बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ४०७ पुग्यो

तु खबर संवाददाता
२०७७ असार १६,मंगलवार १०:३९

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ सय ७ जना पुगेको छ । सोमबार विभिन्न जिल्लामा गरी थप १६ जना संक्रमित थपिएसँगै सक्रमितको संख्या ४ सय ७ पुगेको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सोमबार ललितपुर, काभ्रे, भक्तपुर र मकवानपुर जिल्लामा एक/एक जना, धादिङमा २ जना, चितवनमा ४ जना र काठमाडौंमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

प्रदेशका कोरोना संक्रमितमध्ये १ सय १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको दुःखद् निधन भएको मन्त्रालयका प्रवक्ता डा. पुरोषत्तम राज सेढाइले जानकारी दिए ।

त्यस्तै, बागमती प्रदेशमा ११ हजार १ सय ५० वटा क्वारेन्टाइन बर्ड व्यवस्थापन गरेकोमा अहिले २ हजार २ सय ३३ जना बस्दै आएका छन् भने एक हजार १ सय १० जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

यस्तै, यस प्रदेशमा १ हजार  २  सय ५८ वटा आइसोलेशन बर्ड तयारी अवस्था रहेको छ जसमा २ सय जना बस्दै आएका छन् ।

प्रदेशमा ३२ हजार ८ सय ७० जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ७ सय २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १६ हजार १० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १२ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

नेपालमा सोमबारसम्म कोरोना भाइरस संक्रमितको कूल संख्या १३ हजा र २ सय ४८ जना पुगेको छ । जसमा २९ जनाको दुःखद् निधन भएको छ भने ३ हजार १ सय ३४ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*