म अमेरिकामा नै छु, के मैले अमेरिकाबाटै डिभी लोटरी भर्न सक्छु ?

तु खबर संवाददाता
२०७७ आश्विन २४,शनिबार ०१:०१

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अरुसरह नै फारम भर्न सक्नेछन् । नेपाल डिभी लोटरीका लागि योग्य देशको सुचीमा रहेका कारण अमेरिकामा रहेका तर कागजपत्र नभएका नेपालीहरुले पनि डिभी लोटरी भरेर यो कार्यक्रमबाट फाइदा लिन सक्नेछन् ।
यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति÷पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।
खासगरी अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपालीहरुले डिभी लोटरीबाट फाइदा लिन सक्नेछन् । त्यो बाहेक अन्य गैरआप्रवासी भिसामा रहेका नेपालीहरुले पनि डिभी कार्यक्रमबाट फाइदा लिन सक्नेछन् । तर अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेकाहरुको सन्दर्भमा भने डिभी लोटरी परेमा स्टाटास एड्जस्ट गर्न मुस्किल हुनेछ ।
साथै डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन समेत अमेरिकी सरकारले सुझाव दिएको छ । एउटाभन्दा धेरै आवेदन दिएमा त्यस्ता आवेदकहरु कार्यक्रममा भाग लिनबाटै अयोग्य हुने जनाइएको छ ।
अमेरिकामा रहेका नेपाली टीपीएसबाहक पनि डिभी लोटरीका लागि योग्य हुनसक्नेछन् । तर उनीहरु टीपीएसमा जानु अगाडि अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुदैन । साथै सन् २०२२ को सेप्टेम्बरसम्म वा स्टेटस एड्जस्ट गर्दासम्म टीपीएसमै वा वैध स्टाटसमा रहेको हुनुपर्नेछ ।