हेटौंडाका सामुदायिक तथा निजी दुबै विद्यालय भोलीदेखि खुल्ने
मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण ८ महिनादेखि बन्द अवस्थामा रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय भोली अर्थात मंसिर ११ गतेदेखि खुल्ने भएको छ ।
हेटौंडामा बसेको नगर शिक्षा समितिको बैठकले भोली बिहिबारबाट विद्यालय खोल्ने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।
उनका अनुसार, नेपाल सरकारले तयार पारेको विद्यालय संचालन ढाँचा अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हो ।
गत चैत्र ११ गतेदेखि कोरोना महामारीका कारण बन्द गरेका हेटौंडाका सामुदायिक तथा निजी विद्यालयहरु सरकारले तोकेअनुसार स्वास्थ्य सापधानीका मापदण्ड पूर्ण रुपमा पालना गरेर विद्यालय खोल्न लागिएको मेयर महतले बताए ।
विद्यार्थी संख्याको आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी विद्यालय संचालन गर्नुपर्ने छ । उक्त नियम पालना भएको वा नभएको भन्ने विषयमा नगर शिक्षा समिति र वडा शिक्षा समितिले अनुगमन गरिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।