बागमती प्रदेश सरकारले केही महिनाभित्रै विद्युतीय सवारीसाधन संचालन गर्ने

तु खबर संवाददाता
२०७७ मंसिर ११,बिहीबार १५:१०

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश अन्तरगत पर्ने काठमाडौंलगायत विभिन्न सहरहरुमा केही महिनाभित्रै विद्युतीय सवारीसाधन संचालन गर्न प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको बताएका छन् ।

मन्त्री फुँयालले संचारकर्मीसँग कुराकानी गर्दै बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेशमा यातायात व्यवस्था संचालन गर्ने अध्यादेश २०७७ हिजो स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहहरुमा विद्युतीय सवारी साधन संचालनको लागि चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको उल्लेख गरे ।

उनले तत्काल प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकोले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्ययमबाट नियुक्ती गर्ने प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिए ।

मन्त्री फुँयालले विद्युतीय सवारी साधनलाई तत्कालै संचालन गर्ने प्रक्रियालाई सहजिकरण गर्न नेपाल विद्युत प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसंग बागमती प्रदेश सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे ।

उनले प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ्, चितवन मकवानपुरलगायत अन्य सहरमा विद्युतीय साधन संचालनको लागि चार्जिङ् स्टेशनको लाईन विस्तार गर्न प्रदेश सरकारले नेपाल विद्युत प्राधिकरणसंग सहकार्य भइरहेको र छिट्टै ती सहरहमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे ।

मन्त्री फुँयालले त्रिभुवन राजपथ एवम् नौबिसे मुग्लिन सडकखण्डमा पनि बिद्युत चार्जिङ् स्टेशन निर्माणको लागि विद्युत प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ, कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क संकलन भइरहेको पनि बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*