनि मात्र संविधानको रक्षा हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*