हेटौंडा गोल्डकप आगामी माघमा

मकवानपुर । एफ.सी. विजय युथ क्लब हेटौंडाले आगामी माघ महिनामा हेटौंडा गोल्डकपको आयोजना गर्ने भएको छ । क्लबले बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी माघ २२ गतेबाट फागुन १ गतेसम्म पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।
हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा मोफासलका दश टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सुदीप राजबाहकले बताए ।
प्रतियोगितामा आयोजक एफसी विजय युथ, वीरगञ्ज युनाइटेड, सर्लाही– ११, दुधौली स्पोर्टस् क्लब सिन्धुली, हर्दी युवा समाज चितवन,नवजनजागृती युवा क्बल सिमरा, वीरगञ्ज युथ एकेडेमी,सेन्ट्रल कलेज चितवन, एफसी रियाले काठमाडौं सहभागी हुने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलमा म्यान अफ दी म्याच समेत प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।