हेटौँडा क्याम्पसको ११ औँ क्याम्पस सभा सम्पन्न

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १८:११

मकवानपुर । हेटौँडा क्याम्पसको ११ औँ क्याम्पस सभा आज सम्पन्न भएको छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा दिएको योगदानप्रति प्रशंसा व्यक्त गरे ।

प्रदेश सरकार सामुदायिक क्याम्पसहरुमध्ये भौतिक र शैक्षिक गुणस्तरमा अब्बल क्याम्पसलाई प्रदेश विश्वविद्यालय र अन्य योग्य क्याम्पसलाई प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने योजनामा रहेको मन्त्री दुलालले बताए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक समितिका अध्यक्ष एवम् प्रदेश सभा सदस्य मुनु सिग्देलले क्याम्पसको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

सभाले कोषाध्यक्ष कमानसिंह पाख्रिनले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आय व्यय विवरण, छात्रवृत्ति उपसमितिका संयोजक प्रदीप कोइरालाले प्रस्तुत गरेको छात्रवृत्ति उपसमितिको प्रतिवेदन, सेवा समितिका संयोजक बद्रीनाथ शर्माले प्रस्तुत गर्नुभएको सेवा समितिको प्रतिवेदन, शैक्षिक गुणस्तर अभिवृद्धि उपसमितिका संयोजक पुरणबहादुर जोशीले प्रस्तुत गरेको शैक्षिक प्रतिवेदन तथा खरिद तथा निर्माण उपसमितिका संयोजक श्यामसुन्दर ढकालले प्रस्तुत गरेको खरिद तथा निर्माण उपसमितिको प्रतिवेदन छलफलसहित पास गरेको छ ।

कार्यक्रममा प्रदेश सभाका सांसद प्रेमबहादुर पुलामीलगायत सहभागि थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*