बागमती प्रदेश सरकारले रोक्यो ९ स्थानीय तहको अनुदान रकम

तु खबर संवाददाता
२०७७ मंसिर ११,बिहीबार १६:२८

मकवानपुर । बागमती प्रदेश सरकारले अनुदान रकमको खर्च पेश नगर्ने नौ वटा स्थानीय तहको अनुदान रकम रोकेको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा उपलब्ध गराएको अनुदान रकमको खर्च विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश नभएपछि अनुदान रोकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

‘चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म पनि अघिल्लो वर्षको अनुदानको विवरण नपठाएपछि मन्त्रालयको निर्देशनअनुसार अनुदान रोकिएको हो,’ प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख हरि उपाध्यायले बताए ।

उनका अनुसार, कार्यालयले यस विषयमा स्थानीय तहलाई जानकारी गराइसकेको र आवश्यक खर्च विवरण प्राप्त भएपछि अनुदान पठाइने बताए ।

अनुदान रोकिएको स्थानीय तहको नाम भने कार्यालयले गोप्य राखेको छ । प्रदेशका एक सय १९ वटा स्थानीय तहमध्ये एक सय १० वटा स्थानीय तहले भने अनुदान रकमको खर्च विवरण पेश गरेका छन् ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ मा विशेष अनुदानतर्फ २९ करोड ७० लाख, समपुरक अनुदानबापत २ अर्ब ६३ करोड १६ लाख, वित्तीय समानीकरणतर्फ १ अर्ब २५ करोड र सशर्त अनुदानतर्फ ३ अर्ब ६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । त्यसमध्ये महानगरपालिकालाई २ करोड ९९ लाख रुपैयाँ, उपमहानगरपालिका २ करोड ८० लाख रुपैयाँ, नगरपालिकालाई एक अर्ब ३ करोड १४ लाख रुपैयाँ र गाउँपालिकालाई एकअर्ब ५४ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*