यसरी मनाइयो नवोदयले २०७ औं भानु जयन्ती

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १८:१५

मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ भानु जयन्तीको अवसरमा भानुभक्त विशेष कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।

नवोदय साहित्यिक बगैँचा बाल क्लवले आयोजनामा भर्चुअलबाट भएको कार्यक्रममा नवोदय विद्यालयका विद्यार्थी हेटौंडाले सुरुमा भानुभक्तको चपला अबला बोलको कविता रेकर्ड गरेर सुनाएका थिए । त्यसपछि उनीहरुले बनाएका भानुको वृत्त चित्र प्रस्तुत गरेका थिए । उक्त चित्रमा भानुभक्तको बाल्यकाल, कृति, योगदान, आदिकवि कसरी भए लगायतका विषयवस्तु समावेश गरिएको थियो ।

नवोदय साहित्यिक बगैँचा बाल क्लवका अध्यक्ष इलिशा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टरद्वय हेमचन्द्र नेपाल र रामप्रसाद ज्ञवाली तथा समालोचक युग पाठकले आदिकवि भानुभक्तको अहिलेको मूल्याङ्कनको कसरी भइरहेको छ भन्ने विषयमा छलफल भएको थियो ।

‘तथ्य एउटा हुन्छ भने रुप अनेक हुन्छ ।’ प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले भने – ‘मानिसले हेर्ने दृष्टिकोण, समाजप्रतिको धारणाको आधारमा मूल्याङ्कन गरिन्छ । अतिग्रह, पूर्वाग्रह तथा सापेक्षिकको आधारमा मूल्याङ्कन हेरिन्छ । मूल्याङ्कन र पुर्नमूल्याङ्कनको आधारमा निर्धारण गरिन्छ ।’ यसैगरी उनले विद्यार्थीको प्रतिभाले आफू प्रभावित भएको बताए ।

छलफल कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले गर्नुभएको योगदानको बारेमा छलफल भएको थियो । समालोचक युग पाठकले आदिकवि भानुभक्तको विषयलाई लिएर कसरी पाठ सिकाउने या बुझाउने त्यो विषय नै महत्वपूर्ण रहेको औँल्याएका थिए ।

कार्यक्रममा नवोदय शिशु सदन विद्यालयकी छात्रा राधाकुमारी महतो, मकवानपुर बाल विद्या सदन स्मिति गिरि, ब्रह्मदिक एकेडेमीका कृतिका लौडारी, जिएस निकेतनका निश्चलराज गौतम, जनप्रिय माविका अजय जिम्वा, चन्द्रोदय माविका स्नेहा रिमाल बीच ‘साहित्यमा विद्यार्थीको भूमिका’ शीर्षकमा प्यानल डिस्कसन पनि भएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधि ९ वटा रचना वाचनसमेत भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*