नयाँ नियम लागु भएपछि नेपालीलाई विद्यार्थी भिसा २ बर्षको मात्रै, अरु मापदण्ड यस्ता छन्

खसोखास डटकमबाट
२०७७ आश्विन १०,शनिबार ०१:०१

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एफ भिसामा आउने विद्यार्थी, जे भिसामा आउने एक्सचेन्ज भिजिटर र आई भिसामा आउने मिडियाकर्मीहरुको अमेरिका बसाईको अवधि तोक्नका लागि प्रस्ताव गरेको नयाँ नियम आज फेडरल रजिस्टरमा प्रकाशित भएको छ । यो नियमका लागि ३१ दिनको कमेन्ट अवधि राखिएको छ । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्नेछ ।
यो नियम लागु भएपछि नेपाल लगायतका कैयन देशका विद्यार्थीहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि २ बर्षकोमात्र विद्यार्थी भिसा पाउनेछन् भने अन्य देशका विद्यार्थीहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि अधिकतम ४ बर्षसम्मको मात्र विद्यार्थी भिसा पाउनेछन् । त्यस्तै आई अर्थात् मिडिया भिसामा आउनेहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि ८ महिनाकोमात्र भिसा पाउनेछन् भने आवश्यक परेमा ८ महिनाका लागि भिसा लम्बाउन सक्नेछन् ।

विद्यार्थी भिसामा आउनेहरुलाई पोर्ट अफ इन्ट्रीमा २ बर्षको भिसा दिने कुराको निर्धारण २ वटा मुख्य मापदण्डका आधारमा गरिनेछ ।
पहिलो, विद्यार्थी भिसा र एक्सचेन्ज भिजिटर भिसामा कुनै पनि देशका नागरिकको ओभरस्टे दर १० प्रतिशत भन्दा बढी रहेको छ भने उनीहरुलाई पोर्ट अफ इन्ट्रीमा आइसकेपछि २ बर्षकोमात्र विद्यार्थी भिसा दिइनेछ । यसमा एफ, एम र जे भिसामा आएर ओभरस्टे हुनेहरुको प्रतिशत गणना गरिनेछ । यी भिसामा आएर ओभरस्टे हुने नेपालीहरु झण्डै साढे १३ प्रतिशत छन् ।
यसअगाडि विद्यार्थी भिसामा आउनेहरुले ड्युरेशन अफ स्टाटसको छाप प्राप्त गर्दै आएका थिए । तर नयाँ नियम लागु भइसकेपछि मिति तोकिनेछ । भिसाको अवधि थप्नुपरेको खण्डमा भिसाको उल्लंघन भएको ठहर भएमा र भिसाको अवधि थप्ने अनुरोध अस्वीकार भएको खण्डमा अस्वीकार भएकै मितिबाट गैरकानुनी उपस्थीतिको गणना सुरु हुनेछ ।
दोश्रो, यो नियम लागु भएमा आतंकवादलाई सहयोग गरेका राज्यको अमेरिकी सुचीमा रहेका देशका विद्यार्थीहरुलाई पनि २ बर्षकोमात्र विद्यार्थी भिसा दिइने भएको छ । उत्तर कोरिया, इरान, सुडान सिरिया लगायतका मुलुकहरु यो सुचीमा रहेका छन् । अर्थात् यी देशका विद्यार्थीहरुले २ बर्षकोमात्र विद्यार्थी भिसा पाउनेछन् ।
त्यस्तै अमेरिकामा अध्ययनका लागि आउने ती देशका विद्यार्थीहरुले राष्ट्रिय सुरक्षामा कुनै खतरा नपर्याउने कुराबारे कडा छानविन समेत गरिनेछ । यदि अमेरिकी विदेश मन्त्रालयले त्यस्ता देशको सुचीमा फेरवदल गरेको खण्डमा फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेर त्यसबारे जानकारी दिइने जनाइएको छ ।
आज फेडरल रजिस्टरमा प्रकाशित प्रस्तावित नियमको भाषाको अंशअहिलेका लागि आर्थिक बर्ष २०१८ को ओभरस्टे दरलाई आधार मानिने जनाईको छ । २०१८ मा एफ, एम र जे भिसामा आउने नेपालीहरुको ओभरस्टे दर अमेरिकामा ३८ दशमलव ०४ प्रतिशत रहेको थियो । ओभरस्टे भएपछि केही फर्किएका थिए भने अमेरिकाभित्रै रहेर ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१९ मा भने ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १३ दशमलव ४३ प्रतिशत रहेको थियो । कतिपय ओभरस्टे भएपछि फर्केका थिए भने अमेरिकामा नै ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।

संयुक्त राज्य अमेरिकाबाट संचालित khasokhas.com र नेपालबाट संचालित tukhabar.com बीचको सहकार्यका आधारमा साभार गरिएको सामग्री । सम्पादक