अनलाइनमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका छाड्नुपर्ने वा अरु उपाय रोज्नुपर्ने

तु खबर संवाददाता
२०७७ असार २४,बुधबार ०१:००

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आज सुचना जारी गरेर अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा लिएमा उनीहरु देशनिकालाको जोखिममा पर्ने वा उनीहरुले अमेरिका छाड्नुपर्ने अवस्था आउने जनाएको छ ।

त्यस्तै पूर्णरुपमा अनलाइन कक्षाका लागि आवद्ध गरिएका विद्यार्थीहरुले अमेरिकाको विदेशमन्त्रालयबाट विद्यार्थी भिसा नपाउने समेत जनाइएको छ । त्यसका अतिरिक्त अनलाइन कक्षामात्रै लिइरहेका विद्यार्थीहरुसँग भिसा भएपनि उनीहरुलाई विमानस्थलबाट सीबीपीले अमेरिका प्रवेशमा अनुमति नदिने जनाईको छ ।

कोरोनाको महामारीका कारण कैयन अन्तर्राष्ट्रिय विद्यार्थीहरु विदेशमा नै अड्केको अवस्थामा कतिपय विश्वविद्यालयहरुले अमेरिकामा अनलाइनक कक्षा संचालन गरिरहेका छन् । तर यो कदमपछि अब अन्तर्राष्ट्रिय विद्यार्थीहरुले आफ्नो भिसा स्टाटस कायम गर्न प्रत्यक्ष कलेजमा नै गएर अध्ययन गर्नुपर्ने भएको छ ।

आइसको सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।
अमेरिकामा विद्यार्थीहरुका लागि भिसा प्रावधान कडा रहँदै आएको छ । अनलाइनमात्र कक्षा लिनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अमेरिकामा आउन निषेध गरिदै आएको छ । तर कोरोनाको महामारीका कारण अहिले अस्थायी रुपमा अनलाइन कक्षाहरु संचालन गरिएको हो ।
कतिपय विश्वविद्यालयहरुले अनलाइन र इन पर्सन कक्षाका सन्दर्भमा हाइब्रिड मोडलको प्रयोग गर्दै आएका छन् । जस अन्तरगत एउटाभन्दा धेरै कक्षा वा तीन क्रेडिट आवर अनलाइनमार्फत लिन अनुमति दिइएको छ । त्यस्तो मोडल अपनाइरहेका विश्वविद्यालयहरुले स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राममा पूरै कक्षाहरु अनलाइन नभएको प्रमाणित गर्नुपर्ने प्रावधान छ ।

अमेरिकामा विद्यार्थी भिसामा रहेकाहरुलाई पूरै कोर्श अनलाइनबाट लिन स्वीकृति नभएकाले यदि त्यस्तो अवस्था भएमा अमेरिका छाड्नुपर्ने वा आफ्नो गैरआप्रवासी भिसा कायम गर्न वैकल्पिक उपाय अपनाउनुपर्ने जनाइएको छ । जसअन्तरगत मेडिकल लिभ लिन वा कोर्स लोड घटाउन सकिनेछ ।

यसबारेका अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रकृया र उत्तरदायीत्वबारे फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्ने भएको छ ।

यसैबीच हार्भर्ड र प्रिन्स्टन युनिभर्सिटीहरुले आफ्नो विद्यार्थीहरुलाई आगामी सेमेस्टरमा क्याम्पसमा फिर्ता ल्याउने योजनाको घोषणा गरेका छन् ।