खोज पत्रकारिताका पर्याय गाउँले

तु खबर संवाददाता
२०७७ श्रावण १७,शनिबार १७:१६

पत्रकारिता भनेकै खोजी हो । र, सत्य, तथ्य, निष्पक्ष सूचना दिएर मानिसलाई सुसूचित गर्नु नै पत्रकारको दायित्व हो । कसैले दिएको सूचनाको आधारमा समाचार लेख्नु भनेको उसको विज्ञापन गर्नु मात्र हो ।

सूचना दिनु भनेको समाचारको सङ्केत मात्र हो । सङ्केत पाएपछि बाँकी अरू कुरा पत्रकारले नै खोज्नुपर्छ । पत्रकार आफैँ विषय र घटनाको गहिराइसम्म पुगेर शोधखोज गरेर तथ्य ल्याउनु र त्यसलाई मिडियामार्फत सम्प्रेषण गर्नुचाहिँ समाचार हो ।

कसैले लुकाउन चाहेका वा गोप्य राखेका घटना र विषय हुन्छन् । ती गोप्य विषय जनचसोका हिसाबले महत्त्वपूर्ण पनि हुन्छन् । गोप्य राखिएका गलत कार्यलाई पर्दाफास गरेर गलत कार्य हुनबाट रोक्नु पनि पत्रकारिताको धर्म हो ।

यस्तै धर्म ३ दशकदेखि निभाउँदै आएका छन् शिव गाउँलेले । गाउँले ‘खोज पत्रकार’ भनेर परिचित छन् । उनै गाउँलेको पत्रकारितामा सङ्घर्षको कथा समेटेका छौँ, आजको ‘मेरो सङ्घर्ष’मा ।

जन्मिँदै सङ्घर्ष

ताप्लेजुङ , सुदूर पहाडी जिल्ला । कमजोर आर्थिक पृष्ठभूमि । कृषिमा निर्भर परिवार । थोरै उत्पादनले वर्षभर चलाउनुपर्ने बाध्यता । गरिबीका बक्ररेखा उनका वरिपरि थिए ।

गाउँकै विगतमा पुग्दै उनी भन्छन्, ‘सङ्घर्ष जन्मिँदै लिएर आएको हो ।’

उनी १२ वर्ष पुगेका थिए । त्यसपछि उनको परिवार झापाको गौरादहमा झर्‍यो । गौरादहबाट उनको कर्मको पाइला अगाडि बढ्यो ।

भूमितग नाम ‘शिव गाउँले’

नेपाली पत्रकारितामा शिव गाउँलेलाई नचिन्ने सायदै होलान् । तर, उनको नामबारे धेरैलाई थाहै छैन ।

‘नामको पछाडि गाउँले नै किन रु’, हामीले प्रश्न राख्यौँ ।

२०४४ सालको कुरा हो । निर्दलीय पञ्चायत ढल्न आँटेको थियो । धरानमा महेन्द्र बहुमुखी क्याम्पसमा उनी पढ्दै थिए । पञ्चायतका विरुद्ध विद्यार्थी आन्दोलनले धरान तातेको थियो ।

उनीे साहित्य र लेखपढमा तेज थिए । कलेजको भित्ते पत्रिका निकाल्ने जिम्मा उनलाई थियो । पत्रिका निकाल्दा सम्पादक मण्डल राखिन्थ्यो । त्यसमा सबैले नाम राख्थे तर उनले टाइटल नाम ‘गाउँले’ राखे ।

नाममा गाउँले नै राख्नुको कथा भने अर्कै छ ।

राजकाज मुद्दा

१९ वर्षको जोशिलो जुझारु युवा । परिवर्तनको खम्बा । तत्कालीन मालेको विद्यार्थी सङ्गठनमा उनी आवद्ध थिए । उनी भन्छन्, ‘मालेको विद्यार्थी सङ्गठनमा लाग्नु राजनीतिक उद्देश्य थिएन । पञ्चायतविरुद्ध लाग्न त्यो ‘प्लेटफर्म’ मात्र थियो ।’

त्यतिबेला उनी युवा विद्यार्थीका पहरेदार थिए । आवाजविहीन जनताको आवाज पनि ।

पञ्चायतविरुद्धको मोर्चामा होमिएका गाउँलेलाई तत्कालीन सरकारले पक्राउ गर्‍यो । उनलाई राजकाजको मुद्दा लाग्यो । त्यतिबेला पक्राउ परेपछि कि मारिइन्थ्यो वा निर्मम याताना खेप्नुपथ्र्यो ।

‘हिरासतमा कष्टकर थियो । अहिले जस्तो पक्राउ पर्नेवित्तिकै मम बोकेर जाने चलन थिएन’, हिरासतका ती कहालीलाग्दा दिन सम्झिँदै उनले भने, ‘गोरखापत्रमा बन्दाकोपी र भात पोको पारेर आउँथ्यो । गोरखापत्रमै राखेर खानुपथ्र्यो ।’

२२ दिन हिरासतमा

२०४४ साल फागुन९चैतको महिना । निर्दलीय पञ्चायती सरकारले आन्दोलनलाई दमन गरिरहेको थियो । त्यही क्रममा उनी २२ दिन हिरासतमा बसे ।

तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली थिए । मुद्दाको कागजमा उनले हस्ताक्षर गर्नुपर्ने भयो । मुद्दाको कागजमा लेखिएको रहेछ, ‘पञ्चायतका विरुद्ध बोल्ने शिव गाउँले भन्ने व्यक्तिलाई पक्राउ गरेर ल्याएको छ । उसको भूमिगत नाम शिव गाउँले हो ।’

‘मुद्दा मामिला परेर हिरासत बसेर पाएको नाम भएकाले गाउँले लेख्न थालेको हुँ’, उनी भन्छन्, ‘हिरासतले जन्माएको नाम हो शिव गाउँले । गाउँलेको यात्रा यहीँबाट सुरु भएको हो ।’

वकिलबाट पत्रकार

उनी वकिल बन्न चाहन्थे । उनले २०५० सालमा कानुनमा स्नातक गरे । उनीसँगै हुर्किएका साथी कोही सर्वोच्चको न्यायाधीश, कोही वकिल कोही राज्यको महत्त्वपूर्ण स्थानमा छन् ।

त्यति मात्र होइन, उनी जहाँ हुर्किए, अहिलेको राज्यसत्ताको मियो त्यहीँबाट चल्छ । उनले पनि राजनीति गरेका भए आज कुनै पदमा हुन्थे होला ।

तर, उनलाई पदको मोह कहिल्यै भएन । त्यसैले २०५३ सालपछि उनी कुनै पार्टीसँग आवद्ध छैनन् । उनी पेसाप्रति नै दत्तचित्त भएर लाग्छन् । पत्रकारिता नै उनको जीवन हो ।

‘आफ्नो पेसाप्रति उत्साहित छु । पद भनेको अस्थायी हो । क्षणिक हो । पहिचान दिने भनेको कामले हो । आफ्नो काममा खुसी छु । निराश हुनुपर्ने स्थिति छैन’, उनी भन्छन् ।

२ वर्ष ल प्राक्टिस

उनले २ वर्ष ल प्राक्टिस गरे । तर, उनको मन, मस्तिष्क भने लेख्न र पढ्नमै जान्थ्यो । कुनै पनि कुरा लिपिवद्ध गरेर लेख्न जानिसकेका थिए । उनको मोह पत्रकारितातिर नै ढल्कियो ।

उनले २०४७ सालमा झापाको ‘स्वाधीन संवाद’ पत्रिकाको काठमाडौं सम्वाददाता भएर काम गर्न थाले । उनको पत्रकारिताको पहिलो खुड्किलो नै ‘स्वाधीन संवाद’ बन्यो ।

त्यतिबेला राष्ट्रियस्तरमा चलेका साप्ताहिक पत्रिकाहरू थिए । देशान्तर, विमर्श, छलफल, दृष्टि, जनआस्थाको चर्चा थियो । ती पनि ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ अर्थात् कांग्रेस र कम्युनिस्ट विचारमा विभाजित थिए ।

‘यी पत्रिकाले राजनीतिक दलका विचारलाई प्रमोट गर्थे । साँघुरा थिए । दलको विचारधारामा सीमित थिए । अहिले जस्तो समाचार र विचारको दायरा फराकिलो थिएन’, उनी त्यतिबेलाको पत्रकारिताको स्मरण गर्छन् ।

सरकारी तवरबाट गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समिति मात्र थिए । उनले पत्रकारिता सुरु गर्दा व्यावसायिक रूपमा निजी क्षेत्रको ब्रोड सिट दैनिकका रूपमा कान्तिपुर भर्खर जन्मिएको थियो । कान्तिपुर पनि धिमा गतिमा थियो । वामे सर्दै थियो । आक्रामक भएको थिएन । तर, त्यो कालखण्ड भने नेपालमा सूचना र चेतनाको प्रवाहको क्षण थियो ।

दृष्टिबाट बदलिएको दृष्टि

उनी बहुदल आएपछि पत्रकारितामा कलम चलाउन थाले । संविधानले प्रेसलाई संवैधानिक सुनिश्चितता गरेको थियो । तर, दलहरूबीच चर्को विभाजनको समय थियो । राप्रपा सानो शक्तिमा खुम्चिएको थियो । अर्को जनमोर्चा थियो । एउटा हाँगो तत्कालीन माओवादी भूमिगत भयो ।

अखबार पनि विभाजित भए । कोही कांग्रेस, कोही एमालेको कित्तामा उभिए । दृष्टिबाट फुटेर गएको टिमले जनआस्था सुरु गर्‍यो । त्यसपछि दृष्टिका लागि मान्छे आवश्यक पर्‍यो ।

उनी दृष्टिको नजरमा परे । दृष्टिबाट उनको पत्रकारिताको दृष्टि बदलियो । दृष्टिका लागि पहिलो पेजका लागि अन्तर्वार्ता लिन्थे र समाचार लेख्थे शिव । उनले २ वर्ष दृष्टिमा कलम चलाए ।

‘त्यसपछि ?’

व्यावसायिक रूपमा आएको कान्तिपुरको टिम फुट्यो । फुटेको टिमले श्री सगरमाथा दैनिक पत्रिका सुरु गर्‍यो । तीर्थ कोइरालालगायतको टिम थियो । गउँले पनि दृष्टि छाडेर श्री सगरमाथामा आए । श्री सगरमाथाको आयु धेरै भएन ।

टिमको आन्तरिक मतभेद र विविध स्वार्थका कारण राम्ररी सञ्चालन भइरहेको श्री सगरमाथाको यात्रामा पूर्णविराम लाग्यो ।

‘अनि ?’

एउटा अवसर गुम्यो भनेर चिन्ता लिनै पर्दैन । त्योभन्दा राम्रो अवसर प्रतीक्षारत हुन्छ भन्ने कुरा शिवको जीवनमा पनि लागू भयो । आफूसँग क्षमता छ भने कामले नै खोज्दै आउँछ । एकपछि अर्को अवसर उनले पाउँदै गए । श्री सगरमाथाको यात्रामा ब्रेक लागे पनि गाउँलेको पत्रकारिता यात्रामा ब्रेक लागेन ।

उनको कलम रोकिएन ।

फेरि सुरु भयो सात दिने पत्रिका । कसमस विश्वकर्मा, अजयभद्र खनाल र उनी भएर सात दिने पत्रिका सुरु गरे । ‘सात दिने पत्रिका अहिले पनि धेरैले सम्झन्छन्’, उनी भन्छन्, ‘काम गर्दा नयाँनयाँ कुरा सिक्दै गएँ ।’

रिपोर्टिङ गर्दाका सङ्घर्ष

सफल हुन सङ्घर्ष कुन क्षेत्रमा गर्नुपर्दैन र १ सङ्घर्षले नै मान्छे मजबुत बन्दै जाने हो । सङ्घर्षले खारिएका गाउँले । तिनताक आफ्नै अनुभवबाट पत्रकारिता गर्नुपर्ने अवस्था थियो । नेताका भाषण र गतिविधिका समाचार धेरै बन्थे ।

‘समाचारको स्रोतसम्म पुग्न कठिन थियो । फोटो छाप्न त गाह्रो थियो । छापिएको पनि मान्छे हो कि होइन, चिन्न गाह्रो थियो । अदालत, सेना र दरबारका समाचार लेख्न डराउनुपथ्र्यो’, उनी भन्छन्, ‘यिनलाई नेपाली प्रेसका हाउगुजी पनि भनिन्थ्यो ।’

हिमालको यात्रा

२०५६ साल । नयाँ वर्षको सुरुवात । नयाँ उमङ्ग । नयाँ पालुवा भएर उनी हिमाल खबरपत्रिका छिरे । हिमालबाट नै उनी पत्रकारिताको उचाइमा पुगे ।

‘खोज पत्रकारिता के हो रु जान्ने, बुझ्ने र लेख्ने अवसर पाएँ । खोज पत्रकारिताबारे सिकेको, अनुभव गरेको हिमाल र खोज पत्रकारिता केन्द्रबाट हो’, यी दुई संस्थाप्रति शिव कृतज्ञ हुन्छन् ।

गाउँलेका चर्चित स्टोरी

उनले लेखेका स्टोरी अहिले पनि चर्चित छन् । २०५३ सालमा बाँकेको नेपालगञ्जमा हिन्दु९मुस्लिम दंगा भएको घटना उनको स्मृतिमा ताजै छ । तरकारी बेच्न निस्किएकी हिन्दु महिलालाई मुस्लिम युवाले दुव्र्यवहार गरेको विषयलाई लिएर नेपालगञ्जमा आगो बलेको थियो । ७९८ दिन कफ्र्यू नै लाग्यो । त्यस घटनाको रिपोर्टिङका लागि उनी नेपालगञ्ज हानिए ।

१२ दिन त्यहीँ बसे । उनले २ दिन लगाएर हिन्दु र मुस्लिमबीच विवाह भएको परिवार छ कि छैन भनेर खोजे । दंगाको रापमा जलिरहेको नेपालगञ्मा मुन्नी चौधरी र परवेज अलीबीच विवाह भएको उनले पत्ता लगाए ।

‘दंगा सुरु भयो कि परवेज र मुन्नी चिन्तित हुन्थे । त्यहाँ भिड्ने पनि उनीहरूकै आफन्त हुन्थे’, हिमालमा छापिएको त्यो कभर स्टोरी देखाउँदै उनले भने, ‘यो नै खोज पत्रकारिता केन्द्रका लागि मैले गरेको पहिलो स्टोरी हो ।’

मेडिकल काउन्सिलका अध्यक्ष निलम्बनमा

नेपालमा डाक्टरको भेषमा नक्कली डाक्टरले अपराध गरेको तथ्य उनले फेला पारे । भारतीय नागरिकले नेपाली नक्कली नागरिकता बनाएर मेडिकल काउन्सिलबाट अनुमति लिएका थिए ।

‘करङको हड्डी झिकेर औँला बनाइदिन्छु’ भन्दै मान्छेलाई सिउँदै गरेको नक्कली डाक्टरको भिडियो उनले पाए । त्यो स्टोरी उनले हिमालका लागि लेखेका थिए ।

‘नक्कली डाक्टर भारतीय नागरिक थिए तर नेपालको नक्कली नागरिकता बनाएका थिए । नागरिकताको मुद्दामा उनी थुनामा परे’, गाउँले भन्छन् ।

ती नक्कली डाक्टरले मेडिकल काउन्सिलबाट अनुमति लिएको भएकाले तत्कालीन अध्यक्ष डा। भोजराज जोशी निलम्बनमा परेका थिए । ‘नक्कली डाक्टरलाई काउन्सिलले अनुमति दिएको थियो । त्यसैले तत्कालीन अध्यक्ष डा। जोशी निलम्बनमा परेका हुन्’, उनले भने ।

राजस्वका नक्कली स्टिकर

नेपालको मुद्रण विभागको प्रेसमा राजस्वका नक्कली स्टिकर छापिएको समाचार अहिले पनि चर्चामा छ । विभागको प्रेसबाट नै नक्कली स्टिकर छापेर राजश्व छली हुने गरेको प्रमाण उनले पाए ।

नक्कली स्टिकरबाट श्री डिस्टिलरीले राजस्व छली गरेको उनले पर्दाफास गरे । ‘समाचारपछि झण्डै ८५ करोड रुपैयाँको मुद्दा अख्तियारले हालेको थियो’, उनले भने, ‘त्यसपछि श्री डिस्टिस्लरीको रक्सी उत्पादन नै बन्द भयो ।’

यो स्टोरी पनि उनले हिमालका लागि लेखेका थिए ।

अख्तियारको अडियो काण्ड

अर्को अदालतको अडियो काण्ड छ, जो उनैले पर्दाफास गरेका थिए । न्यायालयमा कसरी भ्रष्टाचार हुन्छ रु पीडितले किन न्याय पाउँदैनन् रु यो समाचारले प्रष्ट पार्छ ।

अदालतका कर्मचारीले घूस मागिरहेको अडियो अदालतभित्रै छ भन्ने उनले सूचना पाए ।

‘राजेश श्रेष्ठको जग्गासम्बन्धी मुद्दा थियो । कर्मचारीले मिलाइदिन्छु भन्दै उनीसँग घूस मागेको रहेछ । घुस दिएर पनि मुद्दा जिताउने ग्यारेन्टी नभएपछि ती व्यक्तिले हरेक कुरा टेलिफोनमा रेकर्ड गरेका रहेछन्’, गाउँले भन्छन्, ‘रेकर्ड गरेको कुरा उनले प्रधानन्यायाधीशलाई दिए । तर, प्रधानन्यायाधीशले त्यो रेकर्ड आफ्नो घर्रामा राखे । कारबाही गरेनन् । स्रोतमार्फत त्यो अडियो मैले पाएको हुँ । त्यो अडियो अहिले पनि मसँग सुरक्षित छ ।’

नेपाललिक्स प्रकरण

नेपालमा गैरकानुनी ढंगले सम्पत्ति आर्जन गर्ने र विभिन्न बाटोबाट विदेश पुर्‍याएर वैदेशिक लगानी भनेर फेरि नेपाल भित्र्याउने गरेको तथ्यसहतिको रिपोर्ट उनले सार्वजनिक गरे ।

नेपालमा व्यवसाय गर्ने, गैरकानुनी आर्जन गरेर विदेश पुर्‍याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ, अजेयराज सुमार्गीलगायतका व्यक्ति थिए ।

नेपालमा माओवादी द्वन्द्व सुरु भएदेखि नै स्विस बैंकमा नेपालीले ५२ अर्ब रुपैयाँभन्दा बढी जम्मा गरेका तथ्य उनले बाहिर ल्याएका थिए । स्विस बैंक पुर्‍याइएको ‘शङ्कास्पद धन’को नेपाल ‘कनेक्सन’को जालो पर्दाफास भएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त रिपोर्टले धेरैको मथिङ्गल हल्लिएको थियो ।

पत्रकारका लागि खुसीको कुरा के हो रु उत्तर९ राम्रो स्टोरी लेख्नु । जनतालाई सुसूचित गर्नु । उनले लेखेका एकपछि अर्को स्टोरीले उनलाई पनि खुसी दिन्थे ।

राम्रो काम गरेपछि सबैतिरबाट प्रशंसा पनि आउँथ्यो सँगै चुनौती पनि । भन्छन्, ‘सप्रमाण लेखेपछि थ्रेट पनि कम आउँछ । सत्य पत्रकारको सुरक्षा कवच हो ।’

हिमालको सम्पादक

शिवले जति स्टोरी लेख्दै गए, चुनौती पनि उत्तिकै थपिँदै गयो । तर, चुनौतीबाट कहिल्यै हारेनन् । हिमाल चढ्नेहरूको गन्तव्य चुचुरो नै हुन्छ । उनको गन्तव्य पनि चुचुरोतर्फ नै लम्कियो । अर्थात् हिमालको सम्पादक । २०६४ सालमा उनी हिमाल खबरपत्रिकाका सम्पादक भए ।

छोटो समयमा नै हिमालको यात्रामा उनले विश्राम लिनुपर्ने भयो ।

‘कारण ?’

पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ । देशभरका पत्रकारहरूको अभिभावक संस्था । उनी हिमालको नेतृत्वबाट देशभरका पत्रकारको नेतृत्व गर्न आउने निर्णय लिए । उनी हिमालबाट बिदाइ भए ।

महासंघको अध्यक्ष

उनी २०६७ सालमा नेपाल पत्रकार महासंघको अध्यक्ष बने । ३ वर्ष पत्रकारको हक हितका लागि स्वयंसेवक भएर उभिए उनी । महासंघको घर थिएन । उनकै पहलमा घर बन्यो । ५ सयभन्दा बढी पत्रकारले तालिम लिए ।

उनले आफ्नो कार्यकालमा नेपालको पत्रकारितामा एउटा इँट्टा थप्ने काम गरेर महासंघबाट बिदाइ भए । तर, महासंघको सदस्यतामाथि हुने राजनीतिप्रति भने उनी चिन्तित छन् ।

आजको पत्रकारिता

उनले पत्रकारिता सुरु गर्दा साँघुरो घेरामा थियो । आजको पत्रकारिता फरकिलो छ तर उम्दा छैन ।

‘पत्रकार आफैँले खोजेर होइन, पत्रकारलाई खोज्दै आएर कसैले दिएको सूचनालाई अहिले समाचार बनाइरहेका छौँ । त्यो समाचार होइन, विज्ञापन हो’, उनी भन्छन्, ‘जस्तै : कुनै पार्टीको बैठक छ । त्यो पार्टीको बैठकलाई समाचार बनाउनु पार्टीको विज्ञापन गर्नु मात्र हो । समाचार खोज्न त पत्रकार आफैँ निस्किनुपर्छ ।’

सत्ता र शक्तिमा बसेका र तिनका बिचौलियाले स्रोत लुकाएर सूचना दिन्छन् । ‘त्यो पनि समाचारभन्दा बढी विज्ञापन हो । स्रोत लुकाएर सूचना दिनु समाचारको सङ्केत त हो तर बाँकी समाचार पत्रकारले खोज्नुपर्छ’, उनी समाचार खोज्न पत्रकारलाई उत्प्रेरित गर्छन् ।

रिपोर्टरले गर्ने ३ गल्ती

३ दशकको पत्रकारिताको इतिहास बनाएका गाउँलेले रिपोर्टरका ३ वटा गल्ती औँल्याएका छन् । ‘पत्रकार समाचारको खानीसम्म पुग्छ तर समाचारबाहेकका तपशीलका कुरा मात्र ल्याउँछ’, उनी भन्छन् ।

उनको अनुभवमा रिपोर्टरको अर्को समस्या गम्भीरतापूर्वक नसुन्नु हो । ‘समाचारका विभिन्न पक्षसँग कुरा गर्ने तर गम्भीरतापूर्वक नसुन्नु र अलिअलि थाहा पाएपछि धेरै बुझेको ठान्नु रिपोर्टरको गल्ती हो’, उनी भन्छन् ।

मसिनो गरी टिपोट नगर्ने रिपोर्टरको समस्या रहेको उनको बुझाइ छ । ‘टिपोट नगर्दा भनेको कुरा छुट्छ । भन्न खोजेको एउटा हुन्छ, समाचार अर्कै बन्छ । फ्याक्ट के हो, त्यो आउँदैन’, शिवको भनाइ छ ।

‘तपाईंले गरेको गल्ती नि ?

गल्तीले नै मान्छेलाई सिकाउने हो । अक्सर गल्ती नगर्ने मान्छे हुँदैन । गल्तीबाट पाठ सिकेर नै अगाडि बढ्ने हो ।

उनले गरेको एउटा गल्तीले उनलाई सधैँ घोचिरहन्छ । हिजो जुन समाचार लेखे, आज आएर उनलाई त्यो समाचार नै लाग्दैन ।

दृष्टिमा काम गर्दाको घटना हो । एक जना महिलाबारे समाचार थियो । ती महिलाले समाचार गलत हो भनिन् र खण्डन पनि छापियो । खण्डन छापिएपछि ती महिलाले उनलाई भनिन्, ‘खण्डन छापेर तपाईं त जोगिनुभयो तर मेरो जीवनमा ठूलो असर हुनेछ ।’

ती महिलाको त्यो भनाइले उनी अवाक् भए ।

फ्याक्ट चेक कम

आफूले लेखेको समाचार रिपोर्टरले दोहोर्‍याएर पढ्नुपर्ने उनको मान्यता छ । ‘दोहोर्‍याएर पढे मात्र गल्ती कहाँ छ, पत्ता लाग्छ । तर, रिपोर्टरले नपढ्ने, डेस्कले परीक्षण नगर्ने समस्याबाट ग्रस्त छ नेपाली पत्रकारिता’, शिव भन्छन् ।

‘जस्तै ः समाचारमा गत आर्थिक वर्ष भनेको हुन्छ । कुन आर्थिक वर्ष हो रु लेखेको हुँदैन । ठाउँको कुन गाउँ हो, खुलाइएको हुँदैन’, उनी भन्छन्, ‘यस्तो कुरा गलत तथा आंशिक सत्य हुन्छ । गोलमोटल गरेर समाचार लेखिएको हुन्छ । गल्ती सच्याउने वा क्षमा माग्ने चलन हामीकहाँ छैन ।’

खोज पत्रकारिताका समस्या

समाचार लेख्दा गाली बेइज्जती गर्‍यो भनेर मुद्दा पर्ने र ठूलो अंकमा क्षतिपूर्ति माग गर्ने भएकाले खोज पत्रकारिता गर्न चुनौती रहेको उनी बताउँछन् ।

‘यस्ता मुद्दामा अदालतले नियत हेर्छ । जनतालाई सुसूचित गर्न प्रमाणसहित लेखेको छ भने अदालतले पत्रकारकै पक्षमा फैसला गर्छ’, उनी भन्छन् ।

पछिल्ला मिडिया कानुनले पत्रकारितालाई निरुत्साहित गर्न खोजेको भन्दै उनी रोष प्रकट गर्छन् ।

‘संसदले पारित गरेको गोपनीयताको हक, सूचना प्रविधिसम्बन्धी कानुनले मिडियालाई सङ्कुचित बनाउँछन्’, उनी भन्छन्, ‘नागरिकताको मिति सच्याएर पदमा बस्न खोज्दा, पासवर्ड बेच्दा सार्वजनिक गर्ने कि नगर्ने रु पत्रकारलाई ५ वर्ष कैद र १० लाखसम्मको जरिमाना छ । यसले मिडियालाई खुम्च्याउँछ’, उनी भन्छन् ।

कोभिड – १९ ले शासकको अधिकार एकीकृत

कोरोना भाइरस कोभिड९ १९ ले संसारभरका शसकलाई अधिकार एकीकृत गर्ने मौका दिएको उनी बताउँछन् । ‘तिमी नबोल । यो प्रश्न गर्ने समय होइन भनेर शासकले रजाइँ गरेका छन् । प्रश्न गर्नबाट बञ्चित गरिएको छ । प्रेसको मुख थुन्ने उपयुक्त वहाना भएको छ यो । रिपोर्टर स्रोतसम्म पुग्न सक्दैन । परीक्षण गर्न जान गाह्रो छ । योबाट बाहिर निस्किएर काम गर्नुपर्छ’, उनी भन्छन् ।

सुसूचित गर्ने धर्मबाट पछि हट्दिनँ

गाउँलेसँग ठूलो महत्त्वाकाङ्क्षा छैन । उनी भन्छन्, ‘स्वाधीन संवादबाट सुरु भएको यात्रा दृष्टि हुँदै हिमालको सम्पादक, महासंघको अध्यक्ष, अहिले खोज पत्रकारिता केन्द्रको सम्पादक र खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल आईसीआईजेको नेपाल सदस्य छु । यही नै हो कमाएको सम्पत्ति ।’

अन्त्यमा कुराको बिट मार्दै उनले भने, ‘पछिल्लो ३० वर्षदेखि नेपालका शासकहरूले जनताको हितमा गरेको भन्दै मुलुकविरुद्ध गरेको लुटपाट र राजनीतिक परिवर्तनको एक साक्षी हुँ । शासकले गरेको बदमासी र जनतालाई सुसूचित गर्ने धर्मबाट पछि हट्दिनँ ।’

 

यो समाचार शिलापत्र डटकममा दिनेस गौतमले समाचार लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*