बागमती प्रदेश सरकारले क्यान्सर रोगका बिरामीलाई अनुदान रकम उपलब्ध गराउने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न प्रकारका क्यान्सर रोगका बिरामीहरुलाई अनुदान रकम उपलब्ध गराउने भएको छ । बुधबार हेटौंडामा बसेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले प्रदेशभित्र रहेका क्यान्सर रोगका बिरामीहरुलाई थप उपचारको लागि रु ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेकोे सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
प्रवक्ता ढुंगेलका अनुसार, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडामा स्थापना गरिएको स्व. मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन संचालन कार्यविधिलाई स्वीकृती प्रदान गरेको छ ।
साथै उक्त बैठकले प्रदेशमा यातायात व्यवस्था अन्तरगत विद्युतीय बस संचालन कार्यविधि २०७७ लाई पनि स्वीकृती प्रदान गरिएको प्रवक्ता ढुंगेलले बताए ।