बागमती प्रदेशमा सोमवार थपिए १३ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १७:३२

काठमाडौं । बागमती प्रदेशमा सोमवार थप १३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति फेला परेका छन् ।

सोमबार प्रदेशको विभिन्न ७ जिल्लामा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

बागमती प्रदेशमा सोमवार काठमाडौंका ३ जना, ललितपुरका ५ जना, भक्तपुरका एक जना, काभ्रेपलान्चोकका एक जना, मकवानपुरका एक जना, सिन्धुलीका एक जना र दोलखाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, नयाँ संक्रमितहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ५ जना, काभ्रेका एक जना र दोलखाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, धुलिखेल अस्पताल धुलिखेलामा गरिएको परीक्षणमा सिन्धुलीका एक जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक जना र किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेशमा १ हजार ९४१ जना क्वारेन्टाइन र ४५८ जना आइसोलेशनमा बस्दै आएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या १६ हजार ९४५ जना पुगेको छ । जसमध्ये १० हजार २९४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् भने ३८ जनाको दुःखद् निधन भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*