मकवानपुरगढी दरबार, त्रिखण्डी र ऋषेश्वर मन्दिरमा यसवर्ष लागेन एकादशी मेला

तु खबर संवाददाता
२०७७ मंसिर १०,बुधबार १०:३१
तस्वीरः त्रिखण्डी मन्दिरमा गत वर्ष लागेको मेला

मकवानपुर । पञ्चाङ्ग निर्णायक समितिले यस बर्ष हरिबोधनी एकादशी २ दिन मनाउन सकिने जनाएको छ । स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउन सक्ने समितिले उल्लेख गरेको छ ।

मंसिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि रहनुको साथै दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत रहेको छ ।

हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । त्यस्तै हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

हरिबोधनी एकादशीको दिन विभिन्न विष्णु भगवानको मन्दिरमा मेला लाग्ने गरेको छ । विगतका बर्षहरुमा आजको दिन मन्दिरमा हिन्दु धर्मावलम्वीहरुको घुँइचो नै लाग्ने गरेको भएपनि यस बर्ष भने कोरोना संक्रमणको जोखिम कायमै रहेको कारण मेला पर्व लगायत आयोजना नभएको देखिन्छ ।

हरिबोधनी एकादशीको दिन मकवानपुरका ३ स्थानमा मेला लाग्ने गरेको भएपनि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा भीडभाड हुने गरी मेला पर्व आयोजना नगर्न/नगराउन सूचना जारी गरेको छ ।

संस्कृति परम्परा र सामाजिक महत्वका पर्व,जात्रा तथा मेला सार्वजनिक स्थानमा आयोजना नगरी घर परिवारमै मनाउन प्रशासनले आग्रह गरपछि भीमफेदी गाउँपालिका वडा नम्वर – १ स्थित त्रिखण्डी मन्दिर, मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित गढी दरबार र थाहा नगरपालिका वडा नम्वर –४ स्थित ऋषेश्वर मन्दिरमा मेलाको आयोजना नभएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*