कविता – बा

मसान उपासक
२०७७ श्रावण २८,बुधबार १३:००

समयलाई जित्ने मेरा बाबा महान् हुन् ।

हरेक बिहान उठेर आकाश हेरेपछि
हलो जुवा बोकेर ओरालो झर्ने
आशाका मुना रोपेर
घरमा सुख भित्राउने कल्पनामा टहल्लिँदै
उमेरको उकालो चढिरहेको एउटा मान्छे
मेरा बा हुन् ।

मलाई गुराँसले पोतेको भित्तोमा
जीवनको रङ चिनाउने पनि उनै हुन्
बादललाई देखाएर
माथिमाथि उड्न सिकाउने पनि उनै हुन् ।
यता झरिरहेको असिना हेरेर
जीवनको गोरेटो खन्न सिकाउने पनि उनै हुन्
जुनलाई समाएर यतै
सानो थालमा देखाउने पनि उनै हुन् ।

विचारको कखरा पढेर मैले
विचारकै जग बनाउनु छ
उठेर यहीँबाट थाल्नु छ
समानताको नारा लाउन
रोपेर यही माटोमा भाइचारा
खोज्नु छ हाँसिरहेका मानिसहरूको हुल
फर्किँदा घरतिर युवाहरूको जमात
भन्नु छ अब त यही माटोमा सुन फलाऊ ।

बाँझै राखेर यो मातृभृमिलाई
कसरी हाँसिरहन सक्लान् र बाबा ?
मिलेर हामी जीवनको गोरेटो बनाऔँ ।

म छोरो—पुजेर बाबाको पाउ
त्यही क्षितिज पुगूँ
जसलाई तपाईँ सधैँ देखाउनुहुन्छ ।

बकैया –४, मकवानपुर


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*