आज अमेरिकामा स्वतन्त्रता दिवस, नागरिकता वितरण सप्ताह जारी, नागरिकता लिने नेपाली ५० हजार

तु खबर संवाददाता
२०७७ असार २१,आईतवार ०१:०१

जुलाई ४ अर्थात् अमेरिकाको २४४ औं जन्मदिन । आज अमेरिकाभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने कार्यक्रम समेत गर्दै आएको छ । जुलाई ४ मा कँग्रेसले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेदेखि अमेरिकाले यसलाई आफ्नो जन्मदिनका रुपमा मनाउदै आएको छ ।

यसपटक कोरोनाको महामारीका कारण जुलाई ४ को उत्सव विगतका वर्षको तुलनामा भने फरक छ । फायरवर्कसका कार्यक्रमहरु सानासाना रुपमा गरिदै छ भने सामाजिक दुरी कायम गरेर अन्य समारोहहरु समेत भइरहेका छन् ।

अमेरिकी सरकारको युएससीआईएसले यो बर्षपनि स्वतन्त्रता दिवशका अवशरमा नागरिकता वितरण समारोहहरु गरिरहेको छ । साप्ताहिक रुपमा गरिने समारोहमा कतिजनालाई नागरिकता वितरण गरिनेछ भन्नेबारे केही बताइएको छैन । तर जुनमहिनामा सुचारु भएको नागरिकता वितरणमा एकमहिनामा झण्डै ६४ हजार ५ सयलाई नागरिकता वितरण गरिसकिएको छ ।

कोरोनाको महामारीमा युएससीआईएसले नागरिकता वितरण समारोहहरुलाई प्राथमिकतामा राखेको छ । स्वतन्त्रता दिवशको सप्ताहमा देशभर नागरिकता वितरण समारोहहरु आयोजना गरिएका छन्, जसमा कैयन नेपालीहरुले समेत अमेरिकी नागरिकता प्राप्त गरिरहेका छन् ।
अमेरिकामा ग्रिनकार्डवाहक नेपाली डेढलाख
अहिलेसम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या डेढलाखको हाराहारीमा रहेको छ ।
सन् १९८९ देखि सन् २०१५ सम्म ९६८६४ जना नेपालीहरुले अमेरिकी ग्रिनकार्ड पाए । सन् २०१६ मा १२८५१ र सन् २०१७ मा ११ हजार ६ सय १० जना नेपालीले अमेरिकाका ग्रिनकार्ड पाए ।
सन् २०१८ मा ११ हजार ९ सय ५३ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाए । भने सन् २०१९ मा पनि अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ११ हजार बढी छ । सन् २०२० को अहिलेसम्म ग्रिनकार्ड पाएका नेपालीहरुको संख्या जोड्दा अहिलेसम्म झण्डै डेढलाख नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाइसकेका छन् ।

नागरिकता लिनेहरु ५० हजार
ग्रिनकार्ड लिएकाहरुमध्येबाट अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५२५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् । सन् २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ ।