डेटिङ गएका मकवानपुरगढीका घिमिरे प्रहरी हिरासतमा पुगे

तु खबर संवाददाता
२०७७ श्रावण २४,शनिबार १७:२४

मकवानपुर । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी महिलाहरुलाई अश्लिल भिडियो र अडियो रेकर्ड पठाउने मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ का २५ बर्षीय एक जना युवक अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा छन् ।

उनले फेसबुकमा ‘ विपिन अधिकारी’ नामको आइडी बनाएका छन् । सोही आइडीबाट उनले महिलाहरुलाई अश्लिल भिडियो र अडियो रेकर्ड पठाउने गरेका थिए ।

उनले धेरै महिलाहरुलाई अश्लिल भिडियो पठाएको खुलेको छ ।

भीमफेदी गाउँपालिका वडा नम्वर १ की एक जना जनप्रतिनिधिलाई पनि उनले अश्लिल भिडियो पठाएका थिए । ती महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा करिब एक महिना अघि साइबर क्राइम अन्तरगत आफुलाई अश्लिल भिडियो पठाउनेमाथि कारबाही हुनुपर्ने माग गर्दै उजुरी दर्ता गराएकी थिइन् ।

पीडित महिलाका अनुसार ‘विपिन अधिकारी’ नामको आइडीबाट ती युवकले फे्रन्ड रिक्वेस्ट पठाएका थिए । सो आइडीमा आफुले चिनेका केही मानिसहरु देखेकोले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको पीडित महिला बताउँछिन् ।

‘रिक्वेस्ट एक्सेप्ट गरेको दिनमै अस्लिल भिडियो पठायो, मैले म जनप्रतिनिधि हुँ भनेर परिचय पनि दिएँ, यस्तो गलत क्रियाकलाप नगर्न आग्रह पनि गरेको हुँ तर उसले मेरो कुरा सुनेन र निरन्तर अश्लिल भिडियो तथा अडियो रेकर्ड पठाउने र अपशब्द प्रयोग गरी गाली बेइज्जती गर्ने काम गरिरह्यो । ’ उनले भनिन् ।

सोही आइडीबाट आफुलाई शरीरको मूल्य तोक्दै सामाजिक संजालमा अपमान गरेको उनी बताउँछिन् ।

विपिन अधिकारी नामक आइडीबाट अन्य महिलाहरुलाई पनि अश्लिल भिडियो ती युवकले पठाए । उनको गतिविधि विस्तारै महिलाहरुले गुनासोको रुपमा बाहिर ल्याए ।

युवकले तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकको नाताले बहिनी पर्ने एक जना महिलालाई पनि अश्लिल भिडियो पठाएका थिए ।
पीडित महिलाहरुले तरुण दल मकवानपुरका अध्यक्ष पाठक, नगर अध्यक्ष सुनिल गिरी र मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालासमक्ष आफुहरुलाई अश्लिल भिडियो पठाउने मान्छे पत्ता लगाई न्याय दिलाइदिन भन्दै अनुरोध गरे ।

सामाजिक गतिविधिमा सक्रिय संस्था मकवानपुर जागरण अभियानका अध्यक्ष कोइरालाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडित महिलाहरुको बारेमा सबै विवरण सुनाए ।

त्यसपछि प्रहरीको सहयोगमा नक्कली आइडी बनाएर महिलाहरुलाई अश्लिल भिडियो पठाउने ती युवकलाई पक्राउ गर्न उनीहरु सफल भए ।
पक्राउ परेका व्यक्तिको नाम केदारप्रसाद घिमिरे हो ।

घिमिरे यसरी फन्दामा परे

जब पीडित महिलाले आफुमाथि अन्याय भएको भन्दै जागरण अभियान र तरुण दलसंग सहयोगको याचना गरिन् त्यसपछि अभियान र तरुण दलले घिमिरेलाई पक्राउ गर्न बल्छि थापे । अर्थात फेसबुकमा पहिलेनै घिमिरेको साथी भइसकेकी एक जना महिलालाई गफ गर्न लगाइयो ।

‘प्रहरीले हामी प्रयास गरिरहेका छौँ भनिरहेको थियो यता हामीले पनि एकजना महिलालाई पात्र बनाएर घिमिरेसंग कुराकानी गर्न लगाएका थियौँ’ – अभियानका अध्यक्ष कोइरालाले भने ।

हामीले कुराकानी गर्न लगाएको बहिनीलाई पनि युवकले अश्लिल भिडियो तथा अडियो पठाए – उनले थपे ।
पात्र बनाइएकी महिलाले जसरी पनि घिमिरेलाई भेटनु यो मिसनको उदेश्य थियो । पात्र बनाइएकी महिलाले भेट गर्नका लागि घिमिरेलाई अनुरोध गरिन् । घिमिरेले २३ गते शुक्रबार भेट्ने निधो गरे ।

उनले महिलालाई मनकामना मन्दिर चढ्ने सिँढीमा बोलाए । महिला, पाठक, गिरी, कोइराला र प्रहरीसहितको टोली लिएर भेट्न पुगिन् ।
अन्तत घिमिरे ३ बजे निलो रङको सर्ट लगाएर चिटिक्क परेर आए त्यसपछि टोलीले उनलाई नियन्त्रणमा लियो ।

घिमिरेले महिलाहरुसंग गफ गर्नकै लागि नक्कली फेसबुक आइडी बनाएको स्वीकार गरेका छन् । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीमाथि साइबर क्राइम अन्तरगतको मुद्धा चलाइने मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*